काठमाडौं । युनिलिभर नेपाल लिमिटेड (यूएनएल)ले हेटौंडा उप–महानगरपालिका वडा नं. ३ का वडाध्यक्ष ढलक बहादुर थापासँग स्थानीय पूर्वाधार विकासमा सहयोग पुर्याउने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर गरेको छ। उक्त समझदारी युनिलिभर नेपालको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत प्राकृतिक प्रकोप न्यूनीकरण तथा उद्धारसँग सम्बन्धित कार्यको रूपमा डांगडुंगे खोलामा पहिल्यै निर्मित पर्खालको विस्तार कार्यका लागि गरिएको हो ।
समझदारी पत्रमा युनिलिभर नेपालका फ्याक्ट्री म्यानेजर सञ्जय भट्टाचार्य र वडा नं. ३ का वडाध्यक्ष थापाले हस्ताक्षर गरेका छन् । यस ऐतिहासिक अवसरमा हेटौंडा उप–महानगरपालिकाकी नगरप्रमुख मिना कुमारी लामा, वडा नं. ३ का सम्पूर्ण जनप्रतिनिधि, युनिलिभर नेपालको कानुनी प्रमुख गोविन्द शाही, र फ्याक्ट्री नेतृत्व टोलीको उपस्थिति रहेको थियो ।
समझदारीअनुसार युनिलिभर नेपालले हेटौंडा उप–महानगरपालिका वडा नं. ३ मा पर्ने सो खोलाको अधुरो पर्खाल निर्माण कार्य सम्पन्न गर्न कुल ६० लाख रुपैयाँ सहयोग गर्नेछ । प्रत्येक वर्ष मनसुनको समयमा खोलाको पानी बगेर स्थानीय बस्ती, खेतीपाती तथा जनजीवनमा क्षति पु¥याउँदै आएको सन्दर्भमा सो पर्खाल निर्माणले भविष्यमा यस्तो क्षति न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
उक्त परियोजना स्थानीय समुदायका सरोकारवालाहरूको औपचारिक अनुरोधका आधारमा अघि बढाइएको हो, जसलाई वडाध्यक्षद्वारा युनिलिभर नेपालमा पेश गरिएको आवेदनमार्फत औपचारिकता दिइएको हो। यो साझेदारी युनिलिभर नेपाल र स्थानीय नेतृत्वबीचको सम्बन्धलाई थप मजबुत बनाउने कोशेढुंगा हो ।
समारोहको क्रममा नगरप्रमुख लामाले युनिलिभर नेपालले राष्ट्रिय आर्थिक विकासमा पुर्याउँदै आएको निरन्तर योगदान तथा स्थानीय सरकारप्रतिको सहकार्यप्रति प्रशंसा व्यक्त गर्दै कम्पनीलाई पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए । वडा नं. ३ का अध्यक्षले युनिलिभर नेपालप्रति गहिरो आभार प्रकट गर्दै भावी दिनमा पनि उद्योगसँग सहकार्यलाई अझ सुदृढ बनाउने दृढता व्यक्त गरे ।
प्रत्येक वर्ष मनसुनको समयमा खोलाको बहावले स्थानीय कृषियोग्य जमिन, बाली तथा बस्तीमा ठूलो क्षति पुर्याउने गरेकोमा पर्खाल निर्माण भएपछि उक्त बहाव नियन्त्रणमा आउने र यस्ता क्षतिहरूबाट समुदायलाई सुरक्षा मिल्ने विश्वास गरिएको छ । युनिलिभर नेपालले विगतदेखि नै शिक्षा, स्वास्थ्य तथा पूर्वाधार क्षेत्रमा स्थानीय सरकारलाई सहयोग पुर्याउँदै आएको छ । साथै, कोभिड–१९ महामारीको समयमा पुर्याइएको उल्लेखनीय सहयोग तथा भूकम्प र बाढीजस्ता प्राकृतिक विपत्तिका बेला सरकारलाई दिएको साथ युनिलिभरको उत्तरदायी व्यवसाय सञ्चालनको प्रमाण हो । युनिलिभर नेपाल दीर्घकालीन र समावेशी विकासमा योगदान पुर्याउने उद्देश्यका साथ सामुदायिक साझेदारीहरूमा प्रतिबद्ध रहँदै आएको छ ।