काठमाडौं । कोशी प्रोजेक्ट सोकेस प्रतियोगिताअन्तर्गत् १० टिम फाइनल चरणमा छनौट भएका छन् । शनिबार राजधानीमा आयोजित छनौट चरणबाट १० वटा उत्कृष्ट प्रोजेक्ट फाइनल चरणमा पुगेका हुन् ।
फाइनलमा पुग्नेहरूमा नेपाल इन्जिनियरिङ कलेजको एग्रो भिलेज टिम, पुल्चोक कलेजको स्केट्च स्क्वायर, पुल्चोक कलेजकै केटुपीए, एक्मी इन्जिनियरिङ कलेजको एक्मी कोस्टर, पुल्चोक कलेजको पुल्चोक इयर फाइभ रहेका छन् । यस्तैगरी पुल्चोक कलेजकै पाथफाइन्डर, ख्वपः इन्जिनियरिङ कलेजको बियोन्ड द ब्रिउ, पुल्चोक कलेजका विनर र टिम कोशी एक्सप्लोरल रहेका छन् । नेपाल इन्जिनियरिङ कलेजको रुरल रिड्ज विल्डर्स टिम पनि फाइनल चरणमा पुगेको छ ।
नेपाल माउन्टेन एकेडेमीको हलमा प्रतिष्पर्धी समूहले प्रस्तुत गरेको अवधारणाअनुसार निर्णायक मण्डलले उत्कृष्ट १० टिमको छनौट गरेको हो । प्रतियोगिताको निर्णायकमा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटा, नेपाल माउन्टेन एकेडेमीका प्राचार्य शिवप्रसाद जैसी खतिवडा, प्राइम कमर्सियल बैंक बागमती प्रदेश प्रमुख दिमन श्रेष्ठ, सोसाइटी अफ आर्किटेक्ट इन्जिनियर्स एसोसिएसनका पूर्वउपाध्यक्ष सुनिता सुवेदी तथा नेपाल इन्जिनियरिङ कलेजको सिभिल इन्जिनियरिङ विभागका सह–प्राध्यापक रमेश ज्ञवाली रहेका थिए ।
निर्णायकले प्रतिष्पर्धी टिमले प्रस्तुत गरेको अवधारणामा नवप्रर्वद्धन र सिर्जनशीलता, प्राविधिक सम्भाव्यता, आर्थिक एवं वातावरणीय प्रभाव, प्रस्तुति, पर्यटनमैत्री योजनाका आधारमा अंकहरू प्रदान गरेका थिए । विद्यार्थीको समूहले होमस्टे, कृषि पर्यटन, माउन्टेन पर्यटन, ट्रेकिङ, चिया, र्याफ्टिङ, बञ्जिजम्प, एडभेञ्जरजस्ता विषयमा प्रस्तुति दिएका थिए । प्रतियोगिताको आयोजक एलिसन हस्पिटालिटीकी अध्यक्ष एलिना मगरका अनुसार उत्कृष्ट १० मा पर्न सफल टिमलाई अब उनीहरूका अवधारणाअनुसार थप अध्ययनका लागि फिल्डमा पठाइन्छ । त्यसका लागि प्रत्येक टिमलाई एक जना मेन्टर (सल्लाहकार) समेत उपलब्ध गराइन्छ । जेठ ९ गतेदेखि काठमाडौंमा उनीहरूले तयार पारेको प्रोजेक्टको बृहद् प्रर्दशनीसँगै फाइनल प्रतिष्पर्धा हुने अध्यक्ष मगरले जानकारी दिइन् ।
ठमेलको जी रामायण होटलमा हुने प्रदर्शनी तथा फाइनल कार्यक्रममा पर्यटन व्यवसायी, होटल व्यवसायीसँगै ठूला लगानीकर्ता र सरकारी क्षेत्रबाट समेत प्रबुद्ध व्यक्तिहरूले अध्ययन अवलोकन गर्नेछन् । कोशी क्षेत्रको पर्यटन प्रवद्र्धनसँगै नयाँ पर्यटनका आयामलाई उजागर गर्ने उद्देश्यले आयोजित प्रतियोगिताको छनौट चरणमा १९ वटा समूहको प्रोजेक्टको छनौट गरिएको थियो । जसमध्ये शनिबारको छनौट चरणबाट १० वटा उत्कृष्ट टिम फाइनल चरणमा पुगेका हुन् । प्रतियोगितामा पुल्चोक इन्जिनियरिङ कलेज, नेपाल इन्जिनियरिङ कलेज, ख्वप इन्जिनियरिङ कलेज, एक्मी इन्जिनियरिङ कलेज, पूर्वाञ्चल इन्जिनियरिङ कलेज लगायतबाट विद्यार्थीहरूको सहभागीता रहेको थियो ।
नेपालमै पहिलोपटक आयोजना भएको कोशी प्रोजेक्ट सोकेसले कोशी प्रदेशमा नयाँ पर्यटकीय क्षेत्रको सम्भाव्यता अध्ययन गर्दै पर्यटनबाटै मुलुकको अर्थतन्त्रको विकास गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने अपेक्षा लिइएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद एक लाख रुपैयाँ, द्वितीय हुने टिमलाई ५० हजार तथा तृतीय हुने टिमलाई २५ हजार रुपैयाँ नगद, मेडल, प्रमाणपत्र र विभिन्न गिफ्ट ह्याम्परहरू प्रदान गरिनेछ । प्रतियोगितालाई कोशी प्रदेश सरकार, नेपाल पर्यटन बोर्डलगायतले सहयोग गरेका छन् ।