काठमाडौँ । मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी अठारौँ गणतन्त्र दिवस हर्षोल्लासका साथ मनाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेल गणतन्त्र दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा बिहीबार आयोजित विशेष समारोहमा सरिक भएका छन् ।
सो अवसरमा संविधानको संरक्षक तथा नेपालको राष्ट्राध्यक्ष राष्ट्रपति पौडेलको सम्मानमा नेपाली सेनाद्वारा सलामी अर्पणका साथै राष्ट्रिय गान र झण्डोत्तोलनसमेत गरियो ।
सोअवसरमा गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समारोहलाई सम्बोधन गर्दै गणतन्त्र कुनै दलको स्वामित्व होइन, यसको मालिक जनता हो भने । कार्यक्रममा ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै लोकतन्त्रका लागि सङ्घर्ष, त्याग र बलिदान गर्ने अग्रजहरूको योगदानको स्मरण गरियो ।
जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा २०६५ साल जेठ १५ गते दुई सय ४० वर्षदेखिको राजतन्त्र व्यवस्थाको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गरिएको थियो । उक्त ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन हरेक वर्ष आजको दिन गणतन्त्र दिवस मनाउने गरिएको हो ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, उपप्रधानमन्त्री प्रकाशमान सिंह, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सहभागी भएका थिए ।
कार्यक्रममा नेपाली सेनाको हेलिकोप्टरबाट गणतन्त्र दिवस–२०८२ अङ्कित ब्यानर प्रदर्शनी गरी पुष्पवृष्टि गरिनुका साथै काठमाडौँ महानगर, ललितपुर महानगर, कीर्तिपुर नगरपालिकालगायत स्थानीय तहले धिमे र नौमतिजासहित लाखे र खैचडी नाच प्रस्तुत गरिएको थियो । गणतन्त्रको खुसियालीमा रङ्गीचङ्गी बेलुन उडाउनुका साथै शान्तिको कामना गर्दै परेवा उडाइएको थियो ।