काठमाडौँ । सुमेरु बचत तथा ऋण सहकारी लिमिटेडका बचतकर्ताहरूले सञ्चालकहरूले ठगी र संगठितरूपमा अपराध गरेको भन्दै कारबाहीको माग गरेका छन् । उनीहरूले आफूहरूको १५ अर्ब ६० करोड बचत सञ्चालकको मिलेमतोमा हिनामिना गरेको भन्दै छानबिन गर्न सरकारसँग माग समेत गरेका छन् ।
बिहीबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सहकारी सञ्चालकले लाखौँ बचतकर्ताको अर्बौँ ठगी गरेको भन्दै सरकारले फिर्ताको लागि पहल गर्नुपर्ने बताए । सरकार कडारूपमा प्रस्तुत नभएकै कारण ठगहरू खुलमखुला हिँडिरहेको बताए । ‘सहकारी पीडितको बचत फिर्ताका लागि सरकारले कडारूपमा प्रस्तुत हुनुपर्छ । सञ्चालकले संगठितरूपमा बचत अपचलन गरेका छन् । सरकारले जेलमै कोचेरै भए पनि बचत फिर्ता गर्नुपर्छ’ खनालले भने ।
पीडित बलराम राजभण्डारीले सरकारले नचाहेकै कारण बचतकर्ताहरूले बचत फिर्ता नभएको बताए । ‘जनताको बचत हिनामिना गर्नेहरू नै यही वरपर बसेका छन्, तर सरकारले कारबाही नगरेकै कारण ठगहरूको मनोबल बढेको छ । सरकारले जनताको बचत फिर्ताको पहल गर्नुपर्छ’ राजभण्डारीले भने ।
बचतकर्ताको बचत हिनामिना गरेपछि पीडितको मागअनुसार सहकारी समस्याग्रस्त घोषणा भइसक्दा पनि सञ्चालकहरू उल्टाउन अदालत पुगेको बताए । बचतकर्ताकै रकम दुरूपयोग गरेर सञ्चालक १४ जना कानुन व्यवसायीहरू लगाएको आरोप राजभण्डारीले लगाए ।
सञ्चालकले समस्याग्रस्त अवस्थाबाट उल्टाउन अधिकांश नक्कली बचतकर्ताको हस्ताक्षर बोकेर अदालत पुगेको राजभण्डारीले बताए ।
‘हाम्रो बचतको सुरक्षाका लागि हामीले दुई वर्षदेखि कुरा उठाएर सरकारले समस्याग्रस्त घोषणा गरेको थियो । तर थप ठगी गर्न नक्कली बचतकर्ताको हस्ताक्षर बोकेर सञ्चालकहरू अदालत पुगेका छन्’ राजभण्डारीले भने । पीडित तथा वित्तीय अपराध अनुसन्धानकर्ता सुनिल स्थापितले सुमेरुमा सञ्चालकहरूले संगठितरूपमा बचत हिनामिना गरेको बताए । सुमेरुमा कसरी संगठितरूपमा पीडितको बचत अनियमितता कसरी भयो भन्ने विवरण सार्वजनिक गर्दै स्थापितले जनताको बचत हत्याउने उद्देश्यले सञ्चालक संगठितरूपमा ठगी गरेको बताए । उनले भरत महर्जन नेतृत्वको सञ्चालक समितिदेखि हालसम्मका सञ्चालकले पीडितलाई अल्मल्याउन र बचत पचाउनका लागि देखावटी झगडा गरिरहेको दाबी गरे ।
‘२०७६ सालमा सञ्चालक समितिबाट राजीनामा दिइसकेको भरत महर्जन २०७९ पुस २२ गते बसेको सञ्चालक समितिको बैठकमा उपस्थिति थिए । उक्त बैठकले तीन अर्ब ३९ करोड बचत रकम गैरकानुनीरूपमा कलेजमा लगानी गरेका थिए’ स्थापितले भने । महर्जनले सुमेरु डेभलपर्सको जग्गा २०८१ वैशाख १४ गते सुनिल ढंगोललाई बेलायतबाटै अधिकृत वारिस दिएको बताए ।
‘यदि अभियुक्त अपराधी भरत महर्जनले २०७६ सालमा आफ्नो व्यवस्थापन कर्तव्यबाट पूर्णरूपमा राजीमामा दिएका थिए भने उनले २०८१ मा सुनिल ढंगोललाई जग्गा बेच्नको निम्ति वारिस कसरी दिए ? यो स्वतः संगठित अपराधीको नमुना हो’ स्थापितले भने । पीडित रीता गिरीले आफूहरूको बचत फिर्ताको लागि सरकारले ठगी गर्नेहरूलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिइन् । आफूहरूले श्रम गरेर जम्मा गरेको पैसामाथि सञ्चालकले मोजमस्ती गरेको गिरीको आरोप छ । पीडितहरूले बाहिर हल्ला गरेजसरी राजबहादुर सिंहले सहकारीको स्वामित्व नलिने गरेको बताए । उनीहरूले सञ्चालकहरूकै योजनामा बचतकर्तालाई भ्रम छर्न सिंहलाई ल्याएको बताए ।