काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय सिन्धुलीको आयोजनामा कमलामाईस्थित वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
वित्तीय संस्थामा आबद्ध ग्राहक सदस्य तथा अभिभावक र अन्य सरोकारपक्षलाई बचत तथा कर्जा व्यवस्थापनसम्बन्धी जानकारी दिई कर्जाको सदुपयोग र उद्यमशीलताको विकास, स्थानीय स्रोत साधनको प्रयोग गरी आयआर्जन वृद्धि गर्दै न्यून आय भएको वर्गको आर्थिक सामाजिक स्तरमा बृद्धि गर्ने उद्देश्यले कार्यक्रममा आयोजना गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि कमलामाई न.पा. वडा नं.९ का अध्यक्ष विनोद प्रधानले सदस्यहरुलाई धेरै संस्थामा कारोबार नगरी कर्जाको उचित सदुपयोग गरी समृद्ध तथा उद्यमी बन्न सुझाव दिएका थिए । विशिष्ट अतिथि इलाका प्रहरी कार्यालय भिमानका प्रहरी नायब निरीक्षक दिपककुमार पोखरेलले सबैलाई संस्थाको नियमानुसार र राष्ट्र बैंक तथा देशको कानुनबमोजिम सबैलाई उद्यमी बनी आय–आर्जन वृद्धि गर्न बैंक वित्तीय संस्थाले कर्जा प्रवाह गर्ने भएकोले त्यसको सदुपयोग गर्न सुझाव दिए ।
वित्तीय संस्थामा आबद्ध ग्राहक सदस्यहरुले आफूलाई उद्यमी बन्न सिकाएकोमा स्वावलम्बनलाई धन्यवाद दिए । स्वावलम्बनलाई आफ्नो भविष्य देखाउने संस्थाको रुपमा लिएको र अझ बढी सहजरुपमा थप सेवा प्रवाह गरी सहयोग गर्ने अपेक्षा राखेको बताए । शाखा प्रबन्धक जानकी कुमारी बानियाँले वित्तीय संस्थाले ग्राहक सदस्यलाई सहज र सरल तरिकाले कर्जा प्रवाह गर्न र उद्यमी बन्न इच्छुक ग्राहकलाई उद्यम गर्न आवश्यक सर सल्लाह समेत दिँदै आएको र आगामी दिनमा नविनतम सेवा उपलब्ध गराउन संस्था सदैव तत्पर रहेको बताए ।
कार्यक्रममा कर्जा बीमा रकम भुक्तानी तथा एसईईमा उत्कृष्ट स्थान प्राप्त गर्ने सदस्यका छोरा÷छोरीलाई छात्रवृद्धिबापत नगद तथा प्रमाणपत्र वितरण गरिएको थियो ।