काठमाडौँ । सबैतिर सीमाना खुला भएको छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमण बढिरहेको छ । सक्रिय संक्रमितको संख्या पाँच हजारबाट उकालो लागेको छ भने त्यसबाट मानवीय क्षतिको संख्या सयको हाराहारीमा पुग्दैछ । भारत त्यस्तो देश हो, जसले रोकथामका लागि औषधि उत्पादन गर्छ । त्यही देशमा यसरी संक्रमण बढिरहेको छ भने त्यसको असर नेपालमा पर्ने भयो नै । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले गएको हप्ता जारी गरेको तथ्यांकअनुसार त्यसबेलासम्म देशभर कुल पाँच हजार तीन सय ६४ सक्रिय संक्रमित फेला परेका थिए । यो समाचार आउँदासम्म ५५ जनाको त ज्यानै गइसकेको छ । संक्रमणको विस्तारलाई हेर्ने हो भने यसले भयावह रूप लिने देखिन्छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको विवरणअनुसार हालसम्म भारतका २७ वटा राज्य तथा केन्द्रशासित प्रदेशमा संक्रमण फैलिसकेको छ । केरला, गुजरात, पश्चिम बङ्गाल र दिल्लीमा झन् धेरै सङ्क्रमित भेटिएका मन्त्रालयको जानकारीमा उल्लेख भएको छ । केरलामा एक हजार छ सय ७९ गुजरातमा छ सय १५, पश्चिम बङ्गालमा पाँच सय ९६ र दिल्लीमा पाँच सय ९२ संक्रमित छन् ।
छोटो समयमा भएको संक्रमणको विस्तार र मानवीय क्षतिको संख्याले घातकजस्तै देखिन्छ । उल्लिखित प्रदेशमा नेपालीहरूको संख्या अत्यधिक रहने गरेको बताइन्छ । यसमध्येको पश्चिम बङ्गालमा त नेपालीको संख्या ठूलो छ, जसका आधा परिवार नेपालमा छन् । तिनीहरूका आवतजालत सधैँ चलिरहन्छ । खासगरी पश्चिम नेपालमा यतिबेला भारतबाट नेपाली फर्कने सिजन नै हो । उनीहरू आफ्नो खोतीपातीका लागि उताको रोजगारी छाडेर यता आउने गर्छन् । नेपालका सीमामा संक्रमतिहरूको संख्या बढिरहेको अवस्था छ । भारतमा पछिल्ला दिनमा कोरोना संक्रमण ह्वात्तै बढेर दुई दिनभित्र नै २२ जनाको मृत्यु भएको अवस्था छ । यो भनेको सरदर दिनमा १० जनाभन्दा बढीको मृत्यु हो । भारतीय स्वास्थ्य विभागको वेबसाइटका अनुसार २२ मेमा दुई सय ५७ केसहरू मात्रै थिए तर त्यसपछिको नौ दिनमा १४ गुणाले कोरोनाका केसहरू बढेको देखियो । विभागको वेबसाइटअनुसार गत मे ३१ मा बेङ्गलुरुमा ६३ वर्षीय एक प्रौढको कोरोनाका कारण मृत्यु भएको थियो । उनले दुवै खोपसँगै बुस्टर डोज पनि लगाएका थिए तर पनि उनको ज्यान जोगिएन । भारत सरकारले यसका लक्षणहरू ज्वरो, खोकी, छाती दुख्ने वा सास फेर्न गाह्रो हुने बताउँदै त्यस्तो भएमा तुरुन्तै नजिकको अस्पतालमा गएर परीक्षण गराउन अपिल गरिरहेको छ ।
छिमेकी देशको यस्तो अवस्थाको लामो विवरण किन उल्लेख भयो भने नेपाल यससँग सम्बन्धित छ । चार वर्षअघि नेपालले जस्तो क्षति बेहोर्नु प¥यो त्यसको सबैभन्दा ठूलो भाग छिमेकी देशको यस्तो भयावह अवस्थाका कारण भएको थियो । यता अवस्था कस्तो भने खुला नाकाबाट नेपाल आइरहेकाहरूको जाँच गर्ने चिप्स समेत नभएको भनेर समाचारहरू आइरहेका छन् । यस्तो अवस्थामा सरकारले सतर्कता अपनाउन आह्वान समेत गरेको छैन । कोरोनाको परीक्षणलाई सहज पारिए ९० प्रतिशत जोगिने र जोगाउन सकिने भन्ने अघिल्लो पटको संक्रमणकै जानकारी हो । यो फर्मुला विश्व स्वास्थ्य संगठनले नै दिएको हो । के नेपालमा यस्तो जाँचलाई सहज बनाइएको छ त ? उत्तर हुन्छ– छैन । चिन्ताको विषय पनि यही हो । संक्रमित हो कि होइन भन्ने परीक्षणका लागि एउटा चिप्स भए पुग्छ । कम्तीमा राज्यले सबै अस्पताल र स्वास्थ्य चौकीमा यति व्यवस्था गर्न नसक्ने होइन । छिमेकी देशमा संकेत प्रकट हुन थालिसकेको अवस्थाबाट सचेत बनौँ ।