नेपाल प्राकृतिक स्रोत साधनले भरिपूर्ण राष्ट्र हो । यहाँ अनेकौँ बहुमूल्य जडिबुटीहरू उत्पादन गर्दै आएको छ । जसमा भन्ने नै हो भने यार्सागुम्बा सबैभन्दा मूल्यवान र चर्चित जडिबुटीको रूपमा चिनिन्छ । यो एक प्रकारको परजीवी कवक पनि हो । जुन उच्च हिमाली क्षेत्रका विभिन्न भागहरूमा पाइन्छ । यसलाई हिमाली सुन तथा जीवित औषधि वा जङ्गलको भियाग्रा भन्ने उपनामले पनि चिनिन्छ । यसको उपयोग परम्परागत चिनियाँ र तिब्बती चिकित्सा प्रणालीमा शारीरिक क्षमता वृद्धि, रोग प्रतिरोधात्मक शक्ति मजबुत पार्ने, यौनशक्ति वृद्धिमा सहयोग गर्नेलगायतका बहुउपयोगका कारण अत्यन्तै महँगो दरमा बिक्री हुने गर्छ । फलतः पछिल्लो दशकमा यार्सागुम्बाको माग विश्वव्यापी रूपमा तीव्ररूपमा बढ्दो छ । यसलाई विशेष गरी चीन, हङकङ, कोरिया, थाइल्यान्ड र जापानजस्ता देशहरूमा अतिमहत्वपूर्ण औषधिको रूपमा मानिएको छ । यद्यपि, नेपालमा यसको निर्यात भने हरेक वर्ष घट्दो क्रममा देखिएको छ । जसले गर्दा यार्सागुम्बाको यो विडम्बनापूर्ण यथार्थले नेपाललाई आर्थिकरूपमा ठूलो क्षति पु¥याइरहेको छ । यस अर्थमा यार्सागुम्बाको माग किन बढ्दो छ भन्ने निर्यात किन घट्दो छ भन्ने, त्यसका निहित कारणहरू, चुनौतीहरू र समाधानका उपायबारे विश्लेषण गरिएको छ ।
मुलुक प्राकृतिक सम्पदा र जैविक विविधताले भरिपूर्ण धनी देश पनि हो । यहाँ पाइने बहुमूल्य जडीबुटीहरूमध्ये यार्सागुम्बा एक अद्वितीय र महत्वपूर्ण वनस्पति पनि हो । यो विशेष प्रकारको च्याउ र लार्भाको संयोजनमा बन्ने हुन्छ । जुन हिमालको उच्च भेगमा पाइन्छ । यो यार्सागुम्बालाई विश्व बजारमा एक शक्तिशाली औषधीय गुण भएको वस्तुको रूपमा लिइन्छ र यसको माग दिन प्रतिदिन बढ्दो छ । तर विडम्बनाको कुरा के छ भने माग बढ्दै गए पनि नेपालबाट यसको निर्यात निरन्तर घटिरहेको छ । यो विरोधाभासपूर्ण अवस्थाले राष्ट्रको अर्थतन्त्र, वातावरण र स्थानीय समुदायमा गम्भीर असर पारेको छ । वस्तुतः देशको हिमाली क्षेत्रका बासिन्दाका लागि यार्सागुम्बा आयस्रोतको एक महत्वपूर्ण माध्यम बनेको छ । प्रत्येक वर्ष वसन्त ऋतुमा मानिसहरू उच्च पहाडी भेगमा गएर यार्सागुम्बा संकलन गर्छन् । यसबाट प्राप्त हुने आम्दानीले उनीहरूको जीवनस्तर सुधार गर्न ठूलो मद्दत पुर्याएको छ । यसको अलवा अन्तर्राष्ट्रिय बजारमा यसको उच्च मूल्यका कारण यसले राष्ट्रिय अर्थतन्त्रमा पनि योगदान पुर्याएको छ । यो पारम्परिक चिकित्सा प्रणालीमा यार्सागुम्बालाई एक शक्तिशाली टनिकको रूपमा प्रयोग गरिन्छ । यसलाई यौन दुर्बलता, कमजोरी, रोग प्रतिरोधात्मक क्षमता बढाउन र बुढ्यौलीको प्रभाव कम गर्न प्रयोग गरिन्छ । यसको साथै आधुनिक वैज्ञानिक अनुसन्धानले पनि यसमा विभिन्न औषधीय गुणहरू रहेको पुष्टि गरेको छ । यसमा कर्डिसेपिन, पोलिस्याकराइड्स, एडेनोसिनजस्ता सक्रिय यौगिकहरू पाइन्छन्, जसले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छन् ।
हाम्रो देशमा यार्सागुम्बा प्रायः तीन हजार पाँच सय मिटरदेखि पाँच हजार पाँच सय मिटर उचाइका उच्च हिमाली क्षेत्रहरूमा पाइन्छ । यो विशेषतः डोल्पा, मुगु, हुम्ला, दार्चुला, बाजुरा, मनाङ, मुस्ताङ, रोल्पा, भोजपुर, संखुवासभा आदि जिल्लाहरूमा यसको उत्पादन अधिक हुने गर्छ । यो वर्षको एक पटक वैशाखदेखि असार महिनासम्म यार्सागुम्बा संकलन गर्ने समय हुन्छ । यस अवधिमा स्थानीय बासिन्दाहरू, विशेषगरी कृषक र गरिब वर्गका मानिसहरू, उचाइमा गएर हप्ताौंसम्म डेरामा बस्दै यार्सागुम्बा टिप्ने गर्छन् । यो क्रम अहिले नेपालमा वैकल्पिक आय स्रोतको रूपमा विकास हुँदै गएको छ । यसर्थ, यार्सागुम्बाको औषधीय गुणका कारण यसको मूल्य दिनदिनै बढ्दोरूपमा रहेको छ । यो औषधीय गुणका कारण चिनियाँ परम्परागत चिकित्सा प्रणालीमा यसलाई स्वास्थ्यवर्धक, ऊर्जा अभिवृद्धि गर्ने, रोग प्रतिरोधी क्षमता बढाउने र यौनशक्ति वृद्धि गर्ने औषधिका रूपमा लिइन्छ । यस्तै, गुणका कारण यो चीन, सिङ्गापुर, कोरिया, जापान, अमेरिका, युरोपजस्ता विकसित मुलुकमा ठूलो मात्रामा प्रयोग गरिन्छ । जसलाई सन् २०१० पछिको दशकमा यार्सागुम्बाको मागमा झनै तीव्र वृद्धि देखिएको छ ।
एक किलो उच्च गुणस्तरको यार्सागुम्बाको मूल्य अन्तर्राष्ट्रिय बजारमा २० लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्म पर्न सक्छ । यसलाई कतिपय अवस्थामा त अझै बढी मूल्यमा पनि बिक्री हुने गरेको छ । यसको साथै यार्सागुम्बाको माग उच्च हुँदै जाँदा पनि नेपालबाट यसको निर्यात दर भने प्रत्येक वर्ष घट्दो दरमा रहेको छ । जबकि व्यापार तथा आपूर्ति मन्त्रालयको तथ्याङ्कअनुसार २०६८÷०६९ मा चार सय किलोभन्दा बढी यार्सागुम्बा निर्यात गरिएको थियो भने पछिल्ला वर्षमा यो संख्या घटेर एक सय किलोभन्दा कममा सीमित भएको छ । यस्तो घट्दो निर्यातको प्रमुख कारणहरू निम्न रहेका छन् ।
अवैध तस्करीः नेपालमा यार्सागुम्बाको ठूलो हिस्सा कानुनी प्रक्रियाबाट नभई अवैधरूपमा तिब्बत (चीन) हुँदै बाहिरिन्छ । यसको साथसाथै सीमावर्ती क्षेत्रमा रहेका तस्कर समूहहरू यार्सागुम्बा संकलनकर्ताहरूसँग मिलेर सस्तोमा खरिद गर्छन् र तिब्बत हुँदै चीनमा उच्च मूल्यमा बिक्री गर्छन् । यस्तो प्रक्रियामा राज्यलाई कर र राजस्व शून्य बराबर हुन्छ ।
कानुनी अन्योलता र प्रशासनिक अव्यवस्थाः यार्सागुम्बा संकलन, बिक्री तथा निर्यातसम्बन्धी कानुनहरू अस्पष्ट, जटिल र व्यवहारमैत्री छैनन् । जसलेगर्दा जडिबुटी ऐन तथा वन ऐनले यार्सागुम्बाको व्यापारलाई जटिल बनाइदिएको छ । जसमा वन कार्यालय, जिल्ला प्रशासन, भन्सार कार्यालयबीच समन्वयको अभावले गर्दा व्यापारीहरू कानुनी बाटो अपनाउन हिच्किचाउँछन् ।
गुणस्तर परीक्षणको अभावः नेपालमा यार्सागुम्बाको गुणस्तर प्रमाणीकरण गर्ने भरपर्दो प्रयोगशाला छैन । जसमा भन्ने नै हो भने अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न यार्साको गुणस्तर प्रमाणीकरण अत्यावश्यक हुन्छ । तर नेपालमा यस्तो व्यवस्था नगरेकाले विदेशी व्यापारीहरू चीन वा तिब्बतबाट खरिद गर्न रुचाउँछन् ।
चिस्यान, भण्डारण र ढुवानी समस्याः यार्सागुम्बा संवेदनशील जडिबुटी भएकाले उचित चिस्यानमा राख्नुपर्ने हुन्छ । नेपालमा चिस्यान, प्याकेजिङ र ढुवानीको प्रविधिमा व्यापक कमी रहेको छ । जसका कारण निर्यातयोग्य यार्सागुम्बाको गुणस्तर घट्ने गर्छ ।
अन्तर्राष्ट्रिय कूटनीतिक पहुँचको अभावः नेपालले यार्सागुम्बालाई औपचारिकरूपमा अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न सकेको छैन । न त व्यापार मेलाहरूमा भाग लिएको छ, न त ब्रान्डिङ गरेको छ । चीन वा भुटानजस्ता देशले भने आफ्नो यार्सागुम्बाको ब्रान्डिङ गरेर बजारमा सशक्त उपस्थिति जनाएका छन् ।
निष्कर्षमा भन्नुपर्दा यार्सागुम्बाको बढ्दो मागलाई सम्बोधन गर्न र घट्दो निर्यातलाई रोक्नका लागि नेपाल सरकार, स्थानीय समुदाय र सरोकारवाला निकायले समन्वितरूपमा कार्य गर्नुपर्ने आवश्यकता छ । यसर्थ, यार्सागुम्बा नेपालको एक अमूल्य प्राकृतिक सम्पत्ति पनि हो । यसको बढ्दो अन्तर्राष्ट्रिय मागले मुलुकको आर्थिक समृद्धिमा ठूलो योगदान पुर्याउन सक्छ । तर हालको अवस्था हेर्दा निर्यात घट्दो छ, तस्करी बढ्दो छ र राज्यको आम्दानी न्यून रहेको छ । यस अवस्थामा यार्सागुम्बाको दीगो उपयोग, व्यावसायिक उत्पादन, गुणस्तर प्रमाणीकरण र कानुनी सुधारको माध्यमबाट मात्र राष्ट्रले यसबाट लाभ लिन सक्छ । यदि सरकारले यसको संरक्षण, वैज्ञानिक व्यवस्थापन र व्यापारिक दृष्टिकोणलाई सन्तुलितरूपमा अगाडि बढाउन सकेमा, यार्सागुम्बा नेपालका लागि हरियो सुन मात्र नभई, सुनौलो भविष्यको सुनिश्चितता बन्न सक्छ । अतः यार्सागुम्बा मुलुकको एक बहुमूल्य प्राकृतिक सम्पदा पनि हो । जसको विश्व बजारमा माग निरन्तर बढिरहेको छ । तर अवैज्ञानिक संकलन, जलवायु परिवर्तन, प्रभावकारी नीतिको अभाव र अवैध व्यापारका कारण यसको निर्यात घट्दो क्रममा छ । यो अवस्थाले राष्ट्रको अर्थतन्त्र, वातावरण र स्थानीय समुदायमा गम्भीर नकारात्मक प्रभाव पारेको छ । यदि यसको दिगो व्यवस्थापन र संरक्षणका लागि तत्काल प्रभावकारी कदम चालिएन भने यो बहुमूल्य जडीबुटी लोप हुने खतरा बढ्दै जानेछ । त्यसैले सरकार, स्थानीय समुदाय र सरोकारवाला सबै पक्ष मिलेर यार्सागुम्बाको संरक्षण र दिगो उपयोगका लागि ठोस योजनाहरू कार्यान्वयन गर्नुपर्ने आजको आवश्यकता पनि हो । यसबाट न केवल नेपालले आर्थिक लाभ लिन सक्नेछ, बरु भावी पुस्ताका लागि यो अनमोल सम्पदालाई सुरक्षित राख्न पनि मद्दत पुग्नेछ ।