काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले २० लाख रुपैयाँको घातक रोगबापतको बीमा दाबी भुक्तानी हस्तान्तरण गरेको छ । २०७७ साल चैत्र महिनामा कम्पनीको हाकिमचोक शाखा, भरतपुर, चितवनबाट १५ वर्षको बीमा अवधि रहने गरी २० लाखको जीवनबीमा बीमालेख खरिद गरेका भरतपुर ३, चितवन निवासी महेश बानियाँलाई उक्त रकम दाबी भुक्तानी हस्तान्तरण गरेको हो । बीमितले तीन किस्ता मात्र बीमाशुल्क भक्तानी गरेको अवस्थामा मिति २०५०।०१।०२ गते पुरानो मेडिकल कलेज, भरतपुरमा सामान्य चेकजाँचका क्रममा कलोजोसम्बन्धी समस्या देखा परेको थियो । त्यसपश्चात् थप उपचारका लागि उनलाई मेडिसिटी अस्पताल, काठमाडौं लगिएको र डाक्टरको सल्लाहबमोजिम नै २०८१ पुस १५ गतेका दिन उनको कलोजो प्रत्यारोपण गरिएको थियो ।
नेपालमा अत्यन्तै महँगो उपचार पद्धतिमध्येको एक मानिने कलेजो प्रत्यारोपणका लागि झन्डै ४० लाखसम्म खर्च लाग्ने गर्दछ । निजले सोही समयमा कम्पनीलाई गराएको जानकारीबमोजिम नै प्रक्रिया अगाडि बढाइएको थियो । निजले आफ्नो सफल उपचारपश्चात् सम्पूर्ण कागजात कम्पनीमा पेस गरेको छोटो समयमा नै कम्पनीले उनलाई बीमा दाबी रकम हस्तान्तरण गरेको हो ।
कम्पनीद्वारा यही जेठ ७ गते बुधबारका दिन हाकिमचोक शाखामा आयोजित एक कार्यक्रमका बीच कार्यक्रमको अध्यक्षता गरेका शाखाप्रमुख राजकुमार दाहालले उक्त दाबी रकम २० लाखको चेक बीमितलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै बीमित महेश बानियाँले यस दुःखद् समयमा बीमा कम्पनीले आफूलाई दिएको साथ र सहयोगको प्रशंसा गर्दै बजारमा रहेका बीमा दाबी भुक्तानी तथा प्रक्रियासम्बन्धी सम्पूर्ण हल्लाहरू निराधार साबित भएको समेत बताए । आफूलाई जीबन बीमा गराउनका लागि सही समयमा नै प्रस्ताव गर्नै बीमा अभिकर्ता सरस्वती गौतमलाई विशेष धन्यवाद दिँदै भोलिका दिनमा आफूजस्तै समस्यामा पर्नसक्ने सबैलाई बीमाको दायरामा ल्याउनका निमित्त लागी पर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
कार्यक्रममा बोल्दै वक्ताहरूले बीमाको महत्व, बचत, बोनस, नेपालमा बीमादरको अवस्था तथा भविष्यमा हुनसक्ने जोखिमको क्षति न्यूनीकरण गर्न आज स्वस्थ अवस्थामा नै बीमा गर्नूपर्ने कुरामा जोड दिए ।