काठमाडौं, प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको नेतृत्वको एमाले सरकारको पतनसँगै तत्कालीन नेपाल खाद्य संस्थानको लिजमा दिन गरिएको प्रयास असफल भए पनि अहिले उनै अधिकारीको सरकारमा गृहमन्त्री रहेका अहिलेका प्रधानमन्त्री केपी ओलीको सरकारले हालको नेपाल खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेडको थापाथलीमा रहेको ६ रोपनी जग्गा नेपाल धितोपत्र बोर्डलाई बिक्री गर्न लागेको छ ।
उतिबेला उक्त जग्गा ४० वर्षका लागि लिजमा लिन खोजेको तर सफल नभएको गिरोहले नै अहिले ३० वर्षपछि जग्गा किनबेच गराउन खोजेको हो । २०५२ सालमा लिजमा दिने प्रयास असफल भएपछि श्यामसुन्दर गुप्ताको पालामा पनि त्यस्तै असफल प्रयास भएको थियो । अहिले चाहिँ खाद्यको थापाथली गोदाम रहेको जग्गामध्येबाट ६ रोपनी जमिन काटेर धितोपत्र बोर्डलाई बिक्री गर्न लागिएको हो ।