काठमाडौं । युनाइटेड सिमेन्ट्स लिमिटेडले धुनिवेशी नगरपालिकामा निःशुल्क तीन महिने आधारभूत सिलाइकटाइ र दुई महिने एड्भान्स सिलाइकटाइ प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । नगरपालिकाको वडा नं. ९ को सहकार्यमा कम्पनीले ४२ जना स्थानीय महिलाहरूका लागि निःशुल्क तालिम सञ्चालन गरेको हो । तीन महिने आधारभूत र दुई महिने एडभान्स सिलाइकटाइ प्रशिक्षण कार्यक्रममा सहभागीहरूलाई कम्पनीले हालै एक कार्यक्रमको आयोजना गरी प्रमाणपत्र समेत वितरण गरेको छ । यस कार्यक्रमको उद्देश्य महिलाहरूलाई आत्मनिर्भर बनाउँदै उनीहरूको आर्थिक सशक्तीकरणमा योगदान पुर्याउनु रहेको कम्पनीले जनाएको छ ।
युनाइटेड सिमेन्ट लिमिटेडका महाप्रबन्धक हरि कुमार उप्रेतीले कम्पनीले जहिले पनि व्यावसायिक लक्ष्यसँगै सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राख्ने भएकाले यस्तो तालिम सञ्चालन गरेको बताए । यस तालिमले महिलाहरूमा आत्मविश्वास अभिवृद्धि गर्दै आयआर्जनका नयाँ अवसर सिर्जना गर्ने उनको भनाइ थियो । धुनिवेशी नगरपालिका वडा नं. ९ का वडाध्यक्ष माधव प्रसाद सिलवालले यो तालिम कार्यक्रमले महिलाहरूको जीवनस्तर सुधार्न र आर्थिकरूपमा सशक्त बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । सहभागीहरूलाई धुनिवेशीका नगर प्रमुख बालकृष्ण आचार्यले प्रमाणपत्र वितरण गरेका थिए ।