नेपाल प्राकृतिक सौन्दर्यले भरिएको देश हो, यसमा कसैको दुईमत छैन । हरिया पहाड, ठूला–ठूला जंगल, पहाडमा बीचमा बनेका घरहरू यहाँका विशेषताहरू हो । तर यही प्राकृतिक सौन्र्दय र विविधताको बीचमा पनि ठूलो संकट लुकेको छ । यो संकट बाढीपहिरो, चट्याङ आगलागी आदिको हो । यीमध्ये नेपालले सबैभन्दा बढी भोगेको र झेलेको प्रकोप भनेको बाढीपहिरोको हो । प्रत्येक वर्षको मनसुन सुरु हुनासाथ सरकार एवं आम नागरिकमा बाढीपहिरोको चिन्ता र चुनौती दुवै थपिने गरेको छ ।
यहाँको भौगोलिक बनावटले गर्दा प्राकृतिक प्रकोपहरू पनि बारम्बार दोहोरिन्छन् । तीमध्ये बाढी एक प्रमुख र विनाशकारी समस्या हो, जसले प्रत्येक वर्ष ठूलो जनधनको क्षति गरिरहेको छ । विशेषगरी मनसुनको समयमा देशका अधिकांश भू–भागमा बाढीको खतरा उच्च रहन्छ । यहीकारण पनि मनसुन सुरु भएसँगै चिन्ता र चुनौती थपिने गरेको हो ।
बाढीपहिरोको ऐतिहासिक पृष्ठभूमि
नेपालमा बाढीको इतिहास निकै पुरानो छ । खासगरी कोशी, गण्डकी, कर्णाली र महाकाली नदी प्रणालीहरूले वर्षेनि बाढी ल्याउने गरेका छन् । सन् २००८ को कोशी बाढी, जसले सप्तरी र सुनसरीमा हजारौँ मानिसलाई विस्थापित ग¥यो, एक गम्भीर उदाहरण हो । त्यसयता पनि प्रत्येक वर्ष कहिले पूर्वी तराई त कहिले पश्चिमी नेपालमा बाढीको कारण जनधनको ठूलो क्षति हुने गरेको छ ।
पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण वर्षा प्रणालीमा अनियमितता आएको छ । असिनापात तथा बेमौसमी वर्षाले बाढीको समस्या झन् बढाएको छ । पहिलेभन्दा बढी तीव्रतामा एकैचोटि धेरै पानी पर्ने हुँदा नदीहरू भरिन पुग्छन् । त्यसले आसपासका क्षेत्रहरू डुबानमा पर्छन् । सन् २०२१ को बाढीले मेलम्चीमा गरेको क्षति त्यही जलवायु परिवर्तनकै दुष्परिणाम थियो ।
नेपालमा बाढी प्रभावित प्रमुख प्रभावित क्षेत्रहरूअन्तर्गत तराईमा सप्तरी, सिराहा, बारा, रौतहट, नवलपरासी, बाँके, बर्दिया आदि जिल्ला अत्यधिक प्रभावित हुन्छन् । यसैगरी पहाडी क्षेत्रअन्तर्गत सिन्धुपाल्चोक, गुल्मी, बागलुङ, म्याग्दी आदि जिल्लामा बाढीका साथै पहिरो पनि हुनेगर्छ । उपत्यका र सहरी क्षेत्रमा भने काठमाडौं उपत्यकामा अव्यवस्थित नाला प्रणाली र ढल निकास नभएकाले समेत बाढीको समस्या देखिने गरेको छ । प्रत्येक बाढीपछिको अवस्थामा सरकारले सेना, प्रहरी, रेडक्रसलगायतका संस्थाहरूको सहयोगमा उद्धार र राहत कार्य सुरु गर्ने गर्छ । खाद्यान्न, लत्ताकपडा, अस्थायी आश्रय व्यवस्था गरिन्छ । तर दीर्घकालीन पुनःस्थापनामा ढिलाइ हुने गरेको पाइन्छ । साथै, राहतको वितरणमा पारदर्शिताको अभाव, भौगोलिक कठिनाइ र पहुँच समस्या पनि देखिन्छ ।
नेपालका लागि बाढी एउटा प्राकृतिक समस्या मात्रै नभई विकास चुनौती पनि हो । यसलाई न्यूनीकरण गर्न सरकारले योजनाबद्ध नीति, प्रविधिको उपयोग र स्थानीय समुदायको सहभागिता आवश्यक छ । बाढी रोकथामका उपायहरू तत्कालीन राहतभन्दा धेरै महत्वपूर्ण छन् । किनभने रोकथाम सधैँ उपचारभन्दा सस्तो र प्रभावकारी हुन्छ । नेपालजस्तो पहाडी देशमा बाढी प्रकोपको जोखिम सदैव रहन्छ । तर सतर्कता, पूर्वतयारी र वैज्ञानिक योजनामार्फत यसको प्रभावलाई न्यून पार्न सकिन्छ । दिगो विकास, वातावरण संरक्षण र जनचेतना अभिवृद्धि गर्नु आजको आवश्यकता हो ।
किन आउँदा बाढी ?
नेपालमा बाढी आउने प्रमुख कारणहरूमा अव्यवस्थित सहरीकरण, वनविनाश, नदी किनारमा अतिक्रमण, जलवायु परिवर्तन र अविरल वर्षा मुख्य हुन् । हिमालबाट बग्ने नदीहरूले मनसुनको बेला अत्यधिक पानी बगाउँछन्, जसले गर्दा तराई र पहाडी भूभागहरूमा डुबानको स्थिति आउँछ ।
बाढीले जनजीवनलाई अत्यन्त प्रभावित पार्छ । घर–जग्गा डुबानमा पर्छन्, बाली नष्ट हुन्छन्, विद्यालय तथा स्वास्थ्य संस्थाहरू बन्द हुन्छन् । धेरै मानिस विस्थापित हुन्छन् र सुरक्षित ठाउँमा आश्रय लिन बाध्य हुन्छन् । बाढीपछि फैलिने सरुवा रोगहरूको जोखिम पनि उच्च हुन्छ । यसले आर्थिक, सामाजिक तथा मानसिक असर पार्छ ।
बाढी पहिरो रोक्न सरकारी प्रयास र चुनौतीहरू
सरकार तथा विभिन्न गैरसरकारी संस्थाहरूले बाढी रोकथाम तथा राहतका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन् । नदी तटीय क्षेत्रमा तटबन्ध निर्माण, बाढी पूर्वानुमान प्रणाली विकास र राहत वितरण योजनाहरूको विकास भइरहेका छन् । तर अझै पनि प्रभावकारी कार्यान्वयनमा कमजोरी, स्रोतसाधनको अभाव र दीर्घकालीन योजना नहुनुजस्ता चुनौतीहरू छन् । बाढीपहिरो रोक्ने दीर्घकालीन समाधानका उपायअन्तर्गत प्राकृतिक संरक्षण गरी वनजंगल संरक्षण, भू–क्षय नियन्त्रण र जलस्रोत व्यवस्थापन गर्ने प्रमुख रहेको छ । यसैगरी पूर्वसूचना प्रणालीको विकास गरी डिजिटल र गाउँ–गाउँमा पहुँच हुने बनाउने, तटबन्ध निर्माण र मर्मतअन्तर्गत नदी किनारामा बलियो र वैज्ञानिक ढंगले तटबन्ध बनाउने, जनचेतना अभिवृद्धिअन्तर्गत बाढीको समयमा कसरी बच्ने, सुरक्षित ठाउँमा कसरी पुग्ने भन्ने विषयमा समुदायस्तरमै तालिम दिने, बाढी प्रतिरोधात्मक घर, विद्यालय र अस्पतालको विकास गर्ने आदि रहेका छन् ।
बाढीको प्रत्यक्ष र अप्रत्यक्ष आर्थिक असर निकै ठूलो हुन्छ । कृषि, व्यापार, यातायात, पूर्वाधार, शिक्षा तथा पर्यटन क्षेत्रमा बाढीको प्रभाव निकै ठूलो रहेको छ । धान, मकै, तरकारीजस्ता मुख्य बालीहरू नष्ट हुँदा किसानहरू वर्ष दिनभरको आम्दानी गुमाउँछन् । पुल, सडक, विद्युत् लाइन, खानेपानी पाइपलाइन आदिमा क्षति हुँदा पुनःनिर्माणमा करोडौँ रुपैयाँ खर्च हुन्छ । बाढीले बजार, गोदाम तथा पसलहरू डुबाउँदा साना व्यवसायीहरू सबैभन्दा बढी प्रभावित हुन्छन् । विशेषगरी हिमाली र पहाडी पर्यटकीय क्षेत्रहरूमा सिजनल बाढीले ट्रेकिङ र यात्रा अवरुद्ध हुने हुँदा पर्यटन आम्दानीमा ठूलो ह्रास हुन्छ । नेपालले बाढीको रोकथाम तथा व्यवस्थापनका लागि विभिन्न अन्तर्राष्ट्रिय सहयोग प्राप्त गर्दै आएको छ । कोशी, गण्डकी र कर्णालीजस्ता अन्तर्राष्ट्रिय नदीहरूमा बाँध निर्माण, तटबन्ध तथा जल व्यवस्थापनमा नेपाल–भारतको सहकार्य आवश्यक रहेको छ ।
नीति तथा कानुनी पक्ष
सरकारले बाढी तथा जलवायुसम्बन्धी विभिन्न नीति र कानुनहरू निर्माण गरेको छ । यसअन्तर्गत प्राकृतिक विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४, राष्ट्रिय जलवायु परिवर्तन नीति २०७६, स्थानीय तह विपद् व्यवस्थापन योजना मार्गदर्शन, २०७८ आदि रहेका छन् । तर नीति कार्यान्वयनमा समन्वयको कमी, स्रोतको अभाव र प्रशासनिक कमजोरीहरूले चुनौती थपेका छन् ।
बाढी पहिरो नियन्त्रणको लागि स्थानीय सरकारको भूमिका
बाढी पहिरो नियन्त्रणको लागि स्थानीय सरकारको निकै ठूलो भूमिका रहेको हुन्छ । जस्तै, समुदायमा पूर्वतयारी तालिम सञ्चालन, तटबन्ध मर्मत तथा सरसफाइ अभियान, जोखिमयुक्त क्षेत्रमा पुनः बसोबासको योजना राहत तथा उद्धार कार्यमा स्थानीय स्वयंसेवकहरूको परिचालन, स्थानीय तहमा बजेट विनियोजन, प्राविधिक जनशक्तिलगायतका विषयहरूले पनि बाढी पहिरो नियन्त्रण र पुनरोत्थानमा निकै ठूलो भूमिका खेल्न सक्छ । जुन स्थानीय तहको समन्वय, सहकार्य र सहयोगबाट मात्र सम्भव रहेको छ ।
निष्कर्ष बाढी प्राकृतिक प्रकोप भए पनि त्यसको असर मानव जीवन, वातावरण र अर्थतन्त्रमा गहिरो असर पार्ने खालको हुन्छ । नेपालको जस्तो जलवायु परिवर्तनसँग जुधिरहेको पहाडी भूगोलयुक्त देशमा बाढी रोकथाम केवल सरकारको होइन, सम्पूर्ण समाजको सरोकारको विषय हो । दीर्घकालीन योजना, वैज्ञानिक पूर्वानुमान प्रणाली, अन्तर्राष्ट्रिय सहकार्य र स्थानीय तहको सक्रिय सहभागितामार्फत नेपालले बाढीको विनाशकारी प्रभावबाट बच्न सक्नेछ ।