काठमाडौँ । सप्तरीस्थित सप्तकोशीमा सशस्त्र प्रहरी बल नेपालका दुई सशस्त्र प्रहरी जवान (गोताखोर) बेपत्ता घटनाबारे गृहमन्त्री रमेश लेखकले दुःख व्यक्त गरेका छन् । मनसुनजन्य विपद्को पूर्वतयारी अभ्यास गर्ने क्रममा सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित कोशी नदीमा बिहीबार अपराह्न सशस्त्र प्रहरी जवान हरदेव राजवंशी र सुरज साउँद (गोताखोर) बेपत्ता भएका हुन् ।
हल्चोकस्थित सशस्त्र प्रहरी प्रधान कार्यालय पुगेर शुक्रबार बिहान गृहमन्त्री लेखकले उक्त घटना सम्बन्धमा विस्तृत जानकारी लिए । उनले अभ्यासका क्रममा ज्यान गुमाएका राष्ट्रसेवकको शोकलाई शक्तिमा बदल्दै आगामी दिनमा थप सचेत र सुरक्षा अपनाउन जरुरी रहेको बताए । गृहमन्त्री लेखकले भने, “खतराजन्य उद्धारमा खटिने जनशक्तिको जीवन बिमाबारे मन्त्रालयले थप कार्य गर्नेछ ।”
यसप्रकार घटना पुनरावृत्ति नहुने गरी सबै कुराको यथेष्ट ध्यान पुर्याएर गर्नुपर्नेमा जोड दिदै उनले खतराजन्य उद्धारमा खटिने प्रहरी कर्मचारीको बिमालगायत विषयमा थप बजेटका लागि मन्त्रालयले प्रयास गर्ने बताए । बेपत्तामध्ये हरदेवको शव शुक्रबार बिहान घटनास्थलदेखि करिब तीन किलोमिटर तल स्थानीयले देखेपछि सशस्त्र प्रहरीलाई खबर प्राप्त भएको सशस्त्र प्रहरी बलले घटनाबारे जानकारी दिएको छ । अहिले हरदेवको शव परीक्षण प्रक्रियाका लागि राजविराज पुर्याइएको छ ।
मन्त्री लेखकसँगै घटनाबारे जानकारी लिन प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा र निमित्त गृहसचिव जयनारायण आचार्य, मन्त्रालयको शान्तिसुरक्षा महाशाखाका सहसचिव रामचन्द्र तिवारीलगायतका अधिकारीहरु सशस्त्र प्रहरी प्रधान कार्यालय पुगेका थिए ।
बेपत्ता जवान साउँदको खोजीमा कुनै कसर बाँकी नराख्न आग्रह गर्दै मन्त्री लेखकले त्यसका लागि प्रदेश सरकारसित पनि आवश्यक समन्वय गर्न निर्देशन दिए । साउद १३ नं गण पर्सा दरबन्दी भई छिन्नमस्ता वाहिनी मुख्यालयमा र राजवंशी श्रीअन्तु गण इलाम दरबन्दी भई दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा कार्यरत थिए ।