काठमाडौं ।नेपाल ट्रस्टको जग्गा व्यक्ति र संस्थाले आफू अनुकुल प्रयोग गरेको भेटिएको छ । सरकारले नेपाल ट्रस्ट ऐन, २०६४ जारी गर्दै ट्रस्टको अचल सम्पत्ति कुनै व्यक्ति विशेष वा संस्थाको नाममा दर्ता हुन नसक्ने उल्लेख गरे पनि एक सय १७२ रोपनीभन्दा बढी जग्गा व्यक्तिको नाममा नामसारी गरेको पाइएको छ ।नेपाल ट्रस्टको नाममा जग्गाधनी प्रमाणपुर्जा प्राप्त भएको काठमाडौंको मातातीर्थ, थानकोट, सतुङ्गल तथा इचङ्गुमा रहेको एक सय ७२ रोपनी १५ आना जग्गा मोही तथा निजको हकवालाको नाममा नामसारी भएको छ । सो जग्गा २०६४ भदौ २६ गते नेपाल सरकार अर्थात् मन्त्रिपरिषद्ले निर्णय गरी उनीहरूलाई प्रयोग गर्न दिएको हो । ऐनको व्यवस्था विपरीत ट्रस्टको सम्पत्ति मोहीको नाममा दर्ता भएकोमा उक्त जग्गा छानबिन गरी ट्रस्टको नाममा स्वामित्व हस्तान्तरण नगरी दुरुपयोग गरिएकोे महालेखाले ६२औँ प्रतिवेदनमा उल्लेख गरेको छ ।
बालाजु, स्वयम्भू, शेष नारायण, थानकोटलगायत ११ स्थानमा रहेको चार सय चार रोपनी छ आना जग्गामा हालसम्म पनि मोहीले खेती गरिरहेको तथा एक निजी विद्यालय सञ्चालनमा रहेको छ महालेखाले उल्लेख गरेको छ । ट्रस्टले उक्त जग्गाको भाडा लिन नसक्दा आम्दानी समेत गुमाउनु परेको अवस्था रहेको ट्रस्टका एक अधिकारीले बताए छ ।नेपाल ट्रस्ट ऐन, २०६४ को दफा ७ मा ट्रस्टको सम्पत्तिको समुचित व्यवस्थापन गरी यसको सम्भार र संरक्षण गर्नुपर्ने र दफा ११ मा प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए पनि ट्रस्टको स्वामित्वमा रहेको अचल सम्पत्ति कुनै व्यक्ति विशेष वा संस्थापकको नाममा दर्ता हुन नसक्ने उल्लेख गरिएको छ ।
ट्रस्टले धादिङ, ललितपुर, सिन्धुपाल्चोक र काठमाडौंमा रहेको जग्गा संरक्षण समेत गर्न नसकेको महालेखाले जनाएको छ । ट्रस्टको नाममा रहेको धादिङ जिल्ला धुनीवेशी नगरपालिका (साविकको छत्रेदेउराली गाउँ विकास समिति – ८) स्थित १५ हजार एक सय एक रोपनी ११ आना रोपनी ललितपुर जिल्ला गोदावरी नगरपालिका, गोदामचौरस्थित आठ रोपनी १० आना (८–१०–३–०) रोपनी, सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी थाङपालस्थित २७ रोपनी १३ आना रोपनी, काठमाडौं महागरपालिका– १६ बालाजु बाइपास क्षेत्रको एक सय २२ रोपनी १० आनालगायत विभिन्न आठ स्थानका १५ हजार पाँच सय दुई रोपनी दुई आनाभन्दा बढी जग्गाको सीमाङ्कन र संरक्षणसम्बन्धी कार्य गरेको देखिँदैन । ऐनको व्यवस्थाअनुरूप सम्पत्तिको संरक्षण सरकारले गर्नुपर्ने हो ।
कार्यालयबाट प्राप्त विवरणअनुसार ट्रस्टको स्थापनाकालदेखि आर्थिक वर्ष २०८०÷८१ सम्म १२ जिल्लाका २१ हजार छ सय ३३ रोपनी १५ आना जग्गा यसको स्वामित्वमा आएको छ । यस्तै, विभिन्न वाणिज्य बैंकमा ब्रिटिस पाउन्ड ५४ हजार दुई सय ८९, अमेरिकी डलर लाख ७३ हजार छ सय २६ र एक अर्ब ६८ करोड तीन लाख ५० हजार मौज्दात छ । त्यसैगरी नबिल बैंक, होटल डेला अन्नपूर्ण र राष्ट्रिय वाणिज्य बैंकको समेत १२ लाख ९९ हजार सात सय ३५ कित्ता सेयर रहेको देखिन्छ । ट्रस्टले यो वर्ष व्याजबापत १४ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ ।ट्रस्टको नाममा रहेको भरतपुर महानगरपालिका वडा नं. स्थित दियालो बंगलाको ८० रोपनी तीन आना, भक्तपुर नगरपालिका सल्लाघारीस्थित एक सय आठ रोपनी दुई आना गोकर्णेश्वर नगरपालिका गोकर्णस्थित एक हजार एक सय ७४ रोपनी दुई आना र हेटौँडा उप–महानगरपालिका वडा नं. १० स्थित कान्ति ईश्वरी गृहको २६ रोपनी एक आना रोपनीलगायत विभिन्न ११ स्थानका एक हजार छ सय १९ रोपनी चार आनाभन्दा बढी जग्गाहरू व्यक्ति तथा संस्थाहरूले प्रयोग गर्दा ट्रस्ट भने प्रयोगबाट बञ्चित हँुदै आएको छ । उक्त जग्गाहरू ट्रस्टले प्रयोग गर्नुपर्ने महालेखाकोे सुझाव रहेको छ ।
ट्रस्टले जग्गा र भवनमार्फत् आम्दानी गरे पनि त्यो पर्याप्त छैन । जग्गा र भवन भाडामा दिएबापत गत आर्थिक वर्षमा १४ करोड बढी आम्दानी ट्रस्टले गरेको छ । ट्रस्टले गत आर्थिक वर्ष लिज भाडाबापत १० संस्थाबाट १४ करोड एक लाख ५५ हजार आम्दानी गरेको महालेखाले जनाएको छ । उक्त आम्दानी काठमाडौं महानगरपालिका, वडा नं. २८, कमलादीस्थित कित्ता नं. ३२८२ को दुई रोपनी चार आना दुई पैसा जग्गामा व्यापारिक कम्प्लेक्स भवन निर्माण गरी ३० वर्षका लागि लिजमा दिन करबाहेक मासिक ९० हजार सात सय २० रुपैयाँमा काठमाडौं महानगरपालिकालाई उपलब्ध गराउने निर्णय गरिएको पाइन्छ । त्यसैगरी २०८० माघ २० गतेको बैठकबाट उक्त भवन लिजमा दिने निर्णय भएअनुसार भाडाबाट प्राप्त हुने रकमको ३० प्रतिशत स्वामित्ववाला कार्यालय तथा ७० प्रतिशत लगानीकर्ताले प्राप्त गर्ने गरी लिजमा दिने सार्वजनिक प्रस्ताव आह्वान भएकोमा लेखापरीक्षण अवधिसम्म उक्त कार्य सम्पन्न हुन सकेको छैन । उक्त व्यापरिक कम्प्लेक्सको अधिकतम लाभ प्राप्त हुने गरी उपयोग गर्न भनिए पनि ट्रस्टका अधिकारीहरूले त्यसलाई बेवास्ता गर्दै आएका छन् ।
काठमाडांैं महानगरपालिकाले पनि सम्झौताअनुरूप ट्रस्टलाई भाडा उपलब्ध गराएको छैन ।
काठमाडौं महानगरपालिकाको साविक वडा नं ३१, हाल वडा नं. २८ कमलादी कित्ता नं २२३५ र ३२८२ को पाँच रोपनी दुई पैसा क्षेत्रफल रहेको काठमाडौं प्लाजा नामको भवन र जग्गा काठमाडौं महानगरपालिकालाई भाडामा दिने गरी २०७९ चैत ८ गते सम्झौता भएकोमा सम्झौता अवधिदेखि २०८१ असार मसान्तसम्म महानगरले खुद बुझाउनुपर्ने सात करोड ९१ लाख १२ हजार रुपैयाँ भए पनि दुई करोड ८२ लाख १२ हजार मात्र बुझाएको छ । यस्तै, पाँच करोड नौ लाख रुपैयाँ असुल गर्नुपर्ने देखिएको छ । सम्झौताबमोजिम भवनको भाडा भुक्तानी गर्दा विगतदेखि मुक्तिनाथ विकास बैंक, एक दोहोरी साँझ र एक रेस्टुरेन्टले प्रयोग गरिरहेको क्षेत्रफलको भाडा कट्टी गरी काठमाडौं महानगरपालिकाले नेपाल ट्रस्टलाई बुझाउनुपर्ने उल्लेख छ । उक्त तीन वटा व्यावसायिक संस्थामध्ये एक दोहरी साँझ र एक रेस्टुरेन्टले २०८० भाद्रसम्म भवन प्रयोग गरेबापत भुक्तानी गर्नुपर्ने ४४ लाख १० हजार भाडा असुली भएको छैन । भाडाबापतको उक्त रकम असुल गर्नुपर्ने देखिएको छ ।
पोखरा महानगरपालिका वडा नं ७ रत्नचोकस्थित कित्ता नं. ३० को क्षेत्रफल एक रोपनी १२ आना एक पैसा जग्गा पाँच वर्षको लागि वार्षिक पाँच लाख १६ हजार रुपैयाँ भाडा लिने गरी एक होटल सञ्चालकसँग भएको सम्झौताबमोजिमको संरचना निर्माण तथा व्यवसाय नगरेको सम्झौताबमोजिमको रकम समेत नबुझाएकाले नेपाल ट्रस्टको कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । जिल्ला अदालतबाट २०८० जेठ १० गते भाडा रकम भराइ पाउने र जरिवानाको हकमा दाबी नपुग्ने फैसला भएकोमा कार्यालयले उक्त होटललाई विपक्षी बनाई जरिवाना समेत दिलाई पाउन उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । २०८० कात्तिक १६ गते उच्च अदालत पाटनमा पुनरावेदन गरेकोमा उक्त मुद्दा विचाराधीन रहेको छ ।नेपाल ट्रस्ट ऐन, २०६४ को दफा ५ तथा नेपाल ट्रस्ट नियमावली, २०६५ को नियम ३ मा ट्रस्टको सम्पत्ति विद्यालय, महाविद्यालय वा विश्वविद्यालयजस्ता शैक्षिक तथा प्राज्ञिक संस्थाहरू खडा गरी सञ्चालन गर्न वा त्यस्तो संस्था सञ्चालनका लागि अनुदान प्रदान गर्न, राष्ट्रिय हित अनुकूल तथा ट्रस्टलाई फाइदा हुने गरी पर्यटकीय र व्यावसायिक कार्य सञ्चालन गर्न र अस्पताल वा स्वास्थ्य चौकीजस्ता सार्वजनिक प्रयोजनका राष्ट्रहितका कार्यमा प्रयोग गर्नुपर्ने सुझाव महालेखाले दिएको छ ।