काठमाडौ । करिब एक दशकदेखि कायम रहेको इन्धनको खोजी कार्यले ठोस उपलब्धिसहित ऐतिहासिक फड्को मारेको छ । हाल अध्ययनले देखाएअनुसार पश्चिम नेपालको एउटा जिल्ला दैलेखको जलजलेको आसपास क्षेत्रमा एक सय १२ अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको फेला परेको छ । बाहिरबाट आयात गर्नुको विकल्प नरहेको इन्धन आफ्नै देशभित्र यतिठूलो परिमाणमा फेला पर्नु भनेको देशका लागि धेरै नै महत्वको विषय हो । एउटा छिमेकी देश चीनको सरकारी संस्था चाइना जिओलोजिकल सर्भे र सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले संयुक्तरूपमा दशकअघिदेखि गरेको अन्वेषणले यो परिमाणको ग्यास रहेको पुष्टि गरेको हो । जानकारहरूको भनाइमा यो अध्ययन अर्थात् प्रतिवेदनअनुसार एक वर्षभित्र नै व्यावसायिक उत्पादन सुरु गर्ने अवस्था देखिन्छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री नेपालको ऊर्जा भविष्यलाई आत्मनिर्भरता र स्वदेशी स्रोतमा आधारित बनाउने सपना अब सम्भावनाको चरण पार गर्दै यथार्थतिर उन्मुख भएको अवस्था हो यो । पहाडी जिल्ला दैलेखको जलजले क्षेत्रमा मिथेन ग्यासको विशाल भण्डार भेटिएको चिनियाँ टोलीको प्रारम्भिक प्रतिवेदनले यो क्षेत्रमा कुल चार सय ३० अर्ब घनमिटर ग्यास रहेको भेटिएको हो ।
मन्त्री भण्डारी नै भन्छन्, ‘आगामी एक वर्षभित्र व्यावसायिक उत्पादन सुरु गर्न सरकारले गृहकार्य गरिरहेको छ, ग्यास उत्पादनले नेपालको इन्धन आयातमा भारी कटौती गर्नुका साथै हजारौँ स्थानीयलाई प्रत्यक्ष–अप्रत्यक्षरूपमा रोजगारी सिर्जना हुन्छ, दैलेखको ग्यासले नेपाललाई ऊर्जामा आत्मनिर्भर बनाउन टेवा पुर्याउनुका साथै राजस्व वृद्धि र कुनै मुलुकमाथिको परनिर्भरता कम गर्न ठूलो सहयोग पुग्नेछ, हाल भइरहेको अध्ययन चीन सरकारको पूर्ण अनुदानको पाइलट प्रोजेक्ट हो । चीन सरकारको जियोलोजिकल सर्भेको आर्थिक तथा प्राविधिक सहयोगमा यो अध्ययन भइरहेको यो प्रोजेक्टको प्रारम्भिक लागत अनुमानित खर्च दुई अर्ब ५० करोड छ । यो अध्ययन टोलीका अनुसार दैलेखका साथै दाङ, पाल्पा र सुनसरी जिल्लामा पनि पेट्रोलियम पदार्थको भण्डार रहेको पाइएको छ । प्रतिवेदन भन्छ, ‘यी जिल्लामा सर्भे, अन्वेषण र ड्रिलिङ गर्न चार वर्ष लाग्नेछ, बजेट भने दुई अर्ब ७५ करोड नेपाली रुपैयाँ । दैलखसँगै दाङ, पाल्पा र सुनसरीमा पनि पेट्रोलियम पदार्थको भण्डार रहेको देखिनु अर्को महत्वपूर्ण पक्ष हो । यो भनेको नेपालको भूमिमा पेट्रोलियम पदार्थको भण्डारण भरिपूर्ण मात्रामा छ । केवल यसको सर्भे, अन्वेषण र ड्रिलिङ गर्न र दैलेखकै जस्तो परिणाम आयो भने यो प्राप्ति धेरै ठूलो हुनेछ ।
दैलेखमा चिनियाँ अध्ययन टोलीले २०७८ वैशाख २८ गतेदेखि ड्रिलिङ सुरु गरेर २०८२ वैशाखमा नै एउटा परिणाम देखायो । यो अनुसन्धानमा ड्रिलिङ मात्रै चार हजार १३ मिटर गहिराइमा पुर्याएको बताइएको छ । त्यसपछि मात्रै उत्खनन कार्य सुरु भएको थियो । २०८० को प्रारम्भदेखि संकलन गरिएका नमूनाको परीक्षणमा एक अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डारण रहेको पुष्टि भएको हो । निश्चय नै यस्ता अन्वेषणहरू तुरुन्तै हुने कुरा होइनन्, समय लाग्छ नै । तर सवाल के हो भने सम्भावना देखिएका ठाउँमा विस्तृत अन्वेषण र ड्रिलिङ सुरु गरिहालियोस्, ता कि समय खेर नजाओस् । हाल सम्पन्न भएको अन्वेषणमा प्रारम्भिक अनुमानअनुसार यो क्षेत्रमा कुल चार सय ३० अर्ब घनमिटर ग्यास हुने प्रक्षेपण गरिएको छ भने सम्भावना देखिएका अन्यत्र पनि रित्तोहात फर्कन पर्दैन भन्ने सन्देश आएको छ । अब चाँडै सरकारले फेला परेको ग्यासको यो परिणामलाई उपभोगमा परिणत गर्न आवश्यक छ । नेपालमा देखिएको इन्धनको यस्तो भण्डारण विल्कुलै नयाँ हो । यसलाई प्रयोगमा ल्याउन जस्तासुकै चुनौती भए पनि सरकार तत्कालै यसतर्फ लाग्न जरुरी छ ।