जनकपुरधाम । ६२८औँ सन्त कवीर जयन्तीका अवसरमा १५ नवजोडीको एउटै मञ्चमा दाइजोमुक्त विवाह सम्पन्न भएको छ । विवाहित मध्ये नौ जोडी नेपालका तथा छ जोडी भारतका छन् । मधेस प्रदेशमा दाइजो प्रथाले गहिरो प्रभाव जमाएको हुँदा यो आदर्श विवाहले समाजमा सकारात्मक उदाहरण स्थापित गरेको आश्रमका असुर निकन्द रमैणीले बताए ।
मिथिला नगरपालिका–२ वेलाचापीस्थित सतलोक आश्रममा कवीर प्रकट दिवसका अवसरमा विगत तीन दिनदेखि सञ्चालित समारोहमा सामाजिक, धार्मिक तथा सेवामूलकका साथै विशाल भण्डारा, रक्तदान, निःशुल्क भोजनलगायत कार्यक्रम गरिएका छन् ।
विवाह कार्यक्रम वैदिक मन्त्र उच्चारणसहित १७ मिनेटमा सम्पन्न भएको थियो । कार्यक्रममा सहभागी नवजोडी तथा तिनका अभिभावकले यस किसिमको विवाहले समाजमा सकारात्मक सन्देश प्रवाह हुने प्रतिक्रिया दिए ।
पर्साको वहुदरमाई नगरपालिकाकी उपप्रमुख सुष्माकुमारी कुशवाहाले सतलोक आश्रमले आगामीदिनमा सामाजिक उत्थानका यस्ता कार्यक्रमलाई अझै अगाडि बढाउनुपर्ने बताइन् । सन्त कवीर दिवसका अवसरमा मधेस प्रदेशमा सार्वजनिक विदासमेत दिइएको छ ।