काठमाडौं । ‘माथिमाथि शैलुङ्गेमा चौँरी डुलाउनेलाई’ भन्ने बोलको गीतले एक पटक निकै तहल्का मच्चाएको थियो र अहिले पनि यो गीत धेरैको मुखबाट गुनगुनाइएको सुनिन्छ । यो गीत एक किसिमले सदाबहारजस्तै भएको छ ।
यो गीत सुन्दा लाग्थ्यो कि गीतमा भनिएको शैलुङ कस्तो होला ? मनमा जिज्ञासा आई नै रहेको थियो । तर, त्यहाँ पुग्न सकेको थिइनँ । कुनै पनि ठाउँ नपुगी अरुले भनेको, सुनेको र पढेको कुराले मात्र यथार्थमा पुग्न सकिने रहेनछ । अनि यस्ता कुराको अनुमानले मात्र सन्तोष गर्न सकिँदो पनि रहेनछ । कुनै क्षेत्रको वस्तुस्थिति जान्नको लागि त त्यहाँ पुग्नै पर्दछ ।
लामो समयदेखि शैलुङ जाने विचार भए पनि मौका मिलेको थिएन । मौकाभन्दा पनि साथीहरू मिलेका थिएनन् । दुई–चार जना भाइहरूलाई प्रस्ताव राखे पनि उनीहरू आफ्नै व्यवसायको कारणले फुर्सद मिलाउन सकेका थिएनन् । अहिले भने धेरै कर गरेको हुनाले मुस्किलले दुई दिनको समय मिलाए र शैलुङ जाने अवसर जुर्यो ।
शैलुङ जाने मेरो प्रस्ताव भाइहरू गुप्त, गोकर्ण, शिव र केशवले सहर्ष स्वीकार गरे र हामी काठमाडौंको सामाखुसीबाट बिहानको पौने ७ बजे पूर्वतिर मोहोडा पार्दै शैलुङतर्फ प्रस्थान गर्यौँ । हाम्रो साथमा ईभी सवारीचालक कार्कीसहित ११ जनाको टोली खुसी अनुहार बनाउँदै उमङ्गका साथ गन्तव्यतर्फ लागियो ।
अरनिको राजमार्ग हुँदै हामी शैलुङतर्फ लागियो । बाटोभरि नै कस्तो होला शैलुङ भन्ने जिज्ञासा हामी सबैमा थियो र धेरैजसो समय यसैको बारेमा केन्द्रित गरियो । अरनिको राजमार्गको मुँढे बजारबाट हामी दोलखातर्फ लागियो । करिब सात घण्टाको अवधिमा शैलुङको फेदीमा अथवा कालापानीमा पुगियो । कालापानी एउटा सानो बजार रहेछ जहाँ खान, बस्नको लागि होटल रहेछन् । तर, थोरै मात्र होटल भएको हुनाले धेरै यात्रु भएको अवस्थामा होटल पाउन समस्या पर्दोरहेछ । हामी भने करिब २ बजेतिर नै त्यहाँ पुगेको हुनाले होटलको आवश्यकता परेन । हामी सिधै शैलुङ डाँडातर्फ नै लाग्यौँ ।
‘शैलुङ’ शब्द हाम्रो लागि अपरिचित भएको हुनाले यसले के बुझाउँछ भन्ने सन्दर्भमा हामी अनभिज्ञ नै थियौँ । त्यसकारण ‘शैलुङ’को शाब्दिक अर्थ अरु यात्रुहरूसँग बुझ्ने प्रयास गरियो, जसको अर्थ रहेछ शैल भनेको पहाड र लुङ् भनेको घाँसे मैदान । यसरी ‘शैलुङ’ शब्द निर्माण भएको र यो शब्द तामाङ भाषाबाट ल्याइएको रहेछ ।
शैलुङको प्रवेशद्वार भनेको कालापानी रहेछ । कालापानी बजारबाट केही पर मिनी ग्रेटवाल निर्माण गरिएको रहेछ । जुन ग्रेटवाल चीनमा निर्माण भएको आकृतिसँग मेल खाने अनुमान गर्न सकिन्छ । यो मिनी ग्रेटवाल हेर्दा जति राम्रो देखिन्छ त्यत्तिकै मात्रामा गुणस्तर पनि देखिन्छ । शैलुङ डाँडा हेर्न जाने जति नै पर्यटक छन् सबैले यसको गुणगान गरेकै हुन्छन् । यसको धेरैजसो सिधा भाग रहेको छ भन्ने केही ठाउँमा बाङ्गाटिङ्गा वाल निर्माण गरिएको हुनाले पनि धेरैको मन जित्न सफल भएको अनुभूति गर्न सकिन्छ ।
कालापानीसम्म यातायातको सुविधा भएको हुनाले जो पनि सजिलैसँग शैलुङ जान सक्दारहेछन् । त्यहाँदेखि करिब एक घण्टामा शैलुङ पुगिँदोरहेछ । बाटोमा हिँड्दा धेरै मानिसहरू भेटिने भएको कारणले गर्दा बाटो काट्न र समय बिताउन कुनै अप्ठ्यारो महसुस भएन । विभिन्न नयाँ अनुहारहरूसँगको कुराकानी गर्दै जाँदा त्यसको खुसीले थप खुसी दियो । यसरी हामीले शैलुङ यात्राबाट अपेक्षा गरेको भन्दा धेरै खुसी र आनन्द प्राप्त गर्यौँ ।
ग्रेट वाल अफ शैलुङ
शैलुङ डाँडा दोलखा जिल्लाको पहाडी भाग हो । यो एउटा पहाडी भाग मात्र नभएर धार्मिक, सांस्कृतिक, प्राकृतिक र पर्यटकीय दृटिकोणबाट पनि महत्वपूर्ण देखिन्छ । शैलुङ डाँडा शैलुङ गाउँपालिकामा पर्दछ । गाउँपालिकालाई प्रथम दृष्टिमा परिचित गराउने भनेको नै शैलुङ डाँडा नै हो र काठमाडौंबाट यहाँको दूरी करिब एक सय ५० किलोमिटर छ । यसको उचाइ तीन हजार एक सय ४५ मिटर रहेको छ ।
शैलुङ डाँडाले यति धेरै विशेषता बोकेको देखिन्छ जो–कोहीलाई आश्चर्य लाग्दछ । अचम्मलाग्दो यो छ कि एउटा डाँडामा एक सयभन्दा बढी थुम्काहरू देख्न पाइन्छन् । ती हरिया थुम्काहरू यति लोभलाग्दा छन् कि सधैँभरि हेरिरहूँजस्तो लाग्छ । यी थुम्काबाट लाङटाङ, गौरीशंकर, सगरमाथा, गणेश हिमालजस्ता प्रसिद्ध हिमश्रृंखलाहरू सजिलै देख्न सकिन्छ । शैलुङ डाँडाको आकर्षण भन्नु नै जता हेरे पनि हरिया थुम्काहरू देखिनु हो । ती थुम्काको अवस्थिति यसरी बनेको छ कि सबै थुम्का तलदेखि माथि उठ्दै गएका देखिन्छन् । अनि यिनै थुम्काहरूको हरियो घाँसे मैदानमा चौँरीगाईहरू चरिरहेका हुन्छन् । माथिल्लो थुम्को जसको केही भाग समथर छ र त्यहाँ भने गुम्वा, स्तुपा, भ्यू टावर निर्माण भएका छन् । यिनीहरूले पनि पर्यटकहरूलाई झनै लोभ्याएका छन् ।
भ्यू टावरबाट चारैतिरको दृश्यावलोकन गर्न सकिन्छ । यहाँबाट हिमशृंखला, हराभरा थुम्का, टाढा–टाढाका वनजंगल, मानिसको बस्ती, बाटोघाटो, मन्दिरहरू, चौँरीको चरन, तलबाट माथि उक्लँदै गरेका मानिसहरूको ताँती आदि दृश्यले कसको मन नछोला र ? शैलुङ डाँडाको आकर्षण भनेको नै विभिन्न आकृतिका मनमोहक हरियाली ढिस्काहरू नै हुन्, जसलाई हेर्दा बादलमाथिको संसारजस्तो भन्न सकिन्छ ।
पर्यटकीय दृष्टिकोणबाट शैलुङ डाँडाले झनै भिन्न विशेषता बोकेको देखिन्छ । यहाँबाट सूर्योदय र सूर्यास्त देख्न सकिन्छ । घुम्न, टे«किङ, फोटोग्राफी, ध्यान गर्नको लागि पनि यो उपयुक्त ठाउँ भएकाले मानिसको आगमनमा वृद्धि हुँदै गएको छ ।
यो शैलुङ डाँडा विभिन्न धर्मावलम्बीहरूको लागि पनि त्यत्तिकै आकर्षणको केन्द्र बनेको छ । पर्यटन उद्देश्यको लागि मात्र कोही पनि गएको हुँदैन । कोही शिवमन्दिरको दर्शन गरेका देखिन्छन् भने कोही गुम्बामा प्रार्थना गरिरहेका हुन्छन् । धर्ममा आस्था भएको हुनाले नै मन्दिर, गुम्बा, स्तुपा आदि निर्माण भएका छन् । त्यस कारण कुनै पनि धर्मावलम्बीहरूको लागि प्रमुख गन्तव्य बन्न गएको छ यो शैलुङ डाँडा ।
खास अर्थमा भन्नुपर्दा यो शैलुङ डाँडा तामाङ समुदायको पवित्र स्थल रहेछ । किनभने टाकुरोमा रहेको सानो गुम्बा, प्रार्थनाका झण्डाहरूले त्यही कुरा पुष्टि गरेका देखिन्छ । यद्यपि हिन्दु धर्मावलम्बीहरूका लागि पनि यो स्थल आस्थाको केन्द्र बनेको देखिन्छ । यहाँ चैत्र र वैशाखमा ठूलो मेला लाग्दो पनि रहेछ । शैलुङ डाँडा भन्नासाथ सबैले बुझ्ने भनेको नै एक सयवटा थुम्का नै हुन् ।
थुम्काहरूको तस्बिर
शैलुङ डाँडातर्फ जाँदै गर्दा हामीले ग्रेटवाल पार गरिसकेका थियौँ । त्यस समयमा साना–साना असिना आएका थिए । तर, ती असिना धेरै समय आएनन् केही क्षणमा नै रोकिए । हामी शैलुङको फेदीबाट मुख्य गन्तव्यमा जब पुग्यौँ ठूलो हुरीबतास र पानी प¥यो । यो पनि केही बेरपछि बन्द भएको थियो । हुरीबतास यति तीव्र गतिमा आयो कि त्यहाँ भएका सबैमा एकप्रकारको त्रास निम्त्याएको थियो । जे होस् केही समयपछि सबै कुरा यथास्थितिमा आए । यसरी छिनछिनमा मौसम परिवर्तन हुँदा मानिसहरूलाई असुविधा भने हुँदोरहेछ शैलुङ डाँडामा । जाडो मौसममा हिउँ पर्दा सबै डाँडापाखाहरू सेताम्य भएर स्वर्गजस्तो अनुमान गर्न सकिने हुनाले पनि यसको आकर्षण बढ्दै गएको छ ।
त्यहाँ एउटा भ्यू टावर निर्माण गरिएको रहेछ । टावरमा प्रवेश गर्नको लागि २० रुपैयाँको टिकट लाग्दोरहेछ । अझ अचम्मलाग्दो कुरा के देखियो भने त्यहाँ सेवा गर्न बस्नेहरूले आगन्तुकहरूलाई जति पटक पनि कालोचिया खुवाउँदा रहेछन् । त्यहाँको एउटा कोठाभित्र दाउरा बालेर चिया पकाइँदोरहेछ र सोधीसोधी चिया खुवाइँदोरहेछ । लाग्छ धर्म र सेवाप्रति आस्था भएको हुनाले यसरी आगन्तुकको लागि चिया उपलब्ध गराइएको हुन सक्छ ।
प्राकृतिक सुन्दरता, सांस्कृतिक विविधता, धार्मिक आस्थाले गर्दा अहिले शैलुङ डाँडा आन्तरिक र बाह्य पर्यटकहरूको लागि आकर्षक गन्तव्य बन्दै गएको छ र दिनप्रतिदिन पर्यटकहरूको संख्या पनि बढ्दै गएको अवस्था देखिन्छ । अहिले सालाखाला दैनिक छ सयको हाराहारीमा पर्यटकले शैलुङ डाँडाको भ्रमण गरेका अनुमान छ ।
हुरी, बतास र पानीको कारणले गर्दा हामी केही समय त्यहीँ रोकिनुपरेको थियो । त्यसै समयमा हामीहरूले त्यहाँ सेवा गर्नेे व्यक्तिसँग केही जिज्ञासा राखेका थियौँ । खास गरेर त्यहाँ निर्माण गरिएका संरचनाको विषयमा कुरा गर्दै जाँदा उहाँले भन्नुभयो, ‘यो घर निर्माण भएको ठाउँको अध्ययन गर्न दुईवटा कुइरे आएका थिए । यहाँ उत्खनन गर्दै जाँदा दुवै जना गायब भए ।’ यो कुरा सुन्दा हामीलाई अचम्म लाग्यो । छोटो यात्रामा लामो कुरा गर्न सकिएन र हाम्रो जिज्ञासा जिज्ञासामा नै सीमित रहन गयो । यस्ता विषयमा अध्ययन अनुसन्धान हुनसक्यो भने शैलुङ डाँडा अध्ययन तथा अनुसन्धानको स्थल हुन जानेछ ।
शैलुङ डाँडा प्राकृतिक सौन्दर्यले भरिपूर्ण भए पनि यसले सुधार खोजिरहेको देखिन्छ । केही भौतिक संरचना निर्माण भए पनि ती संरचनाहरू व्यक्तिगत प्रयाशबाट भएका रहेछन् । त्यहाँ सेवा गरी बस्नेहरूको भनाइअनुसार सम्बन्धित निकायले केही सहयोग गरिदिएमा यस शैलुङ डाँडालाई धेरै अगाडि लैजान सकिन्थ्यो । अपेक्षितरुपमा विकास हुन सकेको छैन भन्ने उनीहरूको भनाइमा निश्चय नै सत्यता रहेको छ । सामाजिक, आर्थिक, धार्मिक र पर्यटकीय दृष्टिकोणबाट हेर्दा शैलुङजस्तो अद्वितीय स्थल निकै कम हुन सक्दछन् । पूर्वाधारको विकास अपर्याप्त भएको कारणले गर्दा बाटो, खानेपानी, स्वास्थ्य सुविधा, नियमित सार्वजनिक यातायात सेवा र होटेल, लज, रेष्टुरेन्टजस्ता आधारभूत सेवाहरू विस्तार गर्न जरुरी छ । यी सुविधा नहुँदानहुँदै पनि यसरी पर्यटनको गन्तव्य बन्नु भनेको आफैँमा शैलुङ डाँडाको विशेष विशेषता हुनु हो । त्यस कारण राज्यको तर्फबाट यसको विकासको लागि ध्यान दिन आवश्यक छ । (लेखक नेपाल सरकारका पूर्वउपसचिव हुन् ।)