इनरुवा (सुनसरी) । सुनसरी सदरमुकाम रहेको इनरुवा नगरपालिका क्षेत्रभित्रका विद्यालयमा अत्यधिक गर्मीका कारण तीन दिन बिदा दिइएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली निरौलाले बुधबारदेखि यही जेठ ३० गतेसम्मका लागि बिदा दिइएको जानकारी दिए ।
मंगलबार नगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर परी पठनपाठनमा समस्या उत्पन्न भएकाले यहाँका सबै विद्यालयमा बिदा दिने निर्णय गरिएको उनले बताए । उक्त बिदा बर्खे बिदाबाट कट्टा हुने बताइएको छ ।
पछिल्लो केही दिनयता इनरुवासहित पूर्वी नेपालमा अत्यधिक गर्मी बढेको छ । त्यसैगरी इटहरी उपमहानगरपालिकाले समेत गर्मीका कारण एक दिनका लागि सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा गर्ने निर्णय गरेको छ ।
उपमहानगरपालिकाकी कार्यवाहक मेयर सङ्गीता चौधरीले मङ्गलबार एक सूचना जारी गर्दै इटहरी क्षेत्रभित्रका सबै विद्यालयमा बुधबार गर्मी बिदा दिने जनाएकी हुन् । अत्यधिक बढ्दो तापक्रमका कारण विद्यालय सञ्चालनमा कठिनाइ भइरहेको र विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेकाले बिदा दिएको उनले बताइन् । स्थानीय तहको यो निर्णयले विद्यार्थी, अभिभावक र विद्यालय सञ्चालकलाई केही राहत हुने विश्वास गरिएको छ ।