काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले विदेशमा अध्ययनका लागि जाने विद्यार्थीहरूले भुक्तानी गर्नुपर्ने भिसा तथा शैक्षिक शुल्कको भुक्तानी मुक्तिनाथ विकास बैंकबाट गर्न सकिने सेवाको सुरुवात गरेको छ । एक्सपर्ट एजुकेसन तथा भिसा सर्भिस प्रालि महाराजगञ्ज र मुक्तिनाथ विकास बैंकबीच एक सम्झौता गरी शैक्षिक शुल्क भुक्तानीसम्बन्धी कार्यको सुरुवात गरेको हो ।
यो सेवाअन्तर्गत उच्चशिक्षा अध्ययनको लागि विदेश जान चाहने नेपाली विद्यार्थीहरूले भिसा फि, स्याट, सेभिज फि, पीटीई इक्जाम फि, एप्लिकेसन फि र जिम्याटलगायतका शैक्षिक शुल्कहरू मुक्तिनाथ विकास बैंकबाट भुक्तानी गर्न सक्नेछन् । यो सेवा हालको लागि बैंकको महाराजगञ्ज र कमलादी शाखाबाट सुरु गरिएको छ ।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिजा नेटवर्कअन्तर्गतको जुनसुकै बैंकको एटीएमबाट रकम झिक्दा विशेष छुटको व्यवस्था गरिएको छ । बैंकले हालै मोबाइल एक फाइदा अनेक लिनसक्ने ‘मुक्तिनाथ फाइदा एप’ सञ्चालनमा ल्याउनुको साथै अन्तरदेशीय क्यूआर भुक्तानी सेवा पनि सञ्चालनमा ल्याएको छ । त्यसैगरी मोबाइल बैंकिङ, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मालगायतका अन्य कार्यहरू बैंकको शाखामा उपस्थित नभई घरबाट नै गर्न सकिने व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ ।