गुणस्तरीय शिक्षा र सक्षम शिक्षक अन्तरसम्बन्धित हुन्छ । शिक्षक उड्यो भने विद्यार्थी दौडिन्छ । शिक्षक दौडियो भने विद्यार्थी हिँड्छ । शिक्षक हिँड्यो भने विद्यार्थी बस्छ । शिक्षक बस्यो भने विद्यार्थी सुत्छ । शिक्षक सुत्यो भने विद्यार्थी मर्छ । यो चिनियाँ प्रख्यात भनाइ हो । अर्थात् राम्रो योग्यता भएको पेसाप्रति समर्पित शिक्षकले मात्र विद्यार्थीको आवश्यकता र चाहनाअनुसार शिक्षण गर्न सक्छ । शिक्षणसिकाइ क्रियाकलाप शिक्षक, पाठ्यक्रम र विद्यार्र्र्थीबीचको सन्तुलित त्रिकोणात्मक सम्बन्धमा मात्र अर्थपूर्ण हुने यथार्थ हो । विद्यार्थी र पाठ्यक्रमबीच रोचक र जीवन्त सम्बन्ध कायम राख्ने प्रमुख दायित्व शिक्षकको हो । शिक्षकको योग्यता, क्षमता र पेसाप्रतिको समर्पणले पाठ्यक्रमको मर्म र विद्यार्थीको चाहनाबीच समन्वयमा उत्साहजनक गुणस्तरीय शिक्षाको प्रत्याभूति दिन सकिन्छ । गुणस्तरीय शिक्षारूपी डुंगाको बहनमा शिक्षकको हातमा हुन्छ । सावधानीपूर्वक शिक्षकले बहना राम्रोसँंग चलाउन नसकेमा विद्यार्थीको भाग्य र भविष्य डुब्छ, चौपट हुन्छ । अतः सामाजिक, आर्थिक रुपान्तरण गरेर समृद्ध नयाँ नेपाल बनाउन शिक्षकको अन्य पेसाभन्दा कम जिम्मेवारी र जवाफदेहिता छैन । शिक्षकको योग्यता, क्षमता, जिम्मेवारी र जवाफदेहितालाई भरपूर सदुपयोगको व्यवस्थापनका लागि सरोकार पक्षले सदैव चिन्ता र चिन्तन लिनुपर्छ । प्रस्तुत लेखमा शिक्षकमैत्री विद्यालय बनाउन आवश्यक आधारका बारेमा चर्चा गर्ने प्रयास गरिएको छ ।
शिक्षक परिवर्तनको संवाहक हुन् । शिक्षण पेसा सबै पेसाको जननी हो । किनकि शिक्षकले डाक्टर, इन्जिनियर, वकिल, प्रशासक आदि उत्पादन गर्छन् । तथापि कतिपय अवस्थामा आफैँले जन्माएका पेसाका पदाधिकारीबाट शिक्षक प्रताडित भएको गुनासो स्वयं शिक्षकबाटै सुनिन्छ । यस्तो विडम्बनापूर्ण अवस्था शिक्षक उत्पे्ररणा र शिक्षकमैत्री विद्यालय निर्माणमा तगारोका रुपमा रहेको छ । यसप्रकारको नकारात्मक सोचलाई बेलैमा सम्बोधन गर्नु न्यायोचित कदम हो । भनाइ पनि छ, समाजमा आकर्षक पेसा मानिएको एक जना डाक्टरले गल्ती गर्दा एकजनाको ज्यान जान सक्छ, एक जना इन्जिनियरले गल्ती गर्दा भवन पुल भत्केर दुर्घटनामा परी केही मानिसको जीवन जोखिम पर्न सक्छ । तर एकजना शिक्षकले गलत शिक्षा दिएमा एक पुस्ताको भाग्य र भविष्य नै तहसनहस हुन्छ । अन्ततः देशको उन्नति प्रगतिमा गम्भीर आघात पुग्छ । तसर्थ, कुनै पनि अर्थमा शिक्षण पेसालाई कम आँक्नु अपरिपक्व र अदूरदर्र्शी सोच हो ।
विद्यालयको शैक्षणिक क्रियाकलापलगायतका गतिविधिमा शिक्षकको सक्रिय र सकारात्मक सहभागितामा मात्र विद्यालयलाई गुणस्तरीय शिक्षा हाँसिल गर्ने उत्कृष्ट शिक्षण संस्थाको रूपमा स्थापित गर्न सकिन्छ । बालमैत्री विद्यालयको बारेमा धेरै चर्चा, लगानी र समय खर्च भइसकेको छ । तर विद्यार्थीको उपलब्धिस्तरमा खासै परिवर्तन नभएको अध्ययन अनुसन्धानले पुष्टि गरेको छ । यस प्रकारको शैक्षिक क्षतिको न्यूनीकरण गर्ने उपायहरू खोजिनुपर्छ । जुन पेसाप्रति समर्पित शिक्षकको लगनशीलताबाट मात्र सम्भव छ । विद्यार्थीको चौतर्फी विकासका लागि आवश्यक बालमैत्री विद्यालयको व्यवस्थापन गर्न शिक्षकको पनि अहम भूमिका हुन्छ । कक्षाकोठाको व्यवस्थापन र शिक्षण सिकाइ क्रियाकलापको स्तरले बालमैत्री विद्यालयको हैसियत निर्धारण गर्छ । शिक्षण सिकाइ क्रियाकलापको तर्जुमा गर्ने प्रमुख दायित्व शिक्षकको हो । शिक्षकले शिक्षणसिकाइ क्रियाकलापको अतिरिक्त विद्यालयका गतिविधिमा हौसलापूर्वक सहभागिता जनाउने ऊर्जाशील शिक्षकमैत्री वातावरणमा मात्र बालमैत्री विद्यालयको परिकल्पना साकार हुन्छ ।
बालमैत्री विद्यालय बनाउने गहन दायित्व बोकेका शिक्षकका लागि विद्यालयमा मैत्रीपूर्ण वातावरण छ त ? अध्ययनको विषय बन्नुपर्छ । शिक्षकका पेसागत संस्थाहरूले पटक–पटक आफ्नो पेसागत हकहितका लागि गर्ने आन्दोलनलाई समयमा नै सम्बोधन कसरी गर्न सकिएला ? नीति निर्माताहरूको चिन्ता र चिन्तनको विषय बन्नुपर्छ । शिक्षकले आफ्नो पेसागत सुरक्षा र मर्यादाको दिगो सुनिश्चित महसुस गर्न राज्यले शैक्षिक नीतिनियममा के–के कुरामा परिमार्जन गर्नुपर्ला ? नीतिनिर्माताहरू गम्भीर हुनुपर्छ । शिक्षकमैत्री विद्यालय बनाउन विद्यालय व्यवस्थापन समितिले के–कस्तो नीति र रणनीति अबलम्बन गर्नुपर्ला ? शिक्षाविद् तथा सरोकारवालाले आपसमा छलफल गरी अनुभव र सिद्धान्तलाई समायोजन गरी व्यावहारिक निष्कर्षमा पुग्नु सार्थक निकास हुन्छ । शिक्षकमैत्री विद्यालयमा मात्र बालमैत्री वातावरणको परिकल्पना यथार्थमा फस्टाउन सक्छ । तसर्थ, शिक्षकले आफ्नो योग्यता र क्षमतालाई विद्यालयमा सहजतापूर्वक प्रदर्शन गर्ने खालको शैक्षिक, भौतिक तथा मानवीय वातावरणको चुस्तदुरुस्त व्यवस्थापन अपरिहार्य हुन्छ । विद्यालयको व्यवस्थापन र सञ्चालनमा शिक्षकको सक्रिय सहभागिताले विद्यालयको प्रगतिमा अर्थपूर्ण योगदान पुग्छ । शिक्षकमैत्री विद्यालय बनाउन विविध पक्षहरूमा ध्यानदिनु पर्छ । निर्णय प्रक्रियामा शिक्षकको सहभागिता, यथेष्ट भौतिक पूर्वाधार, शिक्षण विषय र विधि छनोटमा स्वायत्वता, विद्यालय व्यवस्थापन समितिको सकारात्मक भूमिका, प्रधानाध्यापकको कुशल नेतृत्व, स्वच्छ र अनुकाशित वातावरणलगायत शिक्षक उत्प्रेरणाका अन्य विभिन्न पक्षहरूको अवलम्बन आदिलाई प्रमुख मानिन्छन् ।
निर्णय प्रक्रियामा शिक्षकको सहभागिता विद्यालयमा शिक्षकहरूको बाहुल्यता बढी हुन्छ । हरेक गतिविधिमा उनीहरूको जाँगरिलो सहभागिताको आवश्यकता पर्छ । शिक्षकको अपनत्व, जवाफदेहिता र उत्तरदायित्व बढाउन विद्यालयले बनाउने नीति तथा कार्यक्रममा उनीहरूको सक्रिय सहभागितालाई प्रोत्साहित गरिनुपर्छ । यसै तथ्यलाई ध्यानमा राखेर विद्यमान शिक्षा ऐन नियमले विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघमा शिक्षकको उपस्थितिलाई अनिवार्य गरेको छ । विद्यालयको आर्थिकलगायत शिक्षक तथा विद्यार्थीको आचारसंहिता निर्माण, मूल्याङ्कन आदिको निर्णय प्रक्रियामा शिक्षकलाई सहभागी गराएमा कार्यान्वयनमा सुगमता मात्र नआएर जवाफदेहिता र उपलब्धि पनि उच्च रहने यथार्थ हो ।
भौतिक पूर्वाधार
विद्यालयको भौतिक पूर्वाधार शिक्षकमैत्री विद्यालयका लागि आधारस्तम्भ हो । विद्यालय भौतिकरूपमा स्वच्छ, स्वस्थ र साधनस्रोत सम्पन्न चित्ताकर्षक भएमा स्वतः गुणस्तरीय शिक्षालाई प्रवद्र्धन गर्छ । विद्यालय भवन, कक्षाकोठा, पुस्तकालय, फर्निचर, खेल्ने चौर, खानेपानी, शौचालय, प्रयोगशाला, छात्रावास, चमेनागृहलगायतका स्थान र सामग्रीहरू शिक्षकको आवश्यकता र क्षमताअनुसार सहज पहुँ हुने तथा लैङ्गिक एवं अपाङ्गमैत्री हुनुपर्छ । कक्षाको पठनपाठनको अतिरिक्त समयमा आराम र अर्को कक्षाको लागि तयारी गर्न साधनस्रोत सम्पन्न स्वस्थकर कोठाको व्यवस्था हुुन जरुरी छ ।
शिक्षण विषय र विधि
शिक्षकले आफूले पढाउने विषयको पाठ्यक्रम, पाठ्यपुस्तक तथा शिक्षण विधिबारे गहिरो अध्ययन र रुचि हुनुपर्छ । शिक्षकले अध्ययन गरेर विशेष दखल हाँसिल गरेको विषयमा मात्र पढाउने व्यवस्था गरिनुपर्छ । विद्यमान प्रावधानअनुसार प्राथमिक तहका शिक्षकले सबै कक्षामा सबै विषय पढाउने अवधारणालाई अंगीकार गरेको छ । शिक्षाको जगको रूपमा रहेको प्राथमिक तहको पठनपाठनलाई विशेष महत्व दिनुपर्छ । अतः शिक्षाको जगलाई मजबुत बनाउन सबैभन्दा योग्यतम जनशक्तिलाई प्राथमिक शिक्षकमा नियुक्ति गर्नु बुद्धिमानी ठहर्छ । साथै, शिक्षकलाई विषयगत विशेषज्ञबाट सुसज्जित मात्र नगरेर उनीलाई उच्च मनोबलका साथ पेसाप्रति समर्पित हुन उत्प्रेरित गर्नुपर्छ । शिक्षक तालिम शिक्षक र विद्यार्थीको आवश्यकता र पाठ्यक्रमको मर्मलाई आत्मसात गरेर तर्जुमा गरिनुपर्छ ।
बालमैत्री शिक्षणविधि अपनाउन आवश्यक ज्ञान, सीप र पर्याप्त शैक्षिक सामग्रीको उपलब्धता भएमा शिक्षकले धकफुकाएर रमाइलो वातावरणमा शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न उत्सुक हुन्छन् । बालबालिकाले घरपरिवार साथीभाइ समाज तथा विभिन्न सञ्चारका माध्यमबाट विज्ञान र प्रविधिमा भएका पछिल्ला जानकारी प्राप्तगरी सकेका हुन्छन् । उनीहरूले प्राप्त गरेका जानकारीको जीवनोपयोगी प्रयोग कसरी गर्न सकिन्छ भन्ने बारे आवश्यक ज्ञान सीप र अभिवृद्धि प्रदान गरेर विद्यार्थी, अभिभावक, समुदायलगायत सरोकार पक्षको आस्था र विश्वास जित्न शिक्षकले आफू निरन्तर नवीन ज्ञान र सीपबाट सुसज्जित हुनुपर्छ । निरन्तर अध्ययन गरी राख्ने भएकाले शिक्षक कहिल्यै बुढो हुँदैन । आफ्नो शिक्षणबाट विद्यार्थीको उपलब्धि उत्साहजनक भएमा शिक्षक स्वयंलाई सन्तुष्टि मिल्छ । पेसाप्रति थप आस्था र गर्भको महसुस हुन्छ । अतः उपरोक्तानुसार शिक्षकमैत्री वातावरण बनाउन सरोकार पक्ष चनाखो रहनुपर्छ ।
विद्यालय व्यवस्थापन समितिको भूमिका
गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय संरचनासहितको योग्यतम शिक्षकको चयन हुनु पहिलो सर्त हो । विद्यमान शिक्षा नीतिअनुसार शिक्षकको नियुक्तिलगायत पेसागत वृत्तिविकासका योजना तथा कार्यक्रम ल्याउने प्रमुख दायित्व व्यवस्थापन समितिको हो । तर अहिले व्यवस्थापन समितिको गठनमा देखिएका अशोभनीय र अनियमित गतिविधिले व्यवस्थापन समितिका पदाधिकारीले तोकिएको काम कर्तव्य र अधिकारको दुरुपयोग नगर्लान् भन्न सकिन्नँ । अझ व्यवस्थापन समितिको गठन समझदारीभन्दा पनि अघोषितरूपमा पार्टीको प्यानलको रूपमा उम्मेदवार उठ्ने र चुनाव नै गरेर हारजीतको आधारमा पदाधिकारी चयन गरेको पाइन्छ । यो विद्यमान शिक्षा ऐन नियमको मर्म र भावना प्रतिकुल हो । शिक्षण संस्थाको विकास र विस्तार गर्दै गुणस्तरीय शैक्षिक वातावरण बनाउन राजनीतिको अनावश्यक प्रवेश हुनबाट अछुतो राख्नुपर्छ । शिक्षकको कार्यदक्षताको मूल्याङ्कन पारदर्शी र वस्तुनिष्ठ बनाउने, हाम्राभन्दामा राम्राको शिक्षकमा प्रवेश गराउने र विशुद्ध सामाजिक सेवा गर्ने भावनाबाट प्रेरित व्यवस्थापन समितिले मात्र शिक्षकमैत्री वातावरण सिर्जना गर्न सक्छ । अतः व्यवस्थापन समिति र शिक्षकबीचमा सुमधुर सम्बन्ध र सहकार्यबाट मात्र गुणस्तरीय शिक्षाको अपेक्ष गर्न सकिन्छ । व्यवस्थापन समितिले शिक्षकलगायत समग्र विद्यालय परिवारको अभिभावकत्व भूमिका निर्वाह गर्न सक्नुपर्छ । उदार एवं निस्कलङ्क छवि भएका समाजसेवी, शिक्षाप्रेमी र निःस्वार्थ चरित्र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीका लागी पूर्वसर्त हुनुपर्छ ।
प्रधानाध्यापकको भूमिका
विद्यालयको शैक्षिक, व्यवस्थापकीय तथा प्रशासनिक कार्यका लागि राज्यको तर्फबाट स्थायी नेतृत्वदायी भूमिका निर्र्वाह गर्ने जिम्मेवार व्यक्तिको रूपमा प्रधानाध्यापकलाई चिनिन्छ । विद्यमान शिक्षा ऐननियमको परिधिभित्र रहेर योग्यता, क्षमता, अनुभव तथा ज्येष्ठतालाई समेत ध्यानमा राखी प्रधानाध्यापकको चयन गरिनुपर्छ । पारदर्शिता, सहभागितामूलक निर्णय प्रक्रिया तथा विकेन्द्रित जिम्मेवारीजस्ता सुशासनका आधारभूत कुराहरूलाई प्रधानाध्यापकले आफ्नो मार्गदर्शन बनाउनुपर्छ । शिक्षकको कार्यको अनुगमन निरीक्षणलगायत कार्यक्षमताको निष्पक्षतापूर्वक मूल्याङ्कन गरी आवश्यक सल्लाह सुझाव सौहार्द वातावरणमा दिनुपर्छ । प्रत्येक शिक्षकको वैयक्तिक पृष्ठभूमि तथा उनीहरूको लक्ष्यको बारेमा जानकारी राख्नाले उनीहरूको दुःखसुखको साथी बन्न सहयोग पुग्छ । अतः शिक्षकमैत्री वातावरण बनाउन सके मात्र एक अब्बल र सफल प्रधानाध्यापक बन्न सक्ने यथार्थलाई बिर्सनुहुन्न ।
स्वस्थ र अनुशासित वातावरण
विद्यालयको मानवीय तथा भौतिक वातावरण स्वस्थ, स्वच्छ र चित्ताकार्षक हुुनुपर्छ । शिक्षकले विषय र पाठले मागेअनुसार धकफुकाएर शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न उत्साहित हुन्छन् । बालबालिकाले पनि शिक्षकको पठनपाठनप्रति आकर्षित हुन्छन् । जसबाट एकातर्फ शिक्षकलाई आत्मसन्तुष्टि प्राप्त हुने भएकाले पेसाप्रति थप उत्साहित बनाउँछ भने अर्कोतर्फ रमाइलो वातावरणमा मात्र बालबालिकाको शारीरिक तथा मानसिक विकास सन्तुलितरूपमा हुन्छ । कक्षाकोठा, धारा, शौचालय, खेल्ने चौर, बाटो नियमित सरसफाइ तथा फोहोरमैलाको उचित व्यवस्थापन गरिनुपर्छ । शिक्षक स्टाफको स्वस्थकर बानी व्यहोराले बालबालिकाको बानी व्यहोरामा पनि सकारात्मक प्रभाव पार्छ । सामाजिक, धार्मिक संस्कार संस्कृति, मानवीय सद्भाव र सहयोग तथा भातृत्वको भावनालाई उच्च प्राथमिकता दिएर नवीनतम ज्ञान र सीपबाट सुसज्जित भई सफल जीवनयापन गर्न सक्षम नागरिक उत्पादनका लागि अनुशासित शैक्षिक वातावरण अपरिहार्य हुन्छ । विद्यालयमा अनुशासित वातावरण कायम राख्न व्यावहारिक आचरसंहिता तथा त्यसको सहजरूपमा परिपालन गर्ने निष्पक्ष परिपाटी अवलम्बन गरिनुपर्छ । अनुशासनको नाममा गरिने मानसिक तथा शारीरिक यातनालाई पूर्णरूपमा बर्जित गर्दै लोकतान्त्रिक मूल्यमान्यता अनुरूप कक्षा तथा विद्यालय सञ्चालन गर्ने संस्कारको विकास गरिनुपर्छ । शिष्ट, सदाचार, शौहार्द एवं नम्र बानीव्यहोरालाई प्रोत्साहित गर्ने मानवीय वातावरण विद्यालयमा हुनुपर्छ । बञ्चरोले भन्दा बचनले चिरेको घाऊ गहिरो हुन्छ भन्ने यथार्थलाई बिर्सिनु हुँदैन । शिक्षक विद्यार्थीको स्वाभिमानमा ठेस पुग्ने व्यवहार गरिनुहुन्न । विद्यालयले अख्तियार गरेका नीति र रणनीति कतिको प्रभावकारी भए, भविष्यमा कस्तो सुधार ल्याउनुपर्ला भन्ने उपायहरू खुट्याउन निरन्तर अनुगमन निरीक्षण गरिनुपर्छ । जसले योजना तथा कार्यक्रम र अनुशासनमा देखिएका कमी कमजोरीलाई सच्याउने र सच्चिने मौका प्रदान गर्छ ।
शिक्षकमैत्री विद्यालय बनाउन विद्यालयसँग प्रत्यक्ष परोक्ष सरोकार राख्ने खासगरी विद्यार्थी, अभिभावक, समुदायलगायतका संघसंस्था र पदाधिकारीको निरन्तर सकारात्मक सल्लाह सुझाव अपरिहार्य हुन्छ । शिक्षकले पनि आफ्नो योग्यता क्षमतालाई निरन्तर परिमार्जन र परिष्कृत गर्न प्राप्त सुझावलाई सदासयतापूर्वक ग्रहण गर्न हिचकिचाउनु हुँदैन । सुझावको आवश्यकता र औचित्यका आधारमा मार्गदर्शनको रूपमा अवलम्बन गर्नु बुद्धिमत्तापूर्ण काम हो । अतः विद्यालय शिक्षकमैत्री बनाउनका लागि विद्यार्थी, अभिभावक, समुदाय समेतका सुमधुर र सौहार्द दिगो सम्बन्ध हुुनु पूर्वसर्त हो । पारदर्शिता, सहभागितामूलक निर्णय प्रक्रिया, विकेन्द्रित जिम्मेवारीआदीले विद्यालयप्रति अपनत्व भावनाको विकास भई मैत्रीपूर्ण वातावरण सिर्जनागर्न टेवा पुग्छ ।
शिक्षण पेसा निश्चय नै अन्य पेसाको तुलनामा बढी परिश्रम, जवाफदेही तथा समयको महत्वलाई बुझेर व्यवस्थापन गर्नुपर्ने मर्यादित पेसा हो । शिक्षकले एक दिनमा सामान्यतया विभिन्न कक्षाका विभिन्न संस्कार र संस्कृतिमा हुर्केका कम्तीमा दुई सय विद्यार्थीलाई पढाउनुपर्ने हुन्छ । अझ प्राथमिक विद्यालयमा त घण्टी बजाउने, झ्यालढोका लगाउने खोल्ने, सरसफाइ गर्ने समेत शिक्षकले नै गर्नुपर्ने बाध्यता छ । त्यस्तै, विद्यालयको अतिरिक्त क्रियाकलाप, बैठकहरू, विभिन्न सरकारी गैरसरकारी संघसंस्थासँगको सहकार्य बैठक आदिमा सहभागी हुनुपर्ने बाध्यता शिक्षकलाई हुन्छ । यसरी धेरै कार्यबोझले थिचिएका शिक्षकहरू कतिपय अवस्थामा पेसाप्रति निराश भएका छन् । यस्तो विषम् परिस्थितिमा शिक्षकमैत्री विद्यालयको अपेक्षा चुनौतीपूर्ण छ । शिक्षकको आधारभूत आवश्यकताको अतिरिक्त थप सुविधाको आकर्षण र ढाढसबाट विद्यालयमा शिक्षकमैत्री वातावरण बनाउन टेवा पुग्छ । शिक्षकलाई शिक्षण पेसाप्रति निष्ठापूर्वक लाग्न उत्प्रेरित गर्न उनीहरूको आवश्यकताको वर्गीकरण गरेर प्राथमिकताका आधारमा उपलब्ध गराउनुपर्छ ।
शिक्षाका नीति नियम र योजना शिक्षक विद्यार्थीलाई सर्वाेपरी मानी उनीहरूको हीतलाई केन्द्रविन्दुमा राखेर बनाउनुपर्छ । परम्परागत प्रविधि र प्रवृत्तिमा परिमार्जन परिष्कृत गर्दै बासी विषयवस्तुको सट्टा समयको माग तथा विद्यार्थीको रुचि क्षमता र आवश्यकता एवं चाहनाअनुसार नवीनतम् साझी वा ताजा विषयवस्तु तथा शिक्षणसिकाइ क्रियाकलाप तर्जुमा र प्रयोग सौहार्द वातावरण भएमा बालबालिका विद्यालयबाट भागेर घरमा होइन घरबाट भागेर विद्यालयमा जान्छन् । जसलाई शिक्षक तथा बालमैत्री विद्यालयको महत्वपूर्ण सफल सूचकको रूपमा लिन सकिन्छ । सचेत अभिभावक समर्पित शिक्षक, कुशल व्यवस्थापक तथा अनुशासित विद्यार्थी एवं शिरमा समझदारी, काँधमा जिम्मेवारी र हृदयमा इमान्दारी बोकेका व्यवस्थापन समिति पदाधिकारी, प्रधानाध्यापकलगायत सरकारी निकायका पदाधिकारीको सहकार्य, सहमति, समन्वय, समझदारी, सद्भाव ,समन्वय र समीक्षा (सात स) मा मात्र शिक्षक तथा बालमैत्री विद्यालय फष्टाउन सक्ने यथार्थ हो । वास्तवमा बालमैत्री विद्यालय बनाउनका लागि पहिला शिक्षकमैत्री विद्यालय हुनुपर्छ भन्ने वास्तविकता तर्फ हेक्का राख्न बिर्सनुहुँदैन ।