लन्डन । पाँच वर्षअघि युरोपेली संघ (ईयू)बाट बेलायतको विवादास्पद बहिर्गमनपछि नयाँ अध्याय खोल्दै बेलायती प्रधानमन्त्री किर स्टार्मर सोमबार एक ऐतिहासिक सम्मेलनमा ईयूसँग घनिष्ठ सम्बन्धका लागि सम्झौता गर्ने तयारीमा छन् ।
ईयूका कूटनीतिज्ञहरूले सोमबार मुख्य अड्चन विन्दुहरूमा मतभेद समाधान गर्न रातभर वार्ता गरेपछि बेलायतसँगको सम्बन्ध पुनःस्थापित गर्ने सम्झौतामा पुगेको बताएका छन् । ईयूका सदस्य राष्ट्रहरूले हस्ताक्षर गर्न विशेषगरी रक्षामा र अन्तिम क्षणको सफलतापछि माछा मार्ने अधिकारको जटिल मुद्दामा तीनवटा पाठलाई अनुमोदन गरेका थिए ।
स्टार्मरले आफ्नो युरोपेली छिमेकीहरूसँग बेलायतको घनिष्ठ सम्बन्धका लागि जोड दिएका छन् । बेलायतको अघिल्लो कन्जर्भेटिभ सरकारसँग वार्ता गरिएको ईयू सम्झौताले ‘कसैका लागि पनि काम गरिरहेको छैन’ भन्ने लेबर सरकारको तर्क छ । तर गत जुलाईको आम चुनावमा कन्जर्भेटिभ पार्टीलाई सत्ताच्यूत गरेर सत्तामा आएका स्टार्मरले आफूले थुप्रै लक्ष्मण रेखा पार नगर्ने बताएका छन् । युरोपेली संघका केही मागमाथि अड्चन विन्दुहरू बाँकी छन् र कन्जर्भेटिभहरूले पहिले नै रिसेट कदमलाई ‘आत्मसमर्पण’का रूपमा आलोचना गरिरहेका छन् ।
वार्ताको नजिकको एक स्रोतले भनेको छ, ‘हिजो राति ढिलो सफलता, (र) अझै कदम चाल्न बाँकी छ ।’ स्टार्मर र ईयू नेताहरू उर्सुला भोन डेर लेयन, एन्टोनियो कोस्टा र मुख्य कूटनीतिज्ञ काजा कल्लासबीच सोमबारको बैठकको मुख्य आकर्षणमा दुई पक्षले ‘सुरक्षा र रक्षा साझेदारी’मा हस्ताक्षर गर्नेछन् । ईयू–बेलायत नेताहरूको शिखर सम्मेलनबाट युरोपेली एकताको संयुक्त वक्तव्य र व्यापारदेखि माछा मार्ने र युवा गतिशीलताका विषयहरूमा साझा समझदारीसहित सोमबार दुई अन्य कागजात अपेक्षित छन् ।
कूटनीतिज्ञहरूका अनुसार अन्तिम सम्झौताअन्तर्गत बेलायतले सन् २०२६ मा वर्तमान सम्झौता समाप्त भएपछि युरोपेली मछुवाहरूका लागि १२ वर्षसम्म आफ्नो पानी खुला राख्नेछ । यसको बदलामा २७–राष्ट्रको ब्लकले बेलायतबाट खाद्यान्न आयातमा अनिश्चितकालका लागि बन्देजलाई खुकुलो पार्नेछ । युवा गतिशीलताको विषयमा वार्ताकारहरू पछिको सम्झौताका लागि सामान्य शब्दावलीमा सहमत भए । यो मुद्दा तनावको अर्को मुख्य स्रोत हो । कुनै पनि युवा गतिशीलता योजनाले ईयु र बेलायत बीच आवागमनको स्वतन्त्रतामा फर्कन सक्छ भन्ने लन्डनलाई डर छ ।