काठमाडौं । नेकपा एमालेबाट अलगिएर स्वच्छ र सिद्धान्तनिष्ठ पार्टी बनाउने नाममा राष्ट्रिय एकता अभियान गठन गरेका बामदेव गौतमका अत्यन्त निकट सहयोगी एवं उक्त अभियानका उपाध्यक्ष ओम उपाध्यायविरुद्ध केन्द्रीय अनुसन्धान ब्युरोमा ठगीको उजुरी परेको छ ।
रातोपाटी डटकमका संस्थापक सम्पादक ओम शर्माको नाम र नाता सम्बन्धको दुरुपयोग गरेर भूमि आयोगको संयोजक बनेपछि काठमाडौंमा जग्गा उपलब्ध गराइदिने प्रलोभन देखाएर विभिन्न व्यक्तिसँग करोडौँ रुपैयाँ ठगेर बालाजु क्षेत्रमा भव्य महल बनाउँदै गरेको उपाध्यायविरुद्ध रातोपाटीका संस्थापक सम्पादक ओम शर्माले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा उजुरी गरेका हुन् ।
ओम शर्माका नाममा सर्वसाधारणलाई थली क्षेत्रमा ठग्दै हिँड्ने बामदेवका उपाध्यक्ष ओम उपाध्यायले शर्माका जेठान तथा पूर्वअर्थमन्त्री जनार्दन शर्मा र रातोपाटीको नाम जोडेर ठग्दै हिँडेको रातोपाटीका संस्थापक संस्थापक शर्माले बताएका छन् ।
उपाध्यायले शर्माको परिचयको दुरुपयोग गरेर बनेपास्थित पेट्रोल पम्पबाट डिजेल समेत उधारो लिएर भुक्तानी नगरेको समेत खुलेको छ । आफ्नो नाम लिएर सर्वसाधारणलाई ठगी गर्दै हिँडेको पाएपछि शर्माले छानबिन र कारबाहीको माग गर्दै सीआईबीमा उजुरी दिएका हुन् ।