नेपालमा आशीर्वाद दिँदा पनि भनिन्छ– ‘चिरञ्जीवी होस्, रोग नलागोस्, धेरै पढ, ज्ञानी होऊ, सुख–शान्ति मिलोस्, पढेर पैसा धेरै कमाऊ, अरूको सेवा गर, दिइराख्दा खान पुगोस् ।’ यसको अर्थ सबैलाई सेवा गर, कसैको भर नपरेस्, दीर्घायु होस्, सुख–शान्ति मिलोस् भन्ने नै हो ।
संसारका अधिकांश मानिसहरू धनमै सुख खोज्छन् । उनीहरूका लागि धन नै जीवनको सार हो । त्यसैले धेरै मानिसहरू धन कमाउनका लागि निरन्तर दौडधुप गर्छन् । नेपालको परिप्रेक्ष्यमा पनि सुख धनमै जोडिएको छ । धन भएकाको आफ्नै घमण्ड हुन्छ, त्यसैले धन कमाउन मानिस परदेश जान्छ, देशमै परिश्रम गर्छ । तर कतिपय मानिस सुखको आशामा दुःख सहन्छन्, धन कमाउन अशान्त भएर बस्छन् । अनि पछि सुख पाइने आशामा आज दुःखको भूमरीमा फस्छन् । कतिको त जीवनको एकमात्र लक्ष्य नै पैसा कमाउनु हुन्छ । यस क्रममा उनीहरू आफ्नो कार्य सफल पार्न अरूको भावनाको कदर नगरी, स्वार्थमा डुबेर अघि बढ्छन् । अरूको पीडा, अन्याय वा दुःखप्रति उनीहरूलाई खासै मतलब हुँदैन । आफ्नो काम भयो भने अरूलाई लात हान्छन् । छाया अरुको जे सुकै होस् ।
तर यो संसारका सबै मानिस यस्ता हुँदैनन् । कसैले आफ्नो जीवन अरूको सेवामा समर्पण गर्छन् । केही व्यक्तिहरू त यस्ता पनि हुन्छन्, जो मैनबत्ती जस्तै हुन्छन् । आफैँ पग्लिएर अरूको जीवनमा उज्यालो दिन्छन् त कोही दियोजस्तो हुन्छन्, प्रकाश छरिरहन्छन् । उनीहरूको जीवनको उद्देश्य नै अरूलाई सहयोग गर्नु हुन्छ । यस्तो उदार भावना बोकेका मानिसहरू समाजमा आशाको किरण बनिन्छन् । अरूको सेवामा सुख खोज्छन्, त्यसमै रमाउँछन् र मनका धनी हुन्छन् र उनीहरूलाई खासै आर्थिक धनको मतलब हुँदैन । बस अरूको हितमै रमाएर बस्छन् र सेवा गर्नुमै आफू धनी भएको महसुस गर्छन् ।
त्यस्तै, केही मानिसहरू आफू डुब्दा अरूलाई पनि डुबाउने प्रयास गर्छन् । उनीहरू दया र करुणा नभएका र ईष्र्यालु प्रवृत्तिका हुन्छन् । न त आफैँ सन्तुष्ट हुन सक्छन्, न अरूलाई सन्तुष्ट हुन दिन्छन् । तर केही यस्ता महापुरुष पनि हुन्छन्, जो आफू पनि सुखले बाँच्छन्, सुखी रहन्छन् र साथसाथै अरूलाई पनि उन्नतिको बाटो देखाउँछन् । आफू पनि रमाउँछन् र अरूलाई पनि रमाउने वातावरण बनाइदिन्छन् । यो विविधता मानव समाजमा नयाँ होइन । पुरातनकालदेखि नै समाजमा यस्ता विभिन्न स्वभावका मानिसहरू पाइँदै आएका छन् । मानिस एक गुणी प्राणी हो । उसमा उपकार गर्ने, सहयोग गर्ने, माया गर्ने स्वभाव पनि हुन्छ । तर यही मानिस कहिलेकाहीँ राक्षसजस्तै व्यवहार पनि देखाउँछ । जब उसमा लोभ, ईष्र्या र स्वार्थ हावी हुन्छ, तब ऊ आफन्त, मित्र र समाजसँगको बन्धन तोड्न पनि पछि पर्दैन । एक्लै हुँदा पनि आफ्ना स्वार्थलाई हात पार्न अरूको खासै मतलब गर्दैन ।
समाज सधैँ यस्तै विविधतासहित अघि बढिरहेको छ र भविष्यमा पनि यस्तै ढाँचामा अगाडि बढ्नेछ । हामीले चाहिँ सोच्नुपर्छ — हामी कुन वर्गमा पर्छौँ ? केवल धनको पछि लाग्ने कि आफैँ सशक्त बनेर अरूलाई पनि सशक्त बनाउने ? आफू मात्र बन्ने कि अरूलाई पनि बनाउने वा आफू मात्र बनी अरूलाई बिगार्ने वा आफू बन्ने र अरूलाई पनि बिगार्ने ? सुख, शान्तिसँग बस्ने कि खाली द्रव्यलाई मात्र धन मानी त्यसको पछि दौडिने ? योचाहिँ आजको युगमा गहिरो विषय भएको छ ।
त्यसैले मानव जीवनका तीन महत्वपूर्ण पाटाहरू हुन् । सुख, शान्ति र धन । यी तीनै एकअर्कासँग जोडिएको भए पनि तिनको अर्थ, स्वरूप र प्रभाव फरक–फरक छन् । मानिस सधैँदेखि सुखको खोजीमा छ । प्राचीनकालदेखि नै मानव जातिले विभिन्न माध्यमबाट सुख प्राप्त गर्ने प्रयास गरेको छ । कसैलाई पूजा गर्दा सुख मिल्छ, कसैलाई तपस्या गर्दा, कसैलाई अर्काको घर बनाउँदा, कसैलाई धर्म गर्दा, अध्यात्म, ज्ञान, प्रेम वा सम्पत्तिबाट वा कसैलाई काम गर्दा सुख मिल्छ, चाहे पैसा आओस् वा नआओस् । तर आजको आधुनिक भौतिकवादी समाजमा धनलाई नै सुखको प्रमुख स्रोत मान्ने प्रवृत्ति व्यापक देखिन्छ । यसैले धेरै मानिसहरू आफ्नो जीवनको सार नै धन आर्जनमा देख्छन् । तर के साँच्चै धन नै सुख र शान्तिको एक मात्र आधार हो ? यही प्रश्नको उत्तर खोज्नु आजको आवश्यकता भएको छ ।
आजको युग प्रतिस्पर्धाको युग हो । बाल्यकालदेखि नै मानिसलाई सिकाइन्छ कि धेरै पढ, प्रथम बन, राम्रो अंक ल्याऊ, ठूलो मान्छे बन, धेरै पैसा कमाऊ । यही भएर धन कमाउने लक्ष्यले मानिसलाई दिनरात परिश्रम गर्न बाध्य बनाएको छ । कतिपय त यति व्यस्त हुन्छन् कि आफूलाई, आफ्ना परिवारलाई र आफ्ना भावनालाई समेत समय दिन पाउँदैनन् । उनीहरू सोच्छन्, धन आयो भने सबै कुरा समाधान हुन्छ । तर धन त आउला, अरू कुरा तहसनहस हुन सक्छ । यही सोचका कारण समाजमा स्वार्थ, ईष्र्या, प्रतिस्पर्धा, तनाव र मानसिक अशान्ति बढ्दो छ । यी सबै कुराले मानिसलाई एक किसिमको अन्धो बनाएको छ ।
धेरै मानिसहरू आफ्नो उद्देश्य पूरा गर्न अरूको भावनाको कदर नगरी स्वार्थमा डुब्छन् । उनीहरूका लागि सफलता केवल धन आर्जनमा सीमित हुन्छ । यस्ता मानिसहरू अरूको पीडा, दुःख वा अन्यायप्रति संवेदनशील हुँदैनन् । उनीहरूको जीवन ’मात्र म’ भन्ने घेराभित्र सीमित हुन्छ । यसरी जब समाजमा स्वार्थी प्रवृत्ति बढ्छ, तब मानवीय मूल्य, सद्भाव र आपसी सम्बन्धमा दरार पर्न थाल्छ । उसलाई साथी, इष्टमित्र र परिवारको समेत ख्याल हुँदैन । तर सबै मानिस एकै प्रकारका हुँदैनन् । संसारमा केवल स्वार्थी मानिस मात्र हुँदैनन् । केही यस्ता महान् आत्माहरू पनि हुन्छन्, जो आफैँ दुःख भोगेर पनि अरूको लागि आशाको किरण बन्ने गर्छन् । उनीहरू दियोजस्तै हुन्छन्—आफैँ पग्लिएर अरूलाई उज्यालो दिने । उनीहरू आफ्नो जीवन सेवामा समर्पित गर्छन् । ‘सबैलाई प्रेम गर, सबैको कल्याण हुने काम गर, सबैको सेवा गर’ भन्ने भावनाले प्रेरित हुन्छन् ।
केही व्यक्ति त आफैँ जीवनको संग्राममा बाँच्छन्, संघर्ष गर्छन् र त्यसको अनुभव अरूसँग बाँडेर अरूलाई पनि सफल बनाउँछन् । यस्ता व्यक्ति समाजका मार्गदर्शक बन्न पुग्छन् । उनीहरूले सिकाउँछन् कि जीवनमा धन त आवश्यक हो तर केवल भौतिक धनले मात्र मानव जीवन पूर्ण हुँदैन । उनीहरू सधैँ सेवा गर्छन्, अरूको चित्त दुखाउँदैनन् ।
सुख एउटा अनुभूति हो, जुन धनले मात्र होइन, सोच र दृष्टिकोणले निर्धारण गर्छ । सुख हावामा छ, सुख पानीमा छ, सुख प्रकृतिमा छ, सुख काममा छ, सुख सोचमा छ अनि सुख जीवनको हरेक पल–पलमा छ, यदि सुखलाई चिन्न सकियो भने । कोही धेरै धन भएर पनि असन्तुष्ट हुन्छन् भने कोही थोरै साधन भएर पनि सुखी हुन्छन् । त्यसैले भनिन्छ—‘सुख मनको अवस्था हो, हामी भौतारिरह्यौं भने सुख आउन सक्दैन, सुख कुनै पनि वस्तु वा चिजले दिने होइन ।’ सुख पढाइमा पनि हुन्छ, काममा पनि हुन्छ, सन्तानको मुस्कानमा पनि हुन्छ, आफ्नो प्रयासबाट अरूलाई खुसी पार्न सकिने क्षणमा पनि हुन्छ । कुनै एक परिश्रमी मानिस आफ्नो काम सकाएर पसिना बगाएर साँझ मुस्कुराउँछ, काम सकिँदा हाँस्छ, त्यो मुस्कानमा कति गहिरो सन्तोष हुन्छ, त्यो बुझ्न धनको खाँचो पर्दैन । बाँझो खेतमा बाली छर्दा, गरेको काम सकिँदा, धेरै परिश्रमले फल पाएपछि आउने सुख धनमा जोख्न मिल्दैन र कहिलेकाहीँ सोचेको काम पूरा हुँदा पनि आफैँसँगै सुख मिल्छ । बास नहुनेलाई बास, गाँस नहुनेलाई गाँस र कपडा नहुनेलाई एउटा कपडा पायो भने पनि त्यसबाट धेरै सुख मिल्छ, धनले मात्र होइन ।
सुखसँगै अर्को महत्वपूर्ण पक्ष हो, शान्ति । जीवनमा धन कमाउनु एउटा कुरा हो । तर त्यो धनले मनमा शान्ति दिन्छ कि दिँदैन भन्ने कुरा सबैभन्दा महत्वपूर्ण हुन्छ । आज धनी मानिसहरू पनि मानसिक तनाव, डिप्रेसन, डर, असुरक्षा, निरसता आदिका समस्याबाट गुज्रिरहेका छन् । यो देखाउँछ कि शान्ति केवल धनसँगै आउने कुरा होइन। शान्ति आउँछ—सन्तुलित जीवनशैली, सदाचार, आत्मचिन्तन, कृतज्ञता र आत्मिक सन्तुष्टिबाट ।
धेरै धन भएकाहरू विदेश घुम्न जान्छन्, महँगो घर बनाउँछन्, विलासी गाडी चढ्छन् । तर पनि रातमा निन्द्रा हराउँछ । किनभने धनले सुविधा दिन सक्छ तर शान्ति होइन । शान्तिका लागि चाहिन्छ आत्मसम्भोधन, सीमित इच्छा, आपसी समझदारी, पारिवारिक प्रेम र मूल्यमा आधारित जीवन ।
धन आवश्यक छ—यसलाई अस्वीकार गर्न सकिँदैन । बीमा धन मानव जीवन सहजरूपमा चल्दैन । शिक्षा, स्वास्थ्य, आवास, भोजन, यात्रा सबैका लागि पैसा चाहिन्छ । तर धनलाई जीवनको अन्तिम लक्ष्य बनाउनु भनेको आफ्नो अस्तित्व नै धनको नियन्त्रणमा सुम्पिनु हो । जब धन हाम्रो साधन भएर साथ दिन्छ, त्यो उपयोगी हुन्छ । तर जब धनले हामीलाई नियन्त्रण गर्न थाल्छ, त्यो विनाशकारी हुन्छ ।
धनलाई बुद्धिले प्रयोग गर्नुपर्छ । कमाउनु राम्रो तर त्यसलाई सही ढंगले व्यवस्थापन गर्न, बाँड्न र सामाजिक उत्तरदायित्वका लागि प्रयोग गर्न सक्नुपर्छ । नेपालका केही धनाढ्यहरू जसले अस्पताल बनाएका छन्, विद्यालय स्थापना गरेका छन्, छात्रवृत्ति दिएका छन् । यिनीहरू सकारात्मक दृष्टान्त हुन् । उनीहरूले देखाएका छन्, धनले समाज बदल्न सक्छ, यदि त्यसको प्रयोग सही दिशामा गरियो भने ।
हामी अक्सर ’धन’ भन्नासाथ पैसाको कल्पना गर्छौं । तर वास्तवमा धनका स्वरूपहरू धेरै छन् । बौद्धिक धन, नैतिक धन, पारिवारिक धन, सामाजिक सम्पर्क, समयको सदुपयोग, स्वास्थ्य यी सबै पनि धनकै रूप हुन् ।
एक जना शिक्षित व्यक्ति, जसले आफ्ना ज्ञान र अनुभव अरूलाई बाँड्छ, ऊ पनि बौद्धिकरूपमा धनाढ्य हो । एकजना आमा जसले सन्तानमा सदाचार रोप्छिन्, उनी नैतिक धनकी धनी हुन्छिन् । एउटा असल मित्रता, जहाँ विश्वास र समझदारी हुन्छ, त्यो सम्बन्ध सामाजिक धन हो । त्यसैले वास्तविक धन भनेको मात्र बैंक खातामा भएको रकम होइन, हाम्रो व्यवहार, सोच, सम्बन्ध र दृष्टिकोण हो । त्यसैले पैसा मात्र धन होइन ।
आजको समाजमा अर्को गम्भीर समस्या देखासिकी हो । हामी अरूको जीवनसँग तुलना गर्दै आफ्नो मूल्य निर्धारण गर्छौं । कोही छिमेकीले घर, बाइक वा गाडी किन्यो भने आफैँ पनि किन्नुपर्ने दबाब महसुस हुन्छ, चाहे ऋण लिनुपरोस् वा आफैँसँग पैसा होस् वा नहोस् । असन्तोष हुन्छ र सुख शान्तिलाई नै गुमाउँछ । यो मानसिकता नै अशान्तिको जड हो । अरूको जस्तो जीवन चाहँदैमा आफ्नो परिस्थिति बिर्सिनु उपयुक्त होइन । जीवन भनेको हरेकको आ–आफ्नै यात्रासँग जोडिएको हुन्छ ।
यही देखासिकीको कारण धेरै मानिसहरूले आफ्नो मौलिकता गुमाएका छन् । उनीहरूले अरूको जस्तो देखिनका लागि आडम्बर र बनावटमा रमाउन थालेका छन् । यस्तो कृत्रिम जीवनले न त सुख दिन्छ, न शान्ति ।
अन्त्यमा, सुख, शान्ति र धन यी सबै जीवनमा महत्वपूर्ण छन् । तर सुख र शान्तिसँग काम गर्नुपर्छ । धनको महत्व छ, तर केवल धनले नै सबै कुरा सम्भव हुन्छ भन्ने भ्रम हो । सच्चा सुख मनको सन्तोषमा हुन्छ । शान्ति आत्माको सन्तुलनमा हुन्छ र धनको मूल्य तब हुन्छ । जब त्यो मानवताको सेवा, आत्म–विकास र समाज सुधारमा प्रयोग गरिन्छ । तर सुख र शान्तिलाई पनि धनको रूपमा लिइयो भने त्यो धन दीर्घरूपमा टिक्छ । धन भनेको अर्थ मात्र नभई स्वास्थ्य पनि धन नै हो र शिक्षा पनि धन नै हो । सँगै राम्रो आचरण पनि आफूमा भएको धन हो, अझ भनौँ जीवन आफैँमा अमूल्य धन हो । त्यसैले तनावरहित जीवन जिएर साँचो धन बुझौँ र केवल धनको पछाडि लागेर मानवता नगुमाऔँ । असल र सभ्य समाजको निर्माण गरौँ ।