काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोजकुमार ज्ञवाली नियुक्त भएका छन् । कायमुकायम सीईओ रहेका उनलाई बैंक सञ्चालक समितिको बिहीबारको बैठकले सीईओमा चयन गरेको हो । २२ गतेदेखि लागू हुनेगरी चार वर्षका लागि उनी प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन् ।
ज्ञानेन्द्र ढुंगानाले चैत १० गतेदेखि लागू हुनेगरी सीईओबाट राजीनामा दिएपछि कायममुकायम सीईओको भूमिका निर्वाह गर्दै आएका ज्ञवाली बैंकिङ क्षेत्रमा स्पष्ट वक्ताका रूपमा चिनिन्छन् । उनले नेपाल राष्ट्र बैंकलगायत विभिन्न वाणिज्य बैंकको व्यवस्थापन तहमा नेतृत्वदायी भूमिकामा रही बैंकिङ क्षेत्रको अनुभव बटुलिसकेका छन् ।
चार्टर्ड एकाउन्टेन्ट समेत रहेका ज्ञवालीसँग बैंकहरूको नियमनकारी निकाय नेपाल राष्ट्र बैंक, ग्लोबल आईएमई बैंक, ग्लोबल आईएमई क्यापिटल र ज्योति विकास बैंकसहित पुँजीबजार तथा बैंकिङ क्षेत्रमा २६ वर्ष लामोे अनुभव छ । ज्ञवालीको कुशल र सक्षम नेतृत्वमा आगामी दिनमा नबिल बैंक लिमिटेडले विभिन्न वित्तीय सूचकांकहरूमा अग्रणी स्थान हासिल गर्दै थप उचाइ प्राप्त गर्ने आशा गरिएको छ ।
त्यस्तै सोही समितिले नायब महाप्रबन्धक आदर्श बजगाईँलाई नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको छ भने प्रमुख कानुन विभाग भीष्म न्यौपानेलाई कम्पनी सचिवको जिम्मेवारी दिएको छ ।