काठमाडौं । देशको अर्थतन्त्रका सूचनाहरू समाजको यथार्थ अवस्थासँग मेल नखाँदा सरकारी निकायहरू नै आम नागरिकको नजरमा अविश्वसनीय बन्दै गएको देखिन्छ । कतिपय अवस्थामा त एउटा निकायले सकारात्मक भनी देखाएको सूचक त्यही सरकारको अर्को निकायले नै पत्याउन नसकेको अवस्था निरन्तर प्रकट भइरहेका छन् । यसले सम्बन्धित निकायको अध्ययन पद्धतिमै खोट रहेको हो कि भन्ने शंका समेत उत्पन्न हुन थालेको पाइन्छ । खासगरी आम नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने महँगीजस्ता विषयमा बजारको अवस्था र सम्बन्धित निकायले प्रक्षेपण गर्नेगरेका सूचकहरूमा तालमेल भएको देखिँदैन । बितेको लामै समयदेखि यस्तो भिन्नता आइरहेको र त्यसलाई भरपर्दो वा बजारको वास्तविक अवस्थासँग मेल खानेगरी सूचना आऊन् भनेर बारम्बार सुझावहरू आइरहे पनि त्यसमा कुनै सुधार आएको छैन । खासगरी आर्थिक गतिविधिसँग त सरकारका सूचना र बजारको वास्तविक अवस्थामा फरक झन्झन् फराकिलो बन्दै जानु वास्तवमा नै दुःखद पक्ष नै भन्नुपर्छ । हालै केन्द्रीय बैंकले सार्वजनिक गरेको, खासगरी बजारको अवस्थाबारेको तथ्यांकले अर्थतन्त्रका सबै सूचकहरू सकारात्मक भनेको छ तर बजारमा कतै पनि भनिएजस्तो सकारात्मकताको प्रतिविम्ब देखिएको पाइएन ।
नेपाल राष्ट्र बैंकको चालू आर्थिक वर्षको १० महिनासम्मको आर्थिक अवस्थाको झलकमा अघिल्लो वर्षको भन्दा महँगी नियन्त्रणमा रहेको, विदेशी मुद्रा सञ्चिति बढेको छ, शोधनान्तर खाता र चालू खाता बचतमा रहेको र रेमिट्यान्स पनि पर्याप्त भित्रिएको बताएको थियो । यसमा अरु तथ्यांक ठीकै होलान्जस्तो विदेशी मुद्रा सञ्चिति बढेको, शोधनान्तर खाता र चालू खाता बचतमा रहेको र रेमिट्यान्स पनि पर्याप्त भित्रिएको सत्य नै होला । तर यी विषय आम नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने विषय होइनन् । आम नागरिकका दैनिकीसँग प्रत्यक्ष सरोकार राख्ने विषय भनेको महँगी नै हो, जो घटेको वा बढेको समाचारसँग उनका सरोकार रहन्छ । बैंकले महँगीको वृद्धिदर घट्दै गएको बताएको छ तर यो भनाइ वा तथ्यांकसँग बजारको अवस्था मेल खाँदैन । बजारमा महँगी भने अघिल्लो वर्षको यही समयको तुलनामा घटेको भनिए पनि यथार्थमा चाहिँ बढेको अवस्था छ । बैंकले सार्वजनिक गरेको तथ्यांकमा २०८२ वैशाख महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति दुई दशमलव ७७ प्रतिशतमा कायम रहेको देखाएको छ । यो अघिल्लो वर्षको तुलनामा घटेको हो । २०८१ वैशाख मसान्तमा मुद्रास्फीति चार दशमलव ४० प्रतिशत कायम थियो । चालू वर्ष दुई दशमलव ७७ प्रतिशत छ जो करिब–करिब आधाउधीकै अन्तर हो ।
बैंकले भनेअनुसार खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति एक दशमलव ५२ र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ४५ प्रतिशतमा छ । यो तथ्यांकले अरु जे भए पनि कम्तीमा खाद्य तथा पेयपदार्थ समूह र गैरखाद्य तथा सेवा समूहको बजार अवस्था घटेको हुनुपर्ने हो । जब घटेको अवस्था हुनुपर्नेमा बढेको त हुनै नहुने हो । तर बजारमा भने राष्ट्र बैंकले घटेको भनेको खाद्य तथा पेयपदार्थ समूहको मूल्य बढेको नै देखिन्छ । नेपाल खुद्रा व्यापार संघले जनाएअनुसार यो वर्षको वैशाख महिनामा चामल, तेल, बेसार, मकै, गहुँलगायत धेरैजसो खाद्यवस्तुको मूल्य बढेको छ । यसमा सबैभन्दा धेरै खाने तेल र बेसारको मूल्य बढेको हो । जस्तो, गएको साउनमा लिटरको तीन सय ७० रुपैयाँ मूल्य रहेको भुटेको तोरीको तेल गएको वैशाखमा बढेर चार सय १० रुपैयाँ कायम भएको थियो । उपभोग्य वस्तुमा सबैको अवस्था यस्तै छ । घटेको भनिएपछि कम्तीमा बढेको त हुन नपर्ने हो । तर उल्टो भएको यो स्थितिको जवाफदेही को हो ? जवाफ आओस् ।