काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिका सदस्य डा. विश्व पौडेलले राजीनामा दिएका छन् । उनी आफैँ गभर्नर बन्नका लागि समितिबाट राजीनामा दिएको बुझिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पौडेललाई गभर्नर बनाउने सहमति भएपछि उनले राजीनामा गरेको बुझिएको छ । अर्थतन्त्री विष्णुप्रसाद पौडेलको सचिवालयले पनि उनले गभर्नर सिफारिस समितिबाट राजीनामा गरेको पुष्टि गरेको छ ।
यसअघि प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच राष्ट्र बैंकका कार्यकारी निर्देशक डा गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति भएको कुरा बाहिरिएको थियो । गभर्नर बनाउने बचन पाएपछि डा भट्टले राजीनामा दिएका थिए । तर उनको राजीनामा कायममुकायम गभर्नर निलम ढुंगानाले स्वीकृत नगरिदिएपछि गभर्नर नियुक्तिको विषय अड्किएर बसेको छ ।
यही परिप्रेक्षमा फेरि कांग्रेस सभापति देउवा र प्रधानमन्त्री ओलीबीच डा पौडेललाई गभर्नर बनाउने सहमति भएको कुरा बाहिरिएको र त्यसैलाई जोड पुग्ने गरी पौडेलले गभर्नर सिफारिस समितिबाट राजीनामा गरेका हुन् ।