तनहुँ । बन्दीपुरका एक सय किसानलाई ५० प्रतिशत अनुदानमा जिल्लाको बन्दीपुर गाउँपालिकाको कृषि शाखाले मौरीसहितको घार वितरण गरेको छ । गाउँपालिकाको ५० प्रतिशत र किसानको ५० प्रतिशत लगानीमा सेरेना जातका मौरीका घार उपलब्ध गराइएको हो ।
गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले मह उत्पादनमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ तीन दिनको मौरीपालनसम्बन्धी तालिम दिएसँगै मौरीसहितको घार उपलब्ध गराइएको जानकारी दिए । उनले भने, “किसानलाई कृषिका क्षेत्रमा आत्मनिर्भर बनाउँदै आम्दानीतर्फ आकर्षित गराउन सीपमूलक र आयआर्जन क्षेत्रमा पालिकाले प्राथामिकता दिँदै आएको छ ।”
उनले वार्षिक कृषि कार्यक्रम अन्तर्गत मौरी पालन गर्न इच्छुक किसानलाई तालिम र मौरीसहितको घार वितरण गरिएको बताए । पालिकाले तोरी र मुसुरोखेतीका लागि गत वर्ष तीन लाख विनियोजन गरेको थियो । तोरी र मुसुरोखेतीसँगै मौरीपालन गर्ने किसानलाई प्रोत्साहन गर्न घार सहयोग गरिएको अध्यक्ष थापाको भनाइ छ । उनले मौरीसहितको घारको मूल्य नौ हजार पर्ने जनाए ।
तीन दिनका लागि सञ्चालित मौरीपालन तालिम बिहीबार समापन हुँदैछ । गाउँपालिकाले मह, तेल र दालमा आत्मनिर्भर बनाउनका लागि पकेट क्षेत्रका रूपमा विकास गर्दै खेतीलाई विस्तार गर्दै लगेको पालिका कार्यालयले जनाएको छ । तालिम सकिएपछि मौरीसहितको घार वितरण गर्ने योजना रहेकामा तालिम अगावै मौरी र घार आएकाले वितरण गरिएको अध्यक्ष थापाले जानकारी दिए ।