काठमाडौं । सरकारले धोबीखोला कोरिडोरमा अतिक्रमित सार्वजनिक जग्गा फिर्ता ल्याउने तयारी थालेको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकाका नदी किनारमा मिचिएका सार्वजनिक जग्गाबाट अतिक्रमण हटाउनका लागि काम अघि बढाइरहेको छ ।
सोहीअनुरूप धोबीखोला क्षेत्रमा पनि अतिक्रमित जग्गा छिट्टै फिर्ता ल्याउने गरी काम गरिरहेको प्राधिकरणले जनाएको छ । उपप्रधान एवंं सहरी विकासमन्त्री प्रकाशमान सिंहले अतिक्रमित सार्वजनिक जग्गा कानुनसम्मत फिर्ता ल्याउनका लागि तत्काल आवश्यक कार्यअघि बढाउन प्राधिकरणलाई निर्देशन समेत दिएका छन् । मन्त्री सिंहले बुधबार धोबीखोला कोरिडोरको अनुगमन गर्दै प्राधिकरण र बागमती सभ्यता एकीकृत समितिलाई धोबीखोलालाई स्वच्छ बगाउन र अतिक्रमित जग्गा फिर्ता ल्याउन निर्देशन दिएका हुन् । उपप्रधानमन्त्री सिंहसँगै मन्त्रालयका सचिव गोपाल सिग्देल, काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त जानुका ढकाल, काठमाडौं जिल्ला आयुक्त सुवास बस्नेत, अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका प्रतिनिधि टोलीले बुधबार बिहान सो क्षेत्रको निरीक्षण गरेको थियो ।
टोलीले धोबीखोलामा मन्त्रालयअन्तर्गत भइरहेका कामहरू, ढल व्यवस्थापन र अतिक्रमित सार्वजनिक जग्गालगायतको अवलोकन गरेको हो । वर्षा लागेसँगै धोबीखोलाले पार्न सक्ने असर न्यूनीकरणका लागि पनि आवश्यक काम अघि बढाउन सहरी विकासमन्त्री सिंहले मन्त्रालय मातहतका निकायलाई सचेत गराएका छन् । उपप्रधानमन्त्री सिंहलाई बुढानीलकण्ठ भद्रकाली मन्दिरदेखि कपन साततलेसम्मको वस्तुगत अवस्थाबारे काठमाडौं उपत्यका विकास प्राधिकरणले जानकारी गराएको थियो । काठमाडौं उपत्यकाको नदी र कोरिडोरको विषयलाई सहरी विकास मन्त्रालयअन्तर्गतको उपत्यका विकास प्राधिकरण र बाग्मती सभ्यता एकीकृत विकास समितिले हेर्दै आएको छ ।
उपप्रधानमन्त्री सिंहले सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै काठमाडौं उपत्यकाका नदीनाला सफाइ र सार्वजनिक सम्पत्तिको संरक्षणमा जोड दिँदै आएका छन् । यस वर्षको बजेटमा समेत सहरी विकास मन्त्रालयले उपत्यकाको नदिनाला संरक्षण र कोरिडोर विस्तारमा तीन अर्बभन्दा बढी बजेट विनियोजन गरेको छ । धोबीखोला कोरिडोरलाई व्यवस्थित गर्ने, सो क्षेत्रमा मिचिएका सार्वजनिक जग्गा अतिक्रमण हटाउने विषयमा काठमाडौं उपत्यका विकास प्राधिकरणले उपप्रधानमन्त्री सिंहलाई वस्तुस्थितिबारे जानकारी गराएको काठमाडौं जिल्ला आयुक्त बस्नेतले जानकारी दिए ।