काठमाडौं । टेलिटक प्रालिले एचएमडीको नवीनतम स्मार्टफोन ‘एचएमडी क्रेस्ट म्याक्स फाइभजी नेपाली बजारमा सार्वजनिक गरेको छ । अत्याधुनिक प्रविधियुक्त यस स्मार्टफोनमा उत्कृष्ट प्रदर्शन, उन्नत क्यामरा प्रणाली, र सजिलै मर्मत गर्न मिल्ने प्रयोगकर्ता–अनुकूल डिजाइन समावेश गरिएको छ ।
एचएमडीले विकास गरेको यो डिभाइस विशेषगरी दिगो प्रविधि र दीर्घकालीन प्रयोगका लागि तयार पारिएको हो, जसले नेपाली उपभोक्तालाई शक्तिशाली, भरपर्दो र वातावरणमैत्री मोबाइल अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ । टेलिटकका अनुसार एचएमडी क्रेस्ट म्याक्स फाइभजी नवीनतम प्रविधिसँग सुसज्जित हुनुका साथै नेपाली बजारको आवश्यकता र चाहनालाई मध्यनजर गरी तयार पारिएको हो । स्मार्टफोनको डिजाइन, प्रदर्शन र मर्मतको सहजता यसलाई नेपाली उपभोक्ताका लागि एक उत्कृष्ट विकल्प बनाउनेछ ।
कम्पनीका अनुसार यो स्मार्टफोन अत्याधुनिक क्यामरा प्रणाली ट्रिपल रियर क्यामरा सेटअपले सुसज्जित छ, यसमा ६४ मेगापिक्सेलको प्राइमरी क्यामरा, पाँच मेगापिक्सेलको अल्ट्रा–वाइड लेन्स र दुई मेगापिक्सेलको म्याक्रो सेन्सर समावेश छन् । अगाडिको ५० मेगापिक्सेल हाई–रेजोल्युसन फ्रन्ट क्यामराले उत्कृष्ट सेल्फी र भिडियो कल अनुभव प्रदान गर्छ । यस्तै, यसमा छ दशमलव ६७ इन्चको फुल एचडी प्लस ओएलईडी डिस्प्ले छ । साथै, यो डिभाइस युनिसक टी७६० फाइभजी प्रोसेसरद्वारा सञ्चालित छ । यसमा एन्रोइड १४ अपरेटिङ सिस्टम प्रयोग गरिएको छ । यस्तै, यसको आठ जीबी र्याम र २५६ जीबी स्टोरेजले मल्टिटास्किङ तथा भारी एप्स चलाउन सहज बनाउँछ । माइक्रोएसडी कार्डद्वारा स्टोरेज थप विस्तार गर्न सकिने सुविधा पनि छ ।
यस्तै, यसमा लामो समय टिक्ने शक्तिशाली पाँच हजार एमएएच क्षमताको ब्याट्री छ, जुन ३३ वाट फास्ट चार्जिङ सपोर्टसहित आउँछ । यो ब्याट्री आठ सय चार्जिङ साइकलसम्म टिक्न सक्ने गरी डिजाइन गरिएको छ । एचएमडी क्रेस्ट म्याक्स ५जी अब आकर्षक डीप पर्पल रङमा नेपाली बजारमा उपलब्ध छ । यस स्मार्टफोनको आठ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य नेपाली रुपैयाँ २२ हजार नौ सय ९९ रुपैयाँ निर्धारण गरिएको छ ।