इजरायल । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार बिहान युद्धविरामको घोषणा गरे पनि इजरायल र इरानले एक–अर्कामाथि आक्रमण जारी राखेका छन् । ट्रम्पले घोषणा गरेको युद्धविराम केही घण्टामै भङ्ग गर्दै दुवै देशले क्षेप्यास्त्र आक्रमण गरेका थिए ।
युद्धविराम सुरु भएको लगभग साढे दुई घण्टापछि इरानले इजरायलमा छवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो । एउटा क्षेप्यास्त्र बेरशेबा सहरको एउटा भवनमा खस्दा पाँच जनाको मृत्यु भयो भने २० भन्दा बढी घाइते भए ।
त्यसपछि इरानी आक्रमणको जवाफमा इजरायलले आफ्नो सेनालाई तेहरानमा आक्रमण गर्न आदेश दिएको थियो । आदेशलगत्तै इजरायलले इरानको राजधानी तेहरानमा रहेको राडार साइटमा आक्रमण गरेको सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
पछिल्लो आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई फोन गरेर इरानमाथि आक्रमण रोक्न आग्रह गरेका थिए । नेतान्याहूले ट्रम्पलाई आफूले आक्रमण रोक्न नसक्ने जवाफ दिएका थिए । नेतान्याहूले इरानले पहिले युद्धविराम उल्लंघन गरेकोले त्यसको जवाफ दिन आवश्यक रहेको बताए । त्यसपछि ट्रम्प रिसाएका छन् ।
दुई देशबीच जारी युद्धको १२औँ दिनमा ट्रम्पले मंगलबार बिहान युद्धविरामको घोषणा गरेका थिए । उनले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै ‘युद्धविराम अबदेखि लागू हुन्छ, कृपया यसलाई नतोड्नुहोस्’ भनेका थिए । तर पनि इजरायल र इरानले युद्धलाई रोकेका छैनन् ।