टोकियो । संयुक्त राज्य अमेरिका र जापान आफ्नो पछिल्लो भन्सार शुल्क वार्तामा सम्झौताको दिशामा प्रयासलाई ‘गति दिन’ सहमत भएको टोकियोले सोमबार बताएको छ ।
अमेरिकाको प्रमुख सहयोगी र यसको सबैभन्दा ठूलो लगानीकर्ता जापान अधिकांश मुलुकमा लगाइएको समान १० प्रतिशत आधारभूत भन्सार शुल्क तथा कार, स्टिल र एल्युमिनियममा कडा भन्सार शुल्कको अधीनमा छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिलको सुरुमा जापानमाथि २४ प्रतिशत ‘पारस्परिक’ भन्सार शुल्कको घोषणा गरे तर पछि अन्य देशमाथिका समान उपायहरूसँगै तिनलाई जुलाईको सुरुसम्म स्थगित गरे ।
जापान ट्रम्पले घोषणा गरेका आफ्नो आयातमाथिका सबै भन्सार शुल्कहरू हटाउन चाहन्छ । टोकियोका भन्सार शुल्क दूत रियोसी अकाजावाले सप्ताहन्तमा वासिङ्टनमा तेस्रो चरणको वार्ता गरेका थिए र यो हप्ता फर्कने कार्यक्रम छ ।
दुई देशले ‘पारस्परिकरूपमा लाभदायक सम्झौता साकार पार्न प्रयासहरू तीव्र पार्नेछौँ’ भनी पुष्टि गरेको जापानका शीर्ष सरकारी प्रवक्ता योशिमासा हायासीले सोमबार बताए । आइतबार प्रधानमन्त्री सिगेरु इशिबाले पनि अकाजावाको पछिल्लो चरणको वार्तामा ‘प्रगति’ भएको बताए । रासस/एएफपी