काठमाडौ । एमेच्योर गल्फर राहुल विश्वकर्माले सूर्य नेपाल गल्फ टुर २०२४–२५ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन् ।
समग्रमा २१ अन्डर दुई सय ६७ को स्कोरमा नेपाल नम्बर एक प्रोफेसनल गल्फर भुवन नगरकोटीलाई दुई स्ट्रोकले हराउँदै करियरकै उपाधि जितेका हुन् । राहुलले यो सिजनको दोस्रो उपाधि जितेका हुन् । यसअघि उनले सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपन जितेका थिए । यसैगरी समग्रमा १९–अन्डर २ सय ६९ को स्कोरमा भुवन नगरकोटी दोस्रो भए । उनले नगद तीन लाख रुपैयाँ प्राप्त गरेका छन् । एमेच्योर सद्भाव आचार्य समग्रमा १८–अन्डर दुई सय ७० को स्कोरमा तेस्रो भए । साबिक विजेता सुवास तामाङ समग्रमा १५–अन्डर दुई सय ७३ सहित चौथो भए । उनले नगद एक लाख ८५ हजार प्राप्त गरेका छन् । भुटानका एमेच्योर निम दोर्जी तामाङ पाँचौँ स्थानमा रहे भने धरानका प्रो निरज तामाङले छैटौं भए । उनले एक लाख २५ हजार नगद हात पारे । उनी आगामी सिजनको नम्बर एक खेलाडी बनेका छन् ।