काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले समयसापेक्ष विश्लेषण गरेर जैविक खेती र रैथाने बालीलाई नै प्रयोगमा ल्याउनुपर्नेमा जोड दिएका छन् ।
खाद्यका लागि कृषि अभियानले गत वैशाख ९ गतेदेखि यही जेठ ७ गतेसम्म सञ्चालन गरेको जैविक कृषि जागरण यात्रा २०८२ को सन्देश सार्वजनिक समारोहमा उनले जैविक कृषिले सबै नेपालीलाई आत्मनिर्भर बनाउने बताए । कार्यक्रममा उनले जैविक कृषि प्रणालीलाई प्रवद्र्धन गर्नका लागि प्राप्त सुझावअनुसार काम गर्न मन्त्रालय तत्पर रहेको जानकारी दिए । उनले भने, ‘धेरै विषादि प्रयोग न्यूनीकरण आवश्यक छ, भावी सन्ततिका बारेमा पनि चिन्ता गर्नुपर्ने हुन्छ, रासायनिक मलका साथै हामीले प्राङ्गारिक मललाई पनि जोड दिनुपर्छ, प्राङ्गारिक मललाई बढावा दिएर रासायनिक मललाई निरुत्साहित गर्दा सफल हुन सकिन्छ ।’
उनले जैविक कृषिले सबै नेपालीलाई आत्मनिर्भर बनाउने कार्यमा सबै मिलेर लागौँ भन्ने धारणा राखे । ‘रासायनिक मल पर्याप्त दिन सकेन भनेर सरकारको आलोचना हुन्छ, अनि फेरि जैविक खेतीका लागि प्राङ्गारिक मलको पनि कुरा हुन्छ, यसमा जोड दिऔँ न, खाद्य स्वच्छताका लागि जोड दिनुपर्छ’, उनले भने । यस्तै, सिङ्गै नेपालीलाई आत्मनिर्भर बनाउने गरी उत्पादन र त्यसको उपलब्धि हेरेर १५ देखि ८५ प्रतिशतसम्म अनुदान दिने काम सरकारी तहबाट भएको बताए ।
प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले जागरण यात्रा कार्य महत्वपूर्ण भएको बताइन् । उनले केमिकलयुक्त रासायनिक मलभन्दा अर्गानिक मलका लागि जोड दिँदै कृषि प्रणाली र खेतीपातीका विषयमा विद्यालय तहको शिक्षालाई पनि जोड दिनुपर्ने बताइन् । खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले जैविक कृषिको सामूहिक दृष्टिकोण र सङ्क्रमणकालीन योजना आवश्यक रहेको बताए । ‘माटोमा कृत्रिम रसायन घटाउने र प्राङ्गारिक पदार्थ बढाउने नीति चाहिन्छ, उत्पादकदेखि उपभोक्तासम्म सचेतना जगाउनु आवश्यक छ, मिश्रित खेती प्रवद्र्धन गर्नुपर्छ, एकल बाली निरुत्साहित गर्नुपर्छ, एग्रोभेटहरूको नियमित अनुगमन र नियमन आवश्यक छ’, उनले भने ।
संयोजक अधिकारीले जैविक कृषि विषयलाई विद्यालय केन्द्रित बनाएर जागरण अभियान चलाउनु प्रभावकारी हुने जनाउँदै प्राविधिकलाई नियमितरूपमा जैविक कृषिबारे प्रशिक्षण दिनुपर्ने, नेपालमा पर्याप्त उत्पादन हुनसक्ने कृषिउपजको आयात बन्द गर्नुपर्ने, युवालाई कृषि क्षेत्रमा फर्काउनुपर्ने र रैथाने बालीको प्रवद्र्धन अपरिहार्य छ भन्ने जागरण यात्राको सन्देश रहेको बताए । जैविक कृषि जागरण यात्राका सदस्य दीपेश नेपालले नेपालको कोशी, मधेश र बागमती प्रदेशका २४ जिल्लामा पुगेर नागरिक समाज, किसान तथा सरोकारवालासँग भेट गरिएको छलफल, अध्ययनका आधारमा प्रकृतिसँग मिल्दोजुल्दो जैविक खेतीमा मात्रै नेपालको भविष्य छ भन्ने सन्देश पाएको बताए ।