जब मान्छे छोटो समयमा नै धेरै पैसा कमाउन खोज्ज भने त्यस्तो व्यक्तिले अपाउने बाटो भनेको अपराध नै हो । यस्ता अपराधहरू धेरै प्रकारका रहेका छन् । तीमध्ये प्रविधिसँगै बढेको अर्को अपराध हो, हनि ट्रयापिङ । यो पछिल्लो समय नेपाली समाजमा ठूलो चुनौतीको रूपमा देखापर्न थालेको छ । कानुन समेतको दुरुपयोग गरेर युवा र युवती मिलेर कुनै तेस्रो व्यक्तिलाई आत्मीता देखाएर अथवा शारीरिक वा मानसिकरूपमा प्रभाव पारेर ब्याल्कमेलिङ गर्दै आर्थिक लाभ लिने अपराध नै ‘हनि ट्रयाप’ हो ।
सामाजिक सञ्जालको अत्यधिक प्रयोगसँगै साइबर अपराधको नयाँ रूपको रूपमा ‘हनी ट्रयाप’को समस्या देखिएको हो । यो समस्या विशेषगरी पुरुष लक्षित हुने गरेको छ तर महिला पनि पीडित हुने सम्भावना उत्तिकै हुन्छ । प्रायः फेसबुक, इन्स्टाग्राम, टिकटकजस्ता सामाजिक सञ्जालमार्फत सम्पर्क स्थापना गरी विश्वास जितेपछि ब्ल्याकमेलिङ (गर्ने यो प्रवृत्तिले नेपाली समाजमा गम्भीर चुनौती खडा गरेको छ । हनी ट्र्याप योजनाबद्धरूपमा गरिने अपराध हो । यसमा सामाजिक सञ्जालमार्फत पीडक (अपराधी) सामाजिक सञ्जालमा आकर्षक प्रोफाइल बनाएर लक्षित व्यक्तिसँग सम्पर्क गर्छन् । त्यसपछि त्यो व्यक्तिले सम्पर्क गरेको व्यक्तिको विश्वास जित्ने प्रयास गर्छ । लामो समयसम्म मैत्री सम्बन्ध बनाएर पीडितको विश्वास जित्ने प्रयास गरिन्छ । त्यस पनि गोप्य कुराकानी वा भेटघाट हुन्छ । एकान्तमा भेट्ने वा अश्लील कुराकानी गर्न लगाउने, जसको भिडियो वा प्रमाण संकलन गरिन्छ । त्यसपछि सुरु हुन्छ, धम्की र ब्ल्याकमेलिङ । संकलित सामग्री प्रयोग गरी रकम माग्ने, बदनाम गर्ने धम्की दिने वा झूटा आरोप लगाउने काम गरिन्छ । यसरी हनि ट्र्यापिङ हुने गर्छ ।
नेपालमा पछिल्लो समय हनी ट्रयापका घटनाहरूमा उल्लेखनीय वृद्धि भएको छ । यस प्रकारका अपराधहरूले समाजमा असुरक्षा र कानुनी प्रणालीको प्रभावकारितामाथि प्रश्न उठाएका छन् । हनी ट्र्याप भनेको एक व्यक्तिलाई प्रेम र आकर्षणको प्रलोभनमा पारेर पछि शारीरिक शोषणको आरोप लगाई रकम असुल्ने वा अन्य किसिमका धम्की दिने अपराध हो । पछिल्लो समय काठमाडौं उपत्यकामा हनी ट्रयापका विभिन्न घटनाहरू सार्वजनिक भएका छन् । उदाहरणका लागि भक्तपुरको ठिमीमा एक युवतीले घाउ ड्रेसिङको बहानामा एक व्यक्तिलाई कोठामा बोलाएर, पछि बलात्कारको आरोप लगाई रकम असुल्ने प्रयास गरेको घटनामा तीन जनालाई पक्राउ गरिएको थियो । यसैगरी ललितपुरमा एक व्यवसायीलाई बलात्कारको आरोपमा फसाउने उद्देश्यले ३० लाख रुपैयाँको रकम असुल गरिएको घटना पनि सार्वजनिक भएको छ ।
नेपाल प्रहरीले हनी ट्रयापका घटनाहरूमा सक्रियता देखाउँदै, विभिन्न अभियुक्तहरूलाई पक्राउ गरेको छ । तर, यस्ता अपराधहरूको अनुसन्धान र कारबाहीमा केही चुनौतीहरू पनि छन् । पीडितहरूको सामाजिक प्रतिष्ठाको डरले प्रायः यस्ता घटनाहरू उजागर हुँदैनन्, जसले गर्दा अपराधीहरू सजिलै बच्न सक्छन् । हनी ट्रयापका पीडितहरूमा मानसिक तनाव, सामाजिक प्रतिष्ठामा हानि र कानुनी समस्याहरू जस्ता गम्भीर असरहरू देखिएका छन् । यस्ता घटनाहरूले समाजमा असुरक्षाको भावना बढाउँछन् र कानुनी प्रणालीप्रति विश्वास घटाउँछन् ।
हनी ट्रयापका घटनाहरूको रोकथामका लागि धेरै उपायहरू अपनाउन सकिन्छ । जसमध्ये सामाजिक सचेतना अभिवृद्धि एउटा प्रमुख उपाय हो । यस्ता अपराधहरूको बारेमा जनचेतना फैलाउनु विशेषगरी युवाहरूको भूमिका ठूलो रहेको छ । अर्को भनेको कानुनी शिक्षा र प्रशिक्षण हो । कानुनी अधिकार र प्रक्रिया बारेमा जनतालाई जानकारी दिएमा यस किसिमको अपराधमा केही हदसम्म कमी आउन सक्छ । डिजिटल सुरक्षासम्बन्धी पर्याप्त जानकारी भएको खण्डमा पनि यस किसिमको अपराधमा कमी आउन सक्छ । अनलाइन प्लेटफर्महरूमा सुरक्षा उपायहरूको पालन गर्न प्रोत्साहन गर्नुपर्छ । प्रहरी प्रशासनले पनि यस्ता अपराधहरूको छानबिन र कारबाहीमा दक्षता वृद्धि गर्नुपर्छ ।
हनि ट्रयापको असरहरू धेरै हुने गरेका छन् । विशेषगरी पीडितहरूमा डिप्रेसन, आत्महत्या प्रयास वा सामाजिक बहिष्करणको डर देखिन्छ । विवाहित वा प्रतिष्ठित व्यक्तिहरू समाजमा बदनाम हुने डरले घटनालाई लुकाउने गर्छन् । पछिल्लो समय ब्ल्याकमेलबाट लाखौँ रुपैयाँ गुमाउने घटना सामान्य भएको छ । कतिपयले झूटा बलात्कार वा दुर्व्यवहारको मुद्दा झेल्नुपरेको छ । यस्तो घटनाबाट पीडितको परिवार र पेशागत जीवनमा समेत गम्भीर असर पर्न सक्छ । वास्तवमा सामाजिक सञ्जालको गलत प्रयोग, कानुनी सचेतनाको अभाव, साइबर क्राइमसम्बन्धी अनुसन्धानको कमजोरी, दण्डहीनताको प्रवृत्ति, छिटोछरितोरूपमा पैसा कमाउने र बिलासी जीवन बिताउनेलगायतका धेरै महत्वकांक्षाले गर्दा पनि हनि ट्रयापको घटनाहरू हुने गरेका छन् ।
यस्तो अपराधमा कमी ल्याउनको लागि विद्यालय, क्याम्पस र सार्वजनिक मञ्चहरूमा हनी ट्रयाप र साइबर सुरक्षासम्बन्धी जानकारी दिनुपर्छ । नेपाल प्रहरीको साइबर ब्युरोलाई थप स्रोत, प्रविधि र मानव संशाधन उपलब्ध गराउनुपर्छ । साइबर अपराधसम्बन्धी प्रचलित ऐन (जस्तैः इलेक्ट्रोनिक कारोबार ऐन, २०६३) मा सुधार गरी स्पष्टता र कठोरता आवश्यक छ । सर्वसाधारणलाई सुरक्षित इन्टरनेट प्रयोग गर्न सिकाउनु, पासवर्ड सुरक्षा, व्यक्तिगत विवरण सुरक्षित राख्न प्रोत्साहन दिनु आवश्यक छ । पीडितको गोपनियता र सहायता सुनिश्चित हुने र मनोवैज्ञानिक सहयोग प्राप्त हुने प्रणाली विकास गर्नु आवश्यक छ ।
नेपालको सामाजिक संरचनामा व्यक्तिगत गोपनियता र प्रतिष्ठालाई अत्यधिक मूल्य दिइन्छ । यसले गर्दा हनी ट्रयापका घटनाहरू गुपचुप रहन्छन् र उजुरी दिन पीडितहरू हिच्किचाउँछन् । विशेषतः महिला पात्रको प्रयोग गरी पुरुषलाई फसाउने तरिका व्यापक देखिए पनि पछिल्लो समय पुरुषद्वारा महिलालाई फसाउने घटनाहरू पनि आउन थालेका छन्, जसले संकेत गर्छ कि यो केवल लिङ्ग आधारित नभई सामाजिक–आर्थिक शोषणसँग पनि गाँसिएको छ ।
नेपालमा हनी ट्रयापका घटनाहरू एक गम्भीर सामाजिक र कानुनी चुनौतीका रूपमा उभिएका छन् । यसका रोकथामका लागि सरकार, कानुनी निकाय र समाजका सबै तहका व्यक्तिहरूसँग मिलेर काम गर्नु अत्यन्त आवश्यक छ । यस्ता अपराधहरूको प्रभावकारी रोकथाम र कारवाहीले मात्र समाजमा असुरक्षाको भावना कम गर्न सकिन्छ र कानुनी प्रणालीप्रति जनताको विश्वास वृद्धि गर्न सकिन्छ । हनी ट्रयापको समस्या एक सामाजिक, प्रविधिक र कानुनी त्रिकोणभित्र पर्ने जटिल चुनौती हो । यसले केवल व्यक्तिगत व्यक्तिहरूलाई मात्र नभई समाज र मुलुककै साइबर सुरक्षालाई असर पारिरहेको छ । यसको समाधानको लागि राज्य, प्रहरी प्रशासन, नागरिक समाज र स्वयं इन्टरनेट प्रयोगकर्ताहरूको साझा प्रयास आवश्यक रहेको छ ।