काठमाडौं । घरजग्गा कारोबारमा बैंक स्टेटमेन्ट नचाहिने भएको छ । यसअघि भूमि व्यवस्थापन तथा अभिलेख विभागले जेठ २३ गते घरजग्गा कारोबार गर्दा खरिदकर्ता र बिक्रीकर्ताको बैंक स्टेटमेन्ट अनिवार्य चाहिने गरी निर्देशिका कार्यान्वयनमा ल्याएको थियो । विभागले जारी गरेको निर्देशिकाले समस्यामा रहेको घरजग्गाको कारोबार झनै खस्किने भन्दै प्रधानमन्त्रीको निर्देशन आएपछि निर्देशन संशोधन गरी बैंक स्टेटमेन्ट नचाहिने व्यवस्था गरेको हो । यो व्यवस्था जेठ २५ गतेदेखि लागू भएको छ ।
विभागले बैंक स्टेटमेन्टसम्बन्धी व्यवस्था नै निर्देशनबाट हटाएको छ । खरिदकर्ता, बिक्रीकर्ता तथा एजेन्ट कम्पनीका सञ्चालकले अनिवार्यरूपमा केवाईसी फारम भर्नुपर्ने व्यवस्था पनि निर्देशनले हटाएको छ । यसअघि घरजग्गा खरिद बिक्री कारोबार गर्दा सूचक संस्थाले खरिदकर्ताको बैंक खाताबाट बिक्रीकर्ताको बैंक खातामा कारोबार बराबर रकम जम्मा भएको प्रमाण लिखत साथ संलग्न गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको थियो ।