काठमाडौं । वाणिज्य बैंकहरूको सेयरमूल्य बढ्दा बिहीबार सेयरबजार हरियो बनेको छ । कारोबार मापक नेप्से परिसूचक १९ दशमलव शून्य चार अङ्कले बढेर दुई हजार छ सय ८८ दशमलव ५५ विन्दुमा पुगेको छ ।
सेयर लगानीकर्ता वाणिज्य बैंकहरूको सेयर किन्न झुम्मिएको देखिन्छ । बैंकहरूको नियामक निकाय नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त भएपछिको पहिलो कारोबार दिन तीव्र उतारचढावबीच घटेर बन्द भएको बजार दोस्रो कारोबार दिन केही सम्हालिएको हो । नयाँ गभर्नरले सेयरबजारमैत्री नीति लिने अपेक्षा लगानीकर्ताहरूको छ ।
बिहीबार कारोबारमा आएका दुई सय ४७ कम्पनीमध्ये एक सय चारवटाको सेयरमूल्य बढ्दा नेप्से परिसूचक हरियो बनेको हो । बाँकीमध्ये एक सय ४२ कम्पनीको सेयरमूल्य भने घटेको छ । सयपत्री हाइड्रोपावरको सेयरमूल्य स्थिर रहेको छ ।
कुल नौ अर्ब ८२ करोड २० लाख रुपैयाँबराबरको दुई करोड २३ लाख ९६ हजार तीन सय २९ कित्ता सेयर किनबेच भएको छ ।
सूचीकृत १३ वटा समूहमध्ये चारवटा समूह बढेका छन् भने नौवटा घटेका छन् । वाणिज्य बैंक (बैंकिङ) समूह सबैभन्दा धेरै तीन दशमलव ८२ प्रतिशत बढेको छ । त्यसपछि लघुवित्त समूह दुई दशमलव ५८ प्रतिशत, निर्जीवन बीमा शून्य दशमलव ४८ अङ्क र म्युचुअल फन्ड शून्य दशमलव शून्य छ प्रतिशत बढेको छ ।
सबैभन्दा धेरै होटल तथा पर्यटन समूह दुई दशमलव ६० प्रतिशत घटेको छ । त्यसपछि जलविद्युत् एक दशमलव १०, व्यापार शून्य दशमलव ८१, फाइनान्स शून्य दशमलव ४६, लगानी शून्य दशमलव ३९, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३८, विकास बैंक शून्य दशमलव २३, जीवन बीमा शून्य दशमलव १५ र अन्य शून्य दशमलव १३ प्रतिशत घटेको छ ।
यस दिन पनि ओम मेगाश्री फार्मासिटिकल्सको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै, बाराही हाइड्रो पावरको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
ङादी ग्रुप पावरको सेयर कारोबार सबैभन्दा धेरै ६९ करोड रुपैयाँबढीको भएको छ । त्यसपछि राधी जलविद्युत्को ६० करोड ७१ लाख रुपैयाँबराबरको कारोबार भएको छ ।
बिहीबार मात्रै लगानीकर्ताको सम्पत्ति ३१ अर्ब रुपैयाँ बढेको छ । बजार पुँजीकरण ४४ खर्ब ७३ अर्ब रुपैयाँ कायम भएको छ । साधारण सेयरतर्फको बजार पुँजीकरण पनि १६ अर्ब रुपैयाँ बढेर १५ खर्ब आठ अर्ब रुपैयाँ पुगेको छ ।