नेपाल सरकारको आर्थिक वर्ष २०८/२८३ को नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रको विकास र विस्तारका लागि सीमित कार्यक्रमहरू राखिएको देखिन्छ । नेपाललाई प्राकृतिक सांस्कृतिक, साहसिक र चलचित्र पर्यटनको सुरक्षित तथा आकर्षक गन्तव्यको रूपमा विकास गरिने, पर्यटन व्यवसायलाई आयआर्जन, रोजगारी र समृद्धिको आधारको रूपमा विकास गरिने, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र उचित व्यवस्थापनलाई प्रमुखरूपमा उल्लेख गरिएको छ । चालू १६औँ पञ्चवर्षीय योजनाका प्रमुख कार्यक्रममा पर्यटन पूर्वाधारको विकास, पर्यटन बजारको विकास, विस्तार तथा सुदृढीकरण, गुणस्तरीय लगानी आकर्षण र पर्यटकीय क्रियाकलाप तथा गन्तव्यको विविधीकरण गर्ने, एक जिल्ला न्यूनतम एक पर्यटकीय गन्तव्य र आतिथ्य व्यवस्थापनमा सुधार गर्ने आदि समावेश गरिएको छ । वर्तमानको वार्षिक ११।१२ लाख पर्यटक आगमनलाई आव २०८५।८६ सम्म २५ लाख पु¥याउने र जीडीपीमा पर्यटन क्षेत्रको योगदान दुई प्रतिशतबाट सात प्रतिशत पु¥याउने लक्ष्य सोह्रौँ योजनाको छ ।
समृद्धिको यात्रामा पर्यटन क्षेत्रको विकास र विस्तारले अहम् भूमिका खेलेको हुन्छ। हाम्रोजस्तो प्राकृतिक, धार्मिक विविधताले भरिएको देशमा पर्यटक आकर्षण गर्ने अनेक उपाय हुन सक्छन् । विश्वमा पर्यटनको आधार प्राकृतिक सौन्दर्य, कला, संस्कृति, धर्म, सामाजिक रीतिरिवाज, खेलकुद, शिक्षा आदि प्रमुख हुन्। नेपाल सांस्कृतिक, धार्मिक र प्राकृतिक विविधताको रोचक संगमस्थल हो । नेपालको सांस्कृतिक र धार्मिक विरासत शताब्दीऔँ पुरानो र विश्वमा अनुपम छ। अतिथि देवो भवः संस्कार संस्कृतिमा अभ्यस्त नेपालीहरूको जीवनस्तर उकास्न पर्यटन प्रवद्र्धन बरदान साबित हुन सक्छ। नेपाली समाजको सुमधुर संरचना विभिन्न जातजाति, धर्म संस्कार र संस्कृतिको अनुपम समझदारी र सहकार्यमा जीवन्त रहेको छ। यहाँको चाडपर्व, संस्कार र दिनचर्या तथा सुमधुर धार्मिक सहिष्णुता अन्य देशहरूका लागि उदाहरणीय र अनुकरणीय हुन सक्छन्। विभिन्न जातजाति तथा समुदायको पहिचान र परिचय उनीहरूको रहनसहन, सङ्गीत र नृत्यमा प्रकट हुन्छ । कला र शील्प, लोकगीत र वाद्यवादन, भाषा र साहित्य, दर्शन र धर्म, त्यौहार र उत्सव, खाना र पेयमा मुखरित हुन्छ। सांस्कृतिक पर्यटनलाई प्रवद्र्धन गर्न मौजुदा विशिष्ट संस्कृतिको संरक्षण र विकासमा विशेष ध्यान दिनुपर्ने हुन्छ। संस्कृति र सभ्यताको धनी सुन्दर देश नेपालबारे फितलो प्रचारप्रसारका कारण पर्यटन विकासमा आशालाग्दो उपलब्धि हासिल हुन सकेको छैन । नेपालमा पर्यटन विकासका आधार एवं चर्चा र चुनौतीबारे रौँचिरा विश्लेषणका आधारमा भविष्यदर्शी नीति तथा कार्यक्रम ल्याउन सरकार र सरोकार पक्ष चुकेको महसुस हुन्छ।
मानिसहरू पर्यटकको रूपमा ज्ञान, अध्ययन, अनुसन्धान, मनोरञ्जन आदिका लागि संसारका विभिन्न ठाउँमा पुगिराखेका हुन्छन्। सूचना र सञ्चार प्रविधिको प्रचुर विकास र विस्तार भएको आजको युगमा ज्ञानको दायरा पनि फराकिलो हुँदै जानु स्वाभाविकै हो। आफ्नो देशमा लुकेका भौगोलिक, प्राकृतिक, सांस्कृतिक, धार्मिकलगायतका दुर्लभ तथ्यहरू उजागर गरी कीर्तिमान कायम राख्ने होड नै चलेको छ। विविधताले भरिपूर्ण हाम्रा प्राकृतिक सांस्कृतिक र धार्मिक संरचना पर्यटकीय गतिविधिका लागि लोभलाग्दा छन् । प्रकृतिलाई नजिकबाट नियालेर मज्जा लिनका लागि पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङ, तलाउ विहार, स्काइ डाइभिङ, रक क्लाइम्बिङ, बन्जी जम्पिङ, क्यानोनिङ, सहासिक खेल जिपवायर, जङ्गल सफारी, गुफाको यात्रा, हिमाली यात्रा, जङ्गली जनावर, गाउँबस्तीको अनुपम मौलिकता पर्यटन विकासका प्राकृतिक आधारहरू हुन्। हामीले पनि उल्लेख्य मात्रामा पर्यटक भित्र्याउने रणनीतिक व्यावहारिक योजनाको खाँचो छ। खर्चको हिसाबले पनि विश्वको सस्तो देश नेपालमा मनोरञ्जन र अध्ययनका लागि आउन र रमाउन सहज रहेको विज्ञापन सन्देश प्रवाहमा कन्जुस्याइँ गरिनु हुन्न ।
अहिले तीन करोडको हाराहारीमा जनसंख्या भएको सानो भूगोलभित्र प्राकृतिक विविधता असंख्य जातजाति र भाषा संस्कार संस्कृतिले भरिपूर्ण भएको देश विश्वमा नेपाल मात्रै होला। यहाँको विविधता हेर्न अवलोकन गर्न मात्रै नभएर पूर्वीय दर्शन, संस्कार संस्कृतिको अध्ययन अनुसन्धानकर्ताको लागि पनि उत्तिकै रोजाइको क्षेत्र पर्ने सम्भावना प्रचुर छ। हाम्रो धार्मिक सांस्कृतिक र प्राकृतिक वैभवको दिगो संरक्षण र विकास गर्दै पर्यटक भित्र्याउन ठोस नीति र रणनीतिको खाँचो खट्किएको सर्वत्र महसुस गरिएको छ। हाम्रा पुर्खाले आर्जेको र प्रकृतिले दिएको बर्दानको सदुपयोग गर्दै सम्पन्नतातिर लम्किन नेतृत्वमा दूरदर्शी सोच र दृढ इच्छाशक्ति आवश्यक छ । संसारमै ठूलो उद्योगको रूपमा स्थापित र विस्तारित हुँदै गएको पर्यटन उद्योग हाम्रोमा प्राथमिकतामा नपर्नु विडम्बना हो। सम्पन्नताको प्रचुर स्रोतसाधानयुक्त भूमिमा बसेर अरुको आशा गर्नुु भनेको सुनको कटौरामा भीख माग्नुजस्तै हो।
कमजोर आर्थिक स्थिति भएको नेपालले आधुनिक वैभवपूर्ण संरचना निर्माण गरेर पर्यटक आकर्षण गर्ने आधार नभए पनि प्राकृतिक मनोरम दृश्य तथा धार्मिक सांस्कृतिक संरचना र संस्कारले पर्यटन व्यवसाय फस्टाउन प्रचुर मद्दत पुग्ने जगजाहेर छ। हामी प्राकृतिक, सांस्कृतिक, धार्मिक सम्पदा र सभ्यताको धनी भएर पनि सदुपयोग गर्न नसक्नु भनेको माल पाएर चाल नपाएको टीठलाग्दो अवस्था हो । नेपाली पोशाक, जातजाति, धर्म, पाहुना सत्कार, धार्मिक संस्कारमा विविधता, सांस्कृतिक धार्मिक सम्पदामा प्रचुरता आदि पर्यटकीय आकर्षणका क्षेत्र हुन् । युनेस्कोबाट विश्व सम्पदा सूचीमा सूचीकृत धरोहर स्तूपा, मन्दिर, गुम्बा, विहार, दरबारहरूको संरक्षण र संवद्र्धनमा समेत तदारुकता नदेखिनु दुःखद हो । कुनै बेला मन्दिरै मन्दिरको सहर भनेर चिनिएको काठमाडौं उपत्यका घरहरूको अस्तव्यस्त कंक्रिड जंगलको छायामा परेको छ। भूकम्पबाट प्रभावित उपत्यकाभित्रका काठमाडौं दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर, स्वयम्भूनाथ, पशुपति नाथ, बौद्धनाथ, चाँगुनारायण मन्दिरको जीर्णोद्धारमा उदासिनताको कारणले पनि सांस्कृतिक धार्मिक पर्यटनमा धक्का लागेको छ।
उपत्यकाबाहिर बराह क्षेत्र, हलेसी, कालिञ्चोक भगवती, पाथिभरा भगवती, दोलखा भिमसेन, शैलुंग, मनकामनना, गोरखा दरबार,जनकपुर, लुम्बिनी, मुक्तिनाथ, गोसाइँकुण्ड, स्वर्गद्धारी, खप्तड आश्रम, विन्धवासिनी, बराही पोखरा फेवातालगायतका ताल आदि असंख्य धार्मिक सांस्कृतिक प्राकृतिकस्थलको प्रचारप्रसार र पर्यटकमैत्री वातावरणका अभावले पर्याप्त पर्यटक भित्र्याउन सकिएको छैन।बोल्नेको पीठो पनि बिक्छ नबोल्नेका चामल पनि बिक्दैन भन्ने नेपाली भनाइ पर्यटन विकासका सरोेकार निकायले आत्मसात् गरेको पाइँदैन । नेपाल आउने पर्यटक संख्याअनुसार भाषा र शैलीमा राष्ट्रिय अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमार्फत प्रचारप्रसार गर्नेतर्फ खासै ठोस योजना देखिँदैन ।
नेपाललाई आकर्षक, सुरक्षित, मनोरम र साहसिक पर्यटकीय गन्तव्यका रूपमा विश्वबजारमा स्थापित गराउने खालका आक्रामक प्रचारप्रसार कार्यक्रहरूको खाँचो देखिन्छ। पर्यटकीय स्थलहरूको प्रचारप्रसार, पहिचान भएका गन्तव्यहरूको पूर्वाधार निर्माणमा तीव्रता र थप नयाँ पर्यटकीय गन्तव्यहरूको पहिचान, विकास र प्रवद्र्धनका लागि प्राथमिकता दिइनुपर्ने देखिन्छ। ऐतिहासिक पर्यटकीस्थल गढी, किल्ला, दरबार आदिको महत्वको प्रचार गर्दै संरक्षण र सहज पहुँचका लागि आवश्यक व्यवस्था गरिनु पर्दछ । पर्वतीय पर्यटन, कृषि पर्यटन, ग्रामीण पर्यटन, जलयात्रा पर्यटन, पर्या पर्यटन, धार्मिक सांस्कृतिक पर्यटन, खेल पर्यटन, स्वास्थ्य पर्यटनजस्ता क्षेत्रलाई समेटेर एकीकृत पर्यटन विकासमा जोड दिइनु पर्दछ। बाह्यको साथसाथै आन्तरिक पर्यटन प्रवद्र्धन गर्दै पर्यटन विकासको पूर्वाधारको रूपमा लिइने बाटो, वासस्थानअन्तर्गत होटल, होम स्टे र सुरक्षित वातावरणको सुनिश्चितताले मात्रै दिगो पर्यटन विकासमा टेवा पुग्ने वास्तविकता हो। नेपालको परम्परा, लोपोन्मुख भाषा, कला र संस्कृति, रीतिरिवाज आदिको संरक्षणका लागि एक राष्ट्रिय तथा सबै प्रदेशमा प्रदेशस्तरीय सांस्कृतिक संग्राहलयको स्थापना दिगो पर्यटन विकासका लागि सकारात्मक पहल ठहरिनेछ। तीन तहका सरकारको नीति तथा कार्यक्रममा पर्यटन व्यवसायलाई प्राथमिकतका साथ सम्बोधन भएमा दिगो पर्यटन विकासमा टेवा पुग्नेतर्फ सरकार र सरोकार पक्षको हेक्का पुग्नु जरुरी छ ।