काठमाडौं । राजस्व अनुसन्धान विभागले कर छलीको अभियोगमा नेपाल क्यान मुभ प्रा.लि. र यसका सञ्चालकहरूविरुद्ध एक अर्ब ३६ करोड ८८ लाख ११ हजार पाँच सय रुपैयाँ राजस्व छलि गरेको आरोपमा उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।
विभागले कर छलेको गोप्य सूचना पाएपछि काठमाडौं महानगरपालिका–३२, तीनकुनेमा रहेको कम्पनीको कार्यालयमा छापा मारेको थियो । सो क्रममा कम्पनीले आफ्नो अनलाइन पोर्टलबाट ठूलो परिमाणमा सेवा बिक्री गरिरहेको पाइएको तर, उक्त कारोबार आन्तरिक राजस्व विभागमा पेस गरिएको कर विवरणमा उल्लेख नगरी राजस्व छली गरेको छ । विभागले कम्पनीका सेयरधनी/सञ्चालक जीवन ज्ञवाली, सुदिप आचार्य, मनिष आचार्य, मिठु पौडेल, गंगाबहादुर थापा (सीईओ र अख्तियारप्राप्त प्रतिनिधि) र उपकार्यकारी निर्देशक संगम पौडेलविरुद्ध मुद्दा दायर गरेको हो ।
अनुसन्धानका क्रममा विभागले कम्पनीका सञ्चालक, सेयरधनी, सीईओ र डेपुटी सीईओको बयान लिएको थियो । यस्तै विभागले पोर्टल डट नेपाल क्यान मुभ डटकमको युजर आईडी र पासवर्ड लिएर आर्थिक वर्ष २०७६/७७ देखि २०८१/८२ फागुनसम्मको दैनिब बिक्री विवरणको अध्ययन गरेको थियो । कम्पनीले करयोग्य सेवाबाट जम्मा ७८ करोड २८ लाख ४६ हजार रुपैयाँभन्दा बढी आम्दानी गरेको देखिएको छ । तर, सो आम्दानीमा मूल्य अभिवृद्धि कर र आयकर दुबै नतिरी कर छली गरिएको विभागको भनाइ छ ।
विभागका अनुसार कर, जरिवाना, ब्याज र दस्तुरसहित कुल बिगो ६८ करोड ४४ लाख रुपैयाँ कायम गरिएको छ । सो रकममा १०० प्रतिशत जरिवाना थप गरी एक अर्ब ३६ करोड ८८ लाख रुपैयाँ बराबरको दाबी गर्दै अदालतमा अभियोगपत्र दायर गरिएको हो । कम्पनीका सञ्चालक तथा सीईओ गंगाबहादुर थापा, सेयरधनी तथा सञ्चालक मनिष प्रसाद आचार्य र डीसीईओ संगम पौडेलले आफूविरुद्धको तथ्य प्रमाण नष्ट गर्नसक्ने र भागी फरार हुनसक्ने जोखिम देखिएको भन्दै हिरासतमै लिई बाँकी कार्य गरिएको विभागले जनाएको छ ।