काठमाडौं । चिनियाँ पर्यटकको प्रथम रोजाइका देशमा थाइल्यान्ड, मलेसिया, भियतनाम, इन्डोनेसिया, हङकङ, मकाउ, जापान, कम्बोडिया, दक्षिण कोरिया, अष्ट्रेलिया, बेलायत, ग्रिस, अमेरिका, जर्मनी, अष्ट्रिया, इटली, फ्रान्स, पोर्चुगल, रोमानिया, पोल्यान्ड, स्विडेन, स्पेन, रुस, युनाइटेड अरब इमिरेट्स (यूएई), तुँर्किए–तुर्किए (टर्की) आदि हुन् ।
चिनियाँ पर्यटन उद्योगसँग सम्बन्धित रहेर अध्ययन गर्ने संस्था ‘चाइना आउटबाउन्ड टुरिज्म रिसर्च इन्स्टिच्युट (कोटरी)ले प्रकाशन गरेको एक प्रतिवेदनमा उल्लेख भएअनुसार सन् २०१९ मा एक सय ७० मिलियन चिनियाँ नागरिक पर्यटक भई विश्व घुम्न निक्लिएका थिए भने सन् २०२४ मा चाहिँ एक सय २८ मिलियन चिनियाँ नागरिकहरु विदेश भ्रमणमा निक्लनेको विवरणसहित ताजा तथ्यांक आएको छ । त्यस्तै गरेर सन् २०२८ सम्ममा २०० मिलियन चिनियाँ नागरिकहरु विदेश भ्रमणमा निक्लने अनुमान गरिएको छ । हुन त चिनियाँ नागरिक जो पर्यटक भएर विश्व भ्रमण गर्न निक्लिने गरेका छन्, तिनीहरु एक दशकभन्दा बढी समयदेखि विश्वकै धेरै पर्यटकका रुपमा घुम्न निक्लने पर्यटकका रुपमा दरिएका छन् । त्यस्तै चिनियाँ पर्यटकहरु विश्वकै धेरै खर्च गर्ने पर्यटकका रुपमा दरिन थालेको पनि १२ वर्ष भइसकेको छ । त्यही भएर पनि विश्वका प्रायः सबै देशले आ–आफ्नो देशमा चिनियाँ पर्यटक भित्र्याउनका लागि भनेर अनेक किसिमका सहुलियत र आकर्षक ‘टुर प्याकेज’ ल्याउन थालेका थालेका छन् । यहाँ एक उदाहरण दिनुपर्दा पूर्वी युरोपमा अवस्थित देश अल्बानियाले केही वर्षदेखि चिनियाँ पर्यटकलाई ‘फ्रि भिसा’मा आफ्नो देश घुम्न आउन दिने नीति लिएको छ ।
यो पङ्क्तिकारको विचारमा चाहिँ हामीले चिनियाँ पर्यटक धेरैभन्दा धेरै नेपाल भित्र्याउनका लागि चीनको ठूलो एवं धेरै जनसंख्या बसोबास गर्ने सहरहरु जस्तैः चोङकिङ, साङघाई, बेइजिङ, छेङदु, ग्वाङझाओ, शेनजेन, तियानजिन, वुहान, शुझोउ, हार्बिनलगायत सहरमा चीन–नेपाल सीधा हवाई उडानका लागि तुरुन्तै पहल गर्नुपर्ने देखिन्छ । अर्को भनेको हामीले चिनियाँ एयरलाइन्सहरु साउथ चाइना एयरलाइन्स, चाइना इस्टर्न, एयर चाइना, हाइनान एयर, शाङघाई एयर, शेनजेन एयर, सिचुआन एयर, सियामेन एयर आदिलाई नेपालमा कम्तीमा हप्ताको एक–एक उडान गराउन पहल गर्नुपर्ने देखिन्छ । अझ सम्भव भएदेखि हप्तामै २०–२२ उडान गर्न सके झनै राम्रो हुन्छ ।
हुन त सन् २००६–००७ देखि नेपालमा उल्लेख्य संख्यामा चिनियाँ पर्यटक आउन थालेका थिए । अब छिट्टै नै नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको धेरै संख्यामा भारतीय पर्यटकपछि सधैँ चिनियाँ पर्यटक हुन सक्ने देखिन्छ । नेपालमा सबैभन्दा धेरै चिनियाँ पर्यटक सन् २०१९ मा आएका थिए । सो वर्ष एक लाख ६९ हजार पाँच सय ४३ जना चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका थिए । तर सन् २०१९ को डिसेम्बर अन्तिमतिर विश्वभरि महामारीका रुपमा फैलिएको कोभिड–१९ पछिको जुन चार वर्षको समय बित्यो, त्यसयताचाहिँ नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्यामा चिनियाँ पर्यटकको संख्या अकस्मात तेस्रो, चौथो, पाँचौँ, छैटौँ स्थानमा झर्यो । जब कि सन् २०२४ मा एक सय २८ मिलियन चिनियाँ पर्यटक विश्वका कयौँ देशमा पर्यटक भई घुम्न निक्लने प्रक्षेपण गत वर्ष नै चाइनिज आउट बाउन्ड टुरिज्म (कोटरी)ले गरेको थियो । सोहीअनुसार सन् २०२४ मा चिनियाँ पर्यटक विश्वका विभिन्न देश घुम्न निक्लेका थिए । ती एक सय २८ मिलियन चिनियाँ पर्यटकको दुई प्रतिशत चिनियाँ पर्यटक मात्रै नेपालतर्फ आकर्षित गर्न सकेको भए धेरै राम्रो हुनेथियो ।
जे होस्, यस वर्ष (सन् २०२५) चाहिँ हामीले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको धेरै संख्यामा भारतीयपछि चिनियाँ पर्यटकलाई फोकस गर्न जरुरी छ । किनभने चीन सरकारले नै ‘नेपाल–चीन दौत्य सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठ’को अवसर पारेर चीनमा ‘नेपाल भ्रमण वर्ष–२०२५’ मनाइरहेको छ । त्यसैले सन् २०२५ मा ठूलो संख्यामा चिनियाँ पर्यटक नेपाल आउनेछन् भनी आशा गर्न सकिने ठाउँ रहेको छ ।
त्यसैले यो पङ्क्तिकारको विचारमा चाहिँ हामीले आगामी दिनमा चिनियाँ पर्यटक धेरैभन्दा धेरै नेपालमा भित्र्याउनका लागि चीनको ठूलो र धेरै जनसंख्या बसोबास गर्ने सहरहरु चोङकिङ, साङघाई, बेइजिङ, छेङदु, ग्वाङझाओ, शेनजेन, तियानजिन, वुहान, शुझोउ, हार्बिनलगायत सरहमा चीन–नेपाल सिधा हवाई उडानका लागि पहल गर्नुपर्ने देखिन्छ । हामीले प्रचार प्रसारमा पनि ध्यान दिनुपर्ने हुन्छ । सन् २००३ को सुरुदेखि मात्रै चिनियाँ नागरिक पर्यटकका रुपमा नेपाल आउन थालेका हुन् । त्यसो भए पनि सो वर्ष सात हजार पाँच सय ६२ जना चिनियाँ पर्यटक नेपाल भित्रिएका थिए । त्यसयता चिनियाँ पर्यटकको संख्या लगातार बढेको थियो । त्यसैले अबको केही वर्षपछि नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकहरुको धेरै संख्या उत्तरको छिमेकी देशका नागरिकहरुलाई बनाउने लक्ष्य लिनुपर्ने देखिन्छ ।