काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली जनसम्पर्क समिति जापानद्वारा टोकियोमा आयोजित स्वागत समारोहमा बोल्दै समाजमा अहिले व्याप्त रहेको नकारात्मक सोच र विचारले समाज र देश नबन्ने बताएकी छिन् ।
उनले केही पनि हुँदैन र केही पनि सम्भव छैन भन्ने जस्ता नकारात्मक धारणा बनाउने गरिएको प्रसङ्ग उल्लेख गर्दै देश निर्माणका लागि सकारात्मक सोच हुनु आवश्यक भएको बताइन् । उनले देशभित्रका राजनीतिक पार्टी, नेपाली समाज र विदेशमा बस्ने नेपालीहरूमा समेत यस्तो सोच रहेकाले यस्तो प्रवृत्ति त्यागेर देश निर्माणका लागि सकारात्मक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइन् ।
मन्त्री डा. राणाले समाजमा, देशमा राम्रा काम पनि त भएका छन् तर तिनलाई राम्रो भनेको कतै सुनिँदैन । नराम्रो प्रचार गरेपछि चर्चामा आइन्छ भन्ने सबैको सोच भएको हुँदा यसरी देश नबन्ने बताइन् । गैरआवासीय नेपालीहरूलाई पनि एकताबद्ध भएर सकारात्मक सोचका साथ लाग्न आग्रह गरिन ।
विदेशमा आर्जन गरेको सीप, ज्ञान र पुँजीलाई नेपालको विकासमा लगाउन संसारमा रहेका नेपालीहरूलाई आग्रह गर्दै मन्त्री डा. राणाले सर्वोच्च अदालतको परमादेशको पालना गरेर नै सरकारले हालैमात्र एनआरएनएको महाधिवेशन सम्पन्न गर्न सहजीकरण गरेको र त्यसमा सहमतिबाट नै नयाँ कार्यसमिति बनेको स्पष्ट पारिन ।
विश्वमा रहेका नेपाली डायस्पोरालाई कन्सुलर तथा परराष्ट्रसँग सम्बन्धित अन्य आवश्यक सेवा पुगोस् भनेर नै आफू परराष्ट्रमन्त्री भएपछि मन्त्रालयमा यससम्बन्धी अलग्गै महाशाखा स्थापना गरी काम अघि बढाएको जानकारी दिँदै उनले यसका लागि सबै नेपालीको सहयोग आवश्यक रहेको पनि बताइन् ।