काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले बताएअनुसार उसको वार्षिक राष्ट्रिय लेखा अनुमानमा चालु आर्थिक वर्षको पनि आर्थिक वृद्धिदरले सरकारबाट राखिएको लक्ष्य भेटिने अवस्था देखिँदै । यो कार्यालयले गएको हप्ता सार्वजनिक गरेको वार्षिक राष्ट्रिय लेखा अनुमान प्रतिवेदनमा आर्थिक वर्ष २०८१/८२ मा आधारभूत मूल्यमा मुलुकको आर्थिक वृद्धिदर तीन दशमलव ९९ प्रतिशत रहनेछ । सरकारले चालु आर्थिक वर्षमा सरकारले आर्थिक वृद्धिको लक्ष्य छ प्रतिशत कायम रहने भनेको थियो । तर यथार्थ भने पुगनपुग चार प्रतिशतमा मात्रै कायम रहने भयो । यो भनेको सरकारले देशका आर्थिक सूचनाहरू सकारात्मक छन् भनिरहेको बेलामा उसले गरेका दाबीहरू गलत सावित भएको अवस्था पनि हो । आर्थिक वृद्धिको लक्ष्य प्राप्ति नहुनु भनेको देशका आर्थिक सूचनाहरू सकारात्मक छन् भन्ने मान्यताविपरीतका कुरा हुन् । आर्थिक वृद्धिदर करिब छ प्रतिशतको हाराहारीमा पुर्याउने भनिएको वर्ष त्यो चार प्रतिशतमा रहनुले सरकार यो क्षेत्रमा पनि लक्ष्य प्राप्तिमा कमजोर देखिएको भन्ने नै बुझ्नुपर्छ । चालु आर्थिक वर्ष सकिन अब केही समय मात्र बाँकी छ । यो बाँकी समयले एकैपटक उल्लेखित लक्ष्य भेटाउन सक्तैन ।
आर्थिक क्षेत्रमा सरकारको लक्ष्य प्राप्ति नहुनु भनेको अर्थतन्त्र चलायमान हुन नसकेको अवस्था हो । खासगरी पुँजीगत खर्च अपेक्षाकृत हुन सकेन भने त्यसले आर्थिक वृद्धिदरमा पनि प्रभाव पार्ने हुन्छ । अघिल्लो वर्षको गत आर्थिक वृद्धिदर तीन दशमलव ५४ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको थियो । तर प्राप्ति भने तीन दशमलव ३६ प्रतिशतमा रह्यो । तथ्याङ्क कार्यालयको यो अनुमान दातृनिकायहरू विश्व बैंक, एसियाली विकास बैंकलगायत देखाएको भन्दा कम छ । जस्तो सन् २०२५ का लागि विश्व बैंकले चार दशमलव पाँच र एडीबीले चार दशमलव चार प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरका थिए । तर तथ्याङ्क कार्यालयको प्रक्षेपण यी संस्थाभन्दा कम छ । यद्यपि अघिल्ला वर्षहरूभन्दा यस्तो वृद्धिदर केही बढेकै । जस्तो आर्थिक २०७९/८० मा यो वृद्धिदर एक दशमलव ९८ प्रतिशत थियो । त्यसबाट बढेर चार प्रतिशतमा आइपुग्नु एउटा उपलब्धि नै मान्नुपर्छ । त्यसैका आधारमा सरकारले वृद्धिदर छ प्रतिशतमा रहने लक्ष्य राखेको हुनुपर्छ । त्यस्तो लक्ष्य प्राप्तिका लागि आर्थिक विकासमा जे–जस्तो तत्परता देखाउनुपर्ने हो त्यो भने हुन सकेन भन्ने नै यो पछिल्लो प्रक्षेपण हुनुपर्छ । त्यसै पनि लक्ष्यको तुलनामा विकास खर्च र राजस्व संकलन घट्नुले यस्तो वृद्धिदरलाई असर पारेको बुझ्न सकिन्छ । यसमा सुधार भएन भने अर्थतन्त्र गतिशील छ भनेर मान्न सकिने अवस्था हुँदैन ।
अर्थतन्त्रका अन्य पक्षहरू सकारात्मक देखिएका छन् । विदेशी मुद्रा सञ्चिति बढेकोबढेकै छ । खातामा थुप्रिएको सञ्चितिले त्यति साथ दिँदारहेनछन् भन्ने एउटा पाठ पनि हुनुपर्छ । तर तथ्याङ्क अधिकारीका अनुसारचाहिँ आधारभूत मूल्यमा तीन दशमलव ९९ र उपभोक्ता मूल्यमा चार दशमलव ६१ प्रतिशत आर्थिक वृद्धिदर प्राप्त हुने अवस्था त्यति निराशाजनक भने होइन । उनी भन्छन्, गत वर्ष तीनवटा क्षेत्रको वृद्धिदर ऋणात्मक रहेकोमा यस वर्ष सबै क्षेत्रमा सकारात्मक वृद्धि छ, यस कारण अनुमान गरिएअनुसार वृद्धिदर प्राप्ति गर्न सकिन्छ, चालु आर्थिक वर्ष २०८१/८२ मा कृषि क्षेत्रको तीन दशमलव २८ र गैरकृषि क्षेत्रको चार दशमलव २८ प्रतिशत वृद्धिदर हुने प्रारम्भिक अनुमान गरिएको अवस्था छ । यसअघिको आर्थिक वर्ष २०८०/८१ मा कृषि क्षेत्रको वृद्धिदर तीन दशमलव ३५ प्रतिशत तथा गैरकृषि क्षेत्रको वृद्धिदर तीन दशमलव ३६ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ । आर्थिक वर्ष २०७९/८० मा कृषि क्षेत्रको वृद्धिदर तीन दशमलव शून्य दुई र गैरकृषि क्षेत्रको वृद्धिदर एक दशमलव ९८ प्रतिशत कायम भएको भन्ने उनको भनाइ आएको छ । अधिकारीले जे भने पनि दू्रततर विकासको अपेक्षा गरिएको उल्लेखित तथ्याङ्कहरूले त्यसलाई पूरा गर्ने देखाउँदैन । सबै कुरा लक्ष्यमा मात्रै बढी होइन उपलब्धिमा पनि देखिनुपर्छ ।