बेइजिङ । चीनले ‘डिजिटल चीन’ निर्माणलाई अघि बढाउन सन् २०२५का लागि कार्ययोजना सार्वजनिक गरेको छ । योजनामा ‘एआई प्लस’ (कृत्रिम बुद्धिमत्ताको समावेश), पूर्वाधार सुधार, डेटा उद्योग प्रवर्द्धन र डिजिटल दक्ष जनशक्ति विकासजस्ता प्रमुख पहलहरू समेटिएको राष्ट्रिय डेटा प्रशासनले शुक्रबार जानकारी दिएको छ ।
योजनाअनुसार तथ्याङ्क स्रोतको बजार अनुकूल व्यवस्थापनलाई प्रवर्द्धन गरिने, एकीकृत राष्ट्रिय तथ्याङ्क बजार विकास गरिने, स्थानअनुसार अनुकूल डिजिटल अर्थतन्त्रको प्रवद्र्धन गरिने र डिजिटल चीन निर्माणको समग्रस्तरलाई उल्लेखनीयरूपमा उकासिनेछ ।
सन् २०२५ को अन्त्यसम्म चीनले डिजिटल चीन निर्माणमा महत्वपूर्ण प्रगति गर्ने लक्ष्य राखेको छ । नयाँ प्रविधियुक्त उत्पादन क्षमताको विस्तारसँगै डिजिटल क्षेत्रको गुणस्तर र कार्यक्षमता उल्लेखनीयरूपमा बढाउने योजना छ । योजनाले तथ्याङ्कमा आधारित प्रमुख उद्योगहरूको मुल्यवृद्धि देशको कुल गार्हस्थ्य उत्पादनको १० प्रतिशतभन्दा बढी पुगोस् भन्ने लक्ष्य राखेको छ । त्यस्तै, एकीकृत तथ्याङ्क बजार निर्माणमा प्रगति गर्ने र गणनात्मक क्षमता ३०० ईएफएलओपीएसभन्दा माथि पुर्याउने लक्ष्य पनि रहेको छ ।
कार्ययोजनामा आठ प्रमुख क्षेत्र समेटिएका छन्, जसमा व्यवस्थागत नवप्रवर्तन, स्थानीय पहिचानयुक्त प्रविधिको प्रवर्द्धन र कृत्रिम बुद्धिमत्तामा आधारित प्रयोगहरू प्रमुख छन् । उद्योग तथा सूचना प्रविधि मन्त्रालयका अनुसार चालू वर्षको पहिलो त्रैमासमा चीनको डिजिटल उद्योगले करिब आठ खर्ब ५० अर्ब युआनबराबरको आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा नौ दशमलव चार प्रतिशतले बढी हो ।
यस वर्षको सरकारको प्रतिवेदनमा उत्पादन प्रणालीको डिजिटल रूपान्तरणलाई तीव्रता दिने, उद्योगमा दक्षता र प्रविधिसहितको सेवा प्रदायकको विकास गर्ने र साना तथा मझौला उद्यमहरूको प्रविधिमैत्री विकासमा सहयोग बढाउने उल्लेख गरिएको छ । रासस/सिन्ह्वा