काठमाडौं । सानिमा रिलायन्स लाइफले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन २०८१, दफा १७ (क), को नियमअनुसार सञ्चालक समितिका सदस्य, आधारभूत सेयरधनीहरू तथा विभागीय प्रमुखहरूलाई प्रशिक्षण प्रदान गरेको छ । काठमाडौंको याक एन्ड यति होटेलमा आयोजित सो कार्यक्रम बीमा प्राधिकरणका निर्देशक शाम्बराज लामिछाने तथा उप–निर्देशक सविता थापाले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय संस्थाबाट हुन सक्ने समस्या तथा त्यसका समाधानहरूको बारेमा प्रशिक्षण प्रदान गरेका थिए ।
प्रशिक्षणमा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी ऐन, नियमावली र निर्देशनबमोजिमको कार्य प्रभावकारीरूपमा गर्न गराउन, आवश्यक नीति, कार्यविधि, नियन्त्रण प्रणाली, जनशक्ति, साधनस्रोत समेतको समुचित व्यवस्था मिलाउनेलगायत सञ्चालक समितिको काम, कर्तव्य र अधिकार आदिको विषयमा छलफल गरिएको थियो ।
कार्यक्रमको समापन समारोहमा बोल्दै कम्पनीका अध्यक्ष रतन लाल केडियाले सम्पत्ति शुद्धीकरण सम्बन्धमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा भएका असल अभ्यासहरू र त्यसबाट स्थापित अवधारणाहरूको आधारमा तर्जुमा गरिएको सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन तथा नियमावलीमा व्यवस्था भएको दायित्व पूरा गर्ने बताए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणको महत्वमा प्रकाश पार्दै कम्पनीका सबै कर्मचारी र तहमा यसलाई अक्षरसः पालना गरिने बारेको स्पष्टोक्ति गरे । साथै, यस निर्देशिकाको अनुपालनमा आफूहरूले कुनै क्रसर बाँकी नराख्ने कुरा समेत व्यक्त गरे । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ जारी भएको अवसर पारेर नेपाल सरकारले गत वर्षदेखि प्रत्येक माघ १४ गते सम्पत्ति शुद्धीकरण निवारण दिवस मनाउने निर्णय गरेको छ ।