काठमाडौं । एक सय वर्षलाई पुग्ने धौवादी फलाम खानी सञ्चालन गर्न अझै कम्तीमा तीन वर्ष लाग्ने भएको छ । पूर्वी नवलपरासी जिल्लामा रहेको उक्त खानीमा ९९ मिलियन टन फलामको धाउ भण्डारण रहेको अध्ययनले पुष्टि गरिसकेको छ ।
जमिनभित्र रहेको फलामको परिमाण र त्यसले नेपालको माग धान्ने समय तय भए पनि उत्खनन्का लागि भने आगामी २०८५ साल अगाडि नसकिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
उक्त फलाम खानीको उत्खनन् गर्ने जिम्मा सरकारले धौवादी फलाम कम्पनी लिमिटेडलाई दिएको छ । तर, स्रोत, साधन र कानुनी अवस्थाको कारण तीन वर्ष अगाडि उत्खनन् गर्न नसकिने उद्योग मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटेर जानकारी गराएको छ ।
उद्योग मन्त्रालयको जानकारीपछि प्रधानमन्त्री ओलीले २०८५ साल अगाडि नै सो क्षेत्रको फलाम÷स्टिल उत्पादन सुरु गर्न निर्देशन दिँदै सरकारले स्रोत, साधन र कानुनी सहजीकरण गर्ने प्रतिबद्धता जनाएका थिए । उक्त क्षेत्रको फलाम खानी सञ्चालन गर्न सकेमा नेपाल फलामका लागि आत्मनिर्भर मात्र हुने छैन फलाम खरिदका लागि विदेशिने गरेको रकमको पनि बचत हुनेछ । अहिले नेपालले अर्बौ रुपैयाँ खर्चेर फलाम आयात गरिरहेको छ । उक्त स्थानमा फलाम खानी रहेको केही वर्ष अगाडि नै पुष्टि भए पनि स्रोत अर्थात पैसाको अभावमा नेपालले उत्खनन्को कामलाई तीव्रता दिन सकेको छैन ।
केही दिन अगाडि चीनले नेपालको दैलेख जिल्लामा एक सय १२ दशमलव एक अर्ब घनमिटरको प्राकृतिक मिथेन ग्यासको भण्डार देखिएको पुष्टि गरेको थियो । दैलेखको अन्य क्षेत्रमा पनि त्यस्तै प्राकृतिक ग्यासको भण्डारण रहेको प्राविधिकहरूले अनुमान गरेका छन् । चीनको चाइना जियोजोलिकल सर्भेले उक्त प्रतिवेदन दिएको थियो । नेपालमा ग्यास, पेट्रोलियम पदार्थ, फलाम खानी उत्खनन गर्न सकेमा वर्षेनी अर्बौँ रुपैयाँ विदेशिनबाट रोकिने छ । ती दुवै खानीको बारेमा ब्रिफ लिएपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूले एक वर्षभित्रै ग्यासको उत्खनन् गरी प्रयोगमा ल्याउनेगरी काम सक्न निर्देशन दिएको जानकारी गराएका छन् । तर, चीनले भने यही २०२५ को डिसेम्बरभित्रमा मात्र दैलेखको खानीको बारेमा विस्तृत प्रतिवेदन दिनेछ । चीनले अन्तिम प्रतिवेदन नदिई प्रधानमन्त्री ओलीले उत्खनन्को समयसीमा तोकिनुलाई कतिपयले हतारको संज्ञा दिएका छन् ।
उद्योग मन्त्रालयले तीन वर्षभित्रमा फलामखानी सञ्चालन गर्न सकिने भने पनि धौवादी फलाम खानी कम्पनीले भने अगामी दुई वर्ष अर्थात् २०८४ सालबाट उक्त फलाम खानी सञ्चालन गर्न सकिने जनाएको छ । फौवादी फलाम खानी सञ्चालन गर्न आर्थिक र प्राविधिकरुपमा सम्भव भएपछि सरकारले उत्खनन्लाई प्राथमिकतामा राखेको हो । उक्त खानी सञ्चालनमा आउँदा दैनिक झण्डै २५ सय जनाले प्रत्यक्ष रोजगारी पाउने छन् । यद्यपि लगानीको मोडल भने टुंगो लागिसकेको छैन । त्यही भएर प्रधानमन्त्री ओलीले बढी चासो दिएका हुन् ।