काठमाडौं । विसं २०८२ हालको पत्रकारिताका बारेमा त १२ भाइको सन्दर्भ र अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘फ्रड’, ‘फेक’ र ‘चिटिङ’को संज्ञा दिइएको ‘प्रेसमिट’ पछि आमजनका हातहातका मोबाइलबाट सबै छर्लङ्ग भइहाल्छ । तथ्यमा यो दुर्भाग्यपूर्ण अध्याय हो ।
पञ्चायतकालदेखि बहुदलकालसम्म लगातार २५ वर्ष सक्रिय पत्रकारिता (लेखन) गरेको नाताले यस प्रश्नमा आफ्ना केही अनुभवसिद्ध जागरण नयाँ पुस्तालाई पाठ्यक्रम अभिलेख गर्न चाहन्छु । हुन त ‘किन चाहियो पत्रकार र कर्मचारीको संगठन ? भुक्न र लुट्न’ ? यस्तो भन्दै २५ वर्ष देखेको भोगेको सबै वर्णन गर्न एउटा मोटो पुस्तक आवश्यक हुन्छ । यस्ता हजार–१२ सय शब्दका स्तम्भमा सम्भव हुन्न । तथापि महाभारतको सार गीता भएजस्तै शैलीमा यहाँ अलिकति ल्याउने कोसिस गरेको छु ।
मेरो पत्रकारितामा प्रवेशको प्रथम पाइला आज सम्झिँदा स्वान्त सुखाय हाँसो आउँछ । मेरो कारावासकालको तस्बिर ऐमेनेस्टीको जर्नलमा प्रकाशित भएका कारण एउटै राजकाज मुद्दाका नक्खुको ओरालोमा मारिएका चार सहिदमा पाँचौँ हुन नपाएकोलाई प्रदिप गिरिले ‘जिउँदो सहिद’ लेख्ने बोल्ने गर्नुभएको कुरा यसै स्तम्भको अघिल्लो अंकमा आइसकेकै हो । यसबाट मूल परिचय राजनीतिक योद्धाको हुन्छ । बीपीको आदेशले सभापति कृष्णप्रसाद भट्टराईबाट मासिक चार सय रुपैयाँ (त्यो समय बागबजारको पक्की घरको कोठाभाडा १३ रुपैयाँ) भत्ता बन्दोबस्त भएकोमा नपुग उपार्जनका लागि पत्रकारिता सिक्न सल्लाह भयो । किशोर नेपाल देशान्तर साप्ताहिक चलाउँदै गरेको प्रदिप गिरीमार्फत सभापति भट्टराईसँग चिनजान विकसित भएको थियो । उसलाई जमलस्थित पार्टी कार्यालयमा बोलाएर मलाई पत्रकारिता सिकाउन जिम्मेवारी दिनुभयो । उसले भोलिपल्ट ११ बजे देशान्त अफिस (पुतलीसडकतिर कतै) आउन भन्यो । ठीक ११ बजे पुगेँ । ‘राजधानीमा कति वेश्या छन् र तिनको हालत के छ ? रिपोर्ट गर्नुहोस्’ पहिलो काम दियो । यति कुरा हुँदासम्म किशोर र म उभिएकै थियौँ । ह्वास्स गनाएको वाक्क आउलाजस्तो भयो । ‘यो दुईपैसे मानिसलाई किसुनजीले चिन्नुभएकै रहेनछ’ मनमनै भनेँ । फाँसी जन्मकैदको मुद्दा खेपेर राजनीतिक योद्धा त्यसमा पनि किसुनजीजस्तो सन्त नेताको सिफारिस पहिलो सिकारु काम दिँदा ‘दलीय राजनीतिको वर्तमान अवस्था’, ‘नेपालको शिक्षा नीति र नयाँ पुस्ता’जस्ता आदि इत्यादि कुनै पनि काम दिन सक्थ्यो । तर वेश्याहरूको खोजी गर्ने पहिलो काम दियो । ‘विवेकहीन पशुसमान’ यो मानिस अनुहारको पशु चेतना हो भन्ने बुझेर नाक थुन्दै किशोरको अफिसबाट निस्केँ । किसुनजीलाई रिपोर्ट गरिरहनु आवश्यक ठानिनँ । तर अब मलाई पत्रकारिताको भेलमा हेलिनु अनिवार्यजस्तै भयो । एकप्रकारले चुनौती पनि ।
बीपीको स्वर्गारोहणपछि यो २०४०÷४१ सालतिरको कुरो हो । त्यहाँसम्मको नेपाली पत्रकारिताको इतिहास नियाल्दा तीनवटा तथ्य पाठ्यक्रममा भेटिए ।
(१))श्री ३ प्रधानमन्त्री देवशमशेरले विसं १९५८ जेठमा पहिलो पटक गोरखापत्र प्रकाशन अनुमति निर्देशन ‘हाम्रा बारेमा प्रशंसा नछाप्नू’ आदेश गरेका रहेछन् । त्यो एउटा चेतनाको उचाइ नै थियो ।
(२) विसं २०१६ सालमा बीपी प्रधानमन्त्री हुँदा भेट्रान कम्युनिस्ट पत्रकार मदनमणि दिक्षित (दिवंगत प्राज्ञ व्यक्तित्व)को ‘समीक्षा साप्ताहिक’लाई सरकारका कमजोरी औँल्याउन मासिक चार सय रुयैयाँ (आजको मितिको लाखौँ) दिने गर्नुभएको थियो । यो जागरण निश्चय नै देवशमशेरको भन्दा थप उचाइको थियो ।
(३) पाठ्यक्रम अलिकति÷रोचक घोचक खालको पनि थियो । त्यसबखत पञ्चायतइतर राष्ट्रिय राजनीतिमा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, टंकप्रसाद आचार्य, डिल्लीरमण रेग्मी शिखर नेतृत्वमा थिए । उहाँहरूलाई जाँचबुझका गुप्तचरहरूले पत्रकारको भेषमा अन्तरवार्ता मागेर हैरान गर्दा रहेछन् । त्यसबाट जोगिन पहिले टंकप्रसाद आचार्यले र त्यसपछि कृष्णप्रसाद भट्टराईले रोचक उपाय निकाल्नुभएछ । अन्तरवार्ता लिन आउने पत्रकारलाई बैठक कक्षमा राखेर चिया पिलाएर लगौटी नलगाएको धोती उचालेर महादेव देखाई ‘लु सोध के प्रश्न छ ?’ भन्नुहुँदो रहेछ । यसरी दुई–चार पटक भागाभाग भएपछि दुवै नेता हाँसेछन् ।
यसरी किशोर नेपालको ‘देशान्तर’ अफिसबाट नाक थुन्दै निस्केको मेरो पत्रकारिताको यात्रा कलम समाउने औँला सुन्निने गरी कथा व्यथा अगाडि बढ्छ । जनमत संग्रहपछिको पञ्चायतको अलिकति खुकुलो अभ्यासमा आम टाठाबाठा पञ्चहरू पत्रिका दर्ता गर्दै प्रेस खडा गरेर घर बनाउने या माथिमाथिसम्म चाकरी पु¥याएर राजदूत, रा.प.स. मन्त्री नभए पनि कमाउधन्धाको ठूलो साहु त अवश्य हुने २०३८ सालदेखि २०४६ सालसम्म झण्डै आठ वर्ष एकप्रकारले साप्ताहिक समाचारपत्रहरूको बाढीजस्तै नै आयो । एक अक्षर समाचार सम्पादकीय लेख्न जानेको छैन तर धाकधक्कु र चुरीफुरी भने योग्य प्रकाशक सम्पादकजस्तो देखाउनै प¥यो । यसमा मलाई काम गर्न भ्याईनभ्याइै हुने नै भयो । ठूलो साइजका आठपाते हप्तामा दुईटा साप्ताहिक ठेक्का लिइदिन्थेँ । मेरो काम हुन्थ्यो, काल्पनिक नामका समाचार विचारबाट पेज भरिदिने ।
पञ्चायतकालको पत्रकारितामा लेखकीय प्रतिबन्ध झेलेको (पत्रिका खारेजी, सम्पादक जेल) र राजनीतिक हिसाबको कथा लेख्दा कुटाइ खाएर राजनीतिक क्षति भएको लगायतका तमाम अनुभवमा यहाँ विवरणमा जान्न । एउटा तथ्यचाहिँं किटेर भन्न सक्छु भने पञ्चायतकाल २०४६ सालसम्मको पत्रकारिता आजको जस्तो डुङडुङ्ती गनाएको थिएन । त्यसबखत पत्रकारजगतको ठूलो इज्जत ताकत हुन्थ्यो । पत्रिकाको कुनै कुनामा अलिकति हेराफेरी, बेइमानी, घोटाला, भ्रष्टाचार, ठगी, गुण्डागर्दीको समाचार आयो राज्यसत्ताका सम्बन्धित सम्पूर्ण अंगहरू हर्कतमा आइहाल्दथ्यो । ‘राष्ट्रपतिको किर्ते हस्ताक्षर मुद्दा अदालतमा’ जस्ता समाचार पञ्चायतकालमा कल्पना पनि हुन सक्दैन थियो । आजका पत्रकारलाई देश बेच्ने, जनता बेच्ने दलीय नेताहरूको भरिया बन्नुपर्ने बाध्यता (पेटको कुरो) जस्तो पञ्चायतकालका पत्रकारलाई थिएन ।
यस्ता अनगिन्ती विम्ब प्रतीक उदाहरण यसखालको स्तम्भमा ल्याउन सम्भव हुन्न । एक–दुई उदाहरणीय अनुभव अभिलेख गरेर सन्तोष लिन्छु ।
एउटा उदाहरण बुधबार/बुधबार गोरखापत्रमा मेरो एउटा स्तम्भ (कलम) आउँथ्यो । प्रधान सम्पादक बालमुकुन्द देव पाण्डे र अध्यक्ष डा. गोविन्द भट्ट (वामपन्थी बौद्धिक) थिए । सभामुख रामचन्द्र पौडेल (कांग्रेस) थिए । कांग्रेस राप्रपा गठबन्धन बहुमतको सरकार थियो । प्रमुख प्रतिपक्षी एमालेले एउटा बिललाई साधारण बहुमतले पास गर्न नदिन झण्डै दुई महिना संसद् अवरुद्ध गर्यो । सभामुखलाई बैठक चलाउन ठूलो चुनौती भयो । ‘एमालेको जानकारीबेगर कुनै पनि बिल पास गर्न दिन्नँ’ एमालेलाई भनेर संसद् खुलाएर र रातारात कुनै सुइँको नदिई बिल पास गराए । यसै रिस खप्न नसकेर गोल्छे सार्की (एमाले सांसद)ले रामचन्द्रलाई गाला चड्काएका (डाम बस्नेगरी) सभामुख इतिहासमा अभिलेख छ । यसमा मैले आफ्नो स्तम्भमा विमल मित्रको कथाकी पात्र (सात वर्षकी बुहारी)ले ससुराका अगाडि फ्रक उचालेर टाउको (लाज) छोप्ने प्रयास गर्दा कट्टु नलगाएकी, होस नपाएकी (महादेवी छर्लङ्ग) जस्तो भयो, रामचन्द्रको सभामुखको भूमिका लेखेको थियो । सभामुखको मर्यादामा क्षति भन्दै रामचन्द्रले अध्यक्षलाई नसिहत गरेछन् । त्यसमा प्रधान सम्पादक पाण्डेले ‘रेवतीजीको लेखले सभामुखको मर्यादामा क्षति होइन कि बल्की संसद्को इज्जत जोगाइदिएको छ’ भनी जवाफ फर्काइदिएपछि मामला तैँ चुप मैँ चुप भयो ।
यसमा मैले भन्न खोजेको बहुदलकालका प्रथम केही वर्षसम्म पनि पत्रकारिताको एउटा धार ताकत अस्तित्वमा थियो । आजको जस्तो प्राय सबै जर्ज स्वराज (अमेरिकी खुफिया)को हड्डीको स्वादमा भुक्ने भइसकेको थिएन ।
राष्ट्रघात–जनघात पतन उन्मुख संकेत गर्ने एउटा प्रतीक उदाहरण अभिलेख गरेर प्रस्तुत आलेखमा बिट मार्छु ।
०५१ गिरिजाको मध्यावधिले अस्थिरता र अराजकताको बीजारोपण भइसकेको थियो । माओवादी जंगल पसेका केका लागि कहाँबाट ? भन्ने त सबै छर्लङ्ग पाठ्यक्रममा आइसकेकै छ ।
कांग्रेस राप्रपा सरकारको प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलको नेता एमाले अध्यक्ष मनमोहन अधिकारी थिए । म कांग्रेस भए पनि रत्नपार्क ट्रलीबसबाट जोरपाटीतिर जाँदा मनमोहन अधिकारीलाई बसको डन्डी समातेर उभिरहेको भेट्दा आदरपूर्वक सिट छोडिदिने गरेको बाहेक चिनजान होइन । ‘जनमञ्च साप्ताहिक’ नामक म्याग्जिन निकै पपुलर थियो । त्यसबखतसम्म निजी क्षेत्रका दैनिकहरूको खेती फस्टाइसकेको थिएन । जनमञ्चमा छापिएका समाचार विचारको प्रभाव व्यापक हुन्थ्यो । सोल्टीमा क्यासिनो भित्र्याउने अमेरिकी नागरिक आरडी टटल पत्रिकाका आर्थिक मालिक थिए । अमृत साइन्स कलेजका प्रोफेसर किशोल सिलवाल नेपाली नागरिकता प्रकाशकको वैधानिकता थियो । गोरखापत्रबाट रिटायर्ड सम्पादक मुकुन्द पराजुली प्रधान सम्पादक र मलाई संयुक्त सम्पादक बनाइएको थियो । म्याग्जिन भएकाले ब्यान्डिङ, कटिङका लागि बिहीबार बजारमा आउने पत्रिकाको अन्तिम सामग्री मंगलबार बेलुकासम्म प्रेसमा पुगिसकेको हुनुपर्दथ्यो । प्रमुख प्रतिपक्षी दलको नेता मनमोहन अधिकारीको समसामयिक अन्तरवार्ता तयार गरेर प्रेसमा गइसकेको थियो । रुसमा एउटा ‘कु’ भएर गेन्नाडी संसारभरि भाइरल भए । दुनियाँभरका कम्युनिस्ट पार्टी र तिनका नेताहरूले रातारात आ–आफ्ना धारणा र लाइन सार्वजनिक गरे । यस्तोमा हाम्रो देशको प्रमुख प्रतिपक्षी दल (कम्यूनिस्ट)को संसदीय नेताको कुनै दृष्टिकोण प्रतिक्रियाविनाको अन्तरवार्ता बजारमा आउनु एकखालको बेइज्जतिको कुरो हुन्थ्यो । प्रणाली राष्ट्रिय राजनीतिकै पोल खुल्नेजस्तो कुरो हुन्थ्यो ।
‘मनमोहनजीको अन्तरवार्ता सुधार्छु । छाप्नलाई केही ढिला गर्नुपर्यो’, प्रधान सम्पादक पराजुलीलाई भनेँ । राससको महाप्रबन्धक बन्न भोका कांग्रेसीहरूको गोजी भर्ने सुरमा रहेका पराजुलीले भने, ‘आ ! सुवेदीजी गणेशमान भट्टराईको अन्तरवार्ता बिग्रिने भए मिहिनेत गर्नुहोस् भन्थेँ । मनमोहन कम्युनिस्ट नेताको अन्तरवार्ता बिग्रेर तपाईँ कांग्रेसलाई केको परिलो ?’
मैले मकुन्दजीलाई भनेँ, ‘होइन अहिले म कांग्रेस नभएर एउटा पत्रकारको भूमिकामा छु । पत्रकारिताको धर्म राष्ट्रिय नेतृत्वको छवि धमिल्याइदिने हुनुहुन्न’ भनेर धेरै मिहिनेत गरेर अधिकारीको अन्तरवार्ता सुधारेँ । एउटा कांग्रेस भएर आफ्नो अन्तरवार्ता बिग्रिन नदिएकोमा पिठ्युँमा हात थपथपाउँदै स्याबासी पनि दिनुभयो ।
मेरो निष्कर्ष पाठ्यक्रम बहुदल आइसकेपछिको पत्रकारितामा यतिमात्र लक्ष्मणरेखा निर्वाह भएको भए शीर्षकमा आएको जस्तो गाली अवश्य बेहोर्नु पर्दैन थियो । अस्तु । चेतना भया ।