काठमाडौ । नेपाल प्रकृतिको दृष्टिले विश्वका धनी मुलुकहरूमध्ये एक हो । संसारमा पाइने धेरैजसो वन्यजन्तु नेपालमा पाइन्छन् । हरेक प्रकारको मौसम भएको देशमा त्यहीअनुसारका वन्यजन्तुहरू पनि पाइन्छन् । हिमाली भेगका जनावरदेखि, तराई र पहाडमा पाइने अनेक प्रकारका जनावरहरू नेपालमा पाइन्छन् । त्यसैअनुसार हरेक ठाउँमा राष्ट्रिय निकुञ्ज स्थापना गरेर प्रकृति र वन्यजन्तुको संरक्षण गरिएको छ । यसले देशको शान बढाउनुका साथै वातावरणको संरक्षण र हरियाली कायम राख्नमा मद्दत पुर्याएर वातावरणलाई स्वच्छ राख्न उल्लेखनीय योगदान पुर्याएको छ ।
नेपाल विश्व मानचित्रमा सानो राष्ट्र भए पनि प्रकृतिको अनुपम देनले भरिपूर्ण एक सुन्दर राष्ट्र हो । सानो भू–भागमा पनि अनेकौँ भौगोलिक भिन्नता, मौसमी विविधता र जैविक सम्पदाको व्यापकता पाइन्छ । हिमाल, पहाड, तराई भएको देश, बग्ने खोला, जङ्गल र औषधिजन्य वनस्पति पाइने विशेषताले गर्दा नेपाल विश्व मानचित्रमा एक छुट्टै पहिचान बनाएको छ । विविध प्रकारका वनस्पति र धेरै खालका सम्पदाहरू नेपालमा पाइन्छन्, यही जैविक सम्पदाको एउटा महत्वपूर्ण पक्ष वन्यजन्तु पनि हो ।
नेपालका वन्यजन्तुहरू केवल वातावरणीय सन्तुलनका लागि मात्र होइन, देशको इज्जत, शान तथा सामाजिक, सांस्कृतिक र आर्थिक विकासमा समेत महत्वपूर्ण भूमिका खेलेका छन् । अझ भन्नुपर्दा हरेक प्रकारका वन्यजन्तुहरूले नेपालकै पहिचान बनाएका छन् । वन्यजन्तु बच्नु भनेको प्रकृति बच्नु हो । सही प्रकृति र उपयुक्त वातावरण हुँदा मात्र वन्यजन्तुहरू फस्टाउँछन्, त्यसैले प्राकृतिक सम्पदा, वन्यजन्तु र मानवबीच गहिरो सम्बन्ध रहेको देखिन्छ ।
नेपालमा धेरै ठाउँमा सामुदायिक वन बनाइएका छन् र राष्ट्रिय निकुञ्जमार्फत संरक्षण गरिँदै आएको छ । वन्यजन्तु संरक्षणमा राष्ट्रिय निकुञ्जहरूको अत्यन्तै उल्लेखनीय योगदान छ । राष्ट्रिय निकुञ्जविना वन्यजन्तुको संरक्षण सम्भव नहुन सक्थ्यो ।
वन्यजन्तुको संरक्षणका लागि नेपाल सरकारले विगत केही दशकदेखि उल्लेखनीय प्रयास गर्दै आएको छ । हाल नेपालमा १२ वटा राष्ट्रिय निकुञ्ज, एउटा वन्यजन्तु आरक्ष, छवटा संरक्षण क्षेत्र तथा केही बफर जोनहरू स्थापना गरिएका छन् । यी संरक्षित क्षेत्रहरूमा विशेषगरी नेपाली सेनाले कडा निगरानी राख्ने, विभिन्न क्षेत्रबाट अनुसन्धान गर्ने, स्थानीय क्षेत्रबाट जनचेतना फैलाउने तथा सामुदायिक सहभागितामार्फत संरक्षण गरिएको देखिन्छ ।
यदि यस्ता क्षेत्रहरूको भौतिक र संरचनागत विकास गर्न सकियो भने सजिलो पहुँच, विद्युतीय सवारीसाधनको प्रयोग, वनस्पति तथा जनावरलाई न्यून प्रदूषण गरिने उपायहरू अवलम्बन गरियो भने, साथै पर्यटकको संख्यामा वृद्धि गरियो भने यसबाट देशले आर्थिक लाभ त पाउने नै छ, साथै अन्तर्राष्ट्रियस्तरमा नेपालको चिनारी झनै फैलिनेछ ।
नेपालमा रहेका १२ वटा राष्ट्रिय निकुञ्जहरूमा चितवन राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा, शे–फोक्सुण्डो, बर्दिया, लाङटाङ, मकालु–बरुण, शिवपुरी, खप्तड, बाँके, रारा र पर्सा राष्ट्रिय निकुञ्ज पर्दछन् । हरेक निकुञ्जका आ–आफ्ना विशेषता छन् ।
नेपालका मुख्य वन्यजन्तुहरूमा गैँडा, बाघ, हात्ती, चित्तललगायतका ठूला जनावरहरू तथा रंगीचंगी मुनाल, डाँफे, हरियालजस्ता दुर्लभ चराहरू पर्दछन् । यीमध्ये कतिपय प्रजातिहरू संसारमा अन्यत्र पाइँदैनन् र विलुप्त हुने अवस्थामा छन् । त्यसैले पनि नेपाललाई जैविक दृष्टिले धनी राष्ट्र मानिन्छ ।
अन्य राष्ट्रिय निकुञ्जहरूमा पनि त्यस्तै गरी विविध वन्यजन्तु र वनस्पतिले भरिपूर्ण भएर प्राकृतिक सौन्दर्य त छँदैछ, त्यसमा वातावरणीय अवस्थालाई सन्तुलनमा राख्न ठूलो योगदान दिइरहेका छन् ।
नेपालमा विभिन्न जलवायु, भू–उचाइ र वनस्पतिका कारण अत्यधिक जैविक विविधता पाइन्छ । हरेक ठाउँमा उचाइअनुसार विभिन्न वनस्पति, जडीबुटी, वन्यजन्तुहरू तथा हरेक प्रकारको हावापानी पाइने भएकाले, विभिन्न स्तनधारी जनावर, आठ सय ७० भन्दा बढी प्रजातिका चराहरू, दुई सयभन्दा बढी प्रजातिका उभयचर तथा सरीसृपहरू र सयौँ प्रजातिका कीरा–फट्यांग्रा नेपालमा छन् ।
यो सम्पत्ति हाम्रो राष्ट्रको धन हो । यसलाई बुझ्नु हरेक नागरिकको कर्तव्य हो । प्रकृतिविना मानवको कल्पना गर्न सकिँदैन ।
चितवन, बर्दिया, शुक्लाफाँटा, खप्तड, लाङटाङ र सगरमाथा राष्ट्रिय निकुञ्जहरूले विशिष्ट जैविक क्षेत्रहरूको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेका छन् । उदाहरणका लागि चितवन गैँडा तथा बाघका लागि विश्वप्रसिद्ध स्थल हो भने सगरमाथा निकुञ्ज हिमाली वनस्पति तथा जनावरका लागि अत्यन्तै महत्वपूर्ण छ ।
राष्ट्रिय निकुञ्जहरूकै कारण आज प्राकृतिक वनस्पति र जनावरहरूको अवस्था सन्तुलनमा छ, नत्र चोरी–सिकारी र अव्यवस्थित प्रयोगले यो अवस्था कायम रहन सक्दैनथ्यो ।
वन्यजन्तुको संरक्षण गर्नु भनेको जङ्गल जोगाउनु हो, वातावरण जोगाउनु हो र स्वच्छ हावा पाउनु हो । वन्यजन्तु जोगिँदा जङ्गल जोगिन्छ, जङ्गल जोगिँदा भू–क्षय रोकिन्छ, पानीका मुहानहरू बच्छन् र मानव जीवनचक्र चलिरहन्छ । यसले वातावरण मात्र होइन, आर्थिक विकासमा समेत प्रत्यक्ष असर पार्दछ ।
नेपालमा पर्यटकहरू वन्यजन्तु हेर्नकै लागि राष्ट्रिय निकुञ्जहरू भ्रमण गर्छन्, जङ्गल सफारी गर्छन्, बर्ड वाचिङ, फोटोग्राफीलगायतका गतिविधिहरूमा सहभागी हुन्छन् । विशेषगरी चितवन र बर्दियाजस्ता ठाउँहरूमा गैँडा, बाघ, हात्ती तथा चराहरू हेर्नकै लागि देश–विदेशबाट पर्यटकहरू आकर्षित हुनेगरेका छन् ।
यस आकर्षणलाई कायम राख्नका लागि र आर्थिक विकास गर्नका लागि पर्यटकलाई सुविधा दिनु राज्यको दायित्व हो । साथै, सरकारी तथा निजी क्षेत्रबाट निकुञ्जअनुकूल हुनेगरी होटलको व्यवस्था, प्रवेश पास, सरसफाइ, शौचालय, जानकारीयुक्त गाइड, सुरक्षा व्यवस्था, सत्कार आदि मिलाउन सकियो भने यसले राष्ट्रलाई दीर्घकालीन लाभ पुर्याउँछ ।
पर्यटकबाट प्राप्त हुने शुल्कले स्थानीयस्तरमै विकास गर्न सकिन्छ । होटल, गाइड सेवा, यातायात र पार्किङ शुल्क आदिबाट पनि स्थानीय समुदायले प्रत्यक्ष आम्दानी प्राप्त गर्न सक्छन् । यसले प्रत्यक्ष र अप्रत्यक्ष रूपले आर्थिक विकास हुन्छ । यसले ग्रामीण क्षेत्रको आर्थिक स्तर उकास्न र राष्ट्रिय विकासमा पनि सघाउ पुर्याउँछ ।
त्यस्तै गरी सामुदायिक वनका सदस्यहरूले पर्यटनमा पहलकदमी लिएका छन्, होमस्टेको विकास भइरहेको छ, स्थानीय हस्तकलालाई प्राथमिकता दिइएको छ र स्थानीय कृषि उत्पादनबाट आय आर्जन गर्न थालेका छन् ।
तथ्यांकअनुसार आज धेरै ठाउँमा वन्यजन्तुको संख्या बढेको देखिन्छ । उदाहरणका लागि चितवनमा गैँडाको संख्या बढेको छ भने बर्दियामा बाघको संख्या उल्लेखनीयरूपमा बढेको छ । दक्षिण एसियामै बाघको संख्या बढेको तथ्यांक छ ।
वन्यजन्तु केवल आर्थिक र जैविक दृष्टिले मात्र होइन, वातावरणीय सन्तुलनको दृष्टिले पनि महत्वपूर्ण हुन्छन् । एउटा पारिस्थितिक तन्त्रमा बाघ, चितुवा, गैँडाजस्ता सिकारी प्रजातिहरूको उपस्थिति सन्तुलन कायम गर्नमा सघाउ पुर्याउँछ ।
तसर्थ, यी जनावरहरूको संरक्षण आवश्यक छ । यदि यी हराए भने अन्य प्रजातिहरूको संख्या असन्तुलित हुनसक्छ, जसले सम्पूर्ण जैविक चक्रमा असर पार्न सक्छ ।
यसलाई जोगाउनका लागि हामीले विशेष निगरानी गरिरहेका छौँ । राष्ट्रिय स्तरबाट कडा कदम चालिएको छ । तर यससँगै सबैमा नयाँ चेतना आउन जरुरी छ, किन वन्यजन्तु आवश्यक छन् र यसको विकासले के–के फाइदा ल्याउँछ भन्ने बुझ्नुपर्छ ।
जनचेतनाका कार्यक्रमहरू साना बालबालिकादेखि विद्यालय, गाउँस्तरमा सञ्चालन गरेर भावी पुस्तालाई संरक्षणप्रति उत्तरदायी बनाउनुपर्छ । यसका साथै ग्रामीण क्षेत्रमा रोजगार सिर्जना गरी संरक्षणमा नै जोड दिनुपर्छ, आगलागीबाट बचाउने विशेष प्रयासहरू गर्नुपर्छ, राज्यले ग्रामीण जनताको जीवनस्तर उठाउने, वैकल्पिक रोजगार सिर्जना गर्ने कार्यक्रमहरू अगाडि बढाउनुपर्छ ।
निष्कर्षमा भन्नुपर्दा, वन्यजन्तु नेपालका अमूल्य सम्पत्ति हुन् । वातावरण जोगाउनु भनेको मानवीय विकासमा आवश्यक प्राकृतिक कुराहरू प्राप्त गर्नु हो । यसले वातावरणीय सन्तुलन मात्र होइन, आर्थिक वृद्धिमा समेत महत्वपूर्ण भूमिका खेल्दछ । पर्यटन, रोजगारी, विदेशी मुद्रा आर्जन र देशको पहिचान निर्माणमा वन्यजन्तुको ठूलो हात छ । अतः यसको संरक्षण सम्पूर्ण राष्ट्रको दायित्व हो । प्रकृतिको यो उपहारलाई सन्तुलित रूपमा प्रयोग गर्दै भावी पुस्ताका लागि सुरक्षित राख्न सक्नुपर्छ ।
वन्यजन्तु संरक्षणका कार्यहरूलाई अझ व्यवस्थित, समावेशी र दीर्घकालीन बनाउँदै लैजान सकियो भने मात्र नेपालको समृद्धि र हरियाली सम्भव हुनेछ । वन्यजन्तु रहनको लागि वनजङ्गल चाहिन्छ, वनजङ्गल रहनको लागि अनुकूल वातावरण र यसको राम्ररी संरक्षण हुनु आवश्यक छ ।
त्यसैले वन्यजन्तु संरक्षण भनेको अप्रत्यक्ष रूपमा वातावरणको संरक्षण पनि हो । निलो आकाश, हरियो जङ्गल तथा छछल्किने पानी, फोहोररहित भू–भाग हुँदा त्यो ठाउँ नै फरक देखिन्छ ।
वनजङ्गल, वनस्पति र नदी–खोला नै वन्यजन्तुलाई बासस्थान दिने भएकाले वनजङ्गल जोगाउनु भनेको वन्यजन्तु जोगाउनु हो । वन्यजन्तु र वनजङ्गलका कारण हामीले विभिन्न पर्यटकबाट त्यहीभित्रै आम्दानी गर्न सक्छौँ । तर कडा निगरानी आवश्यक छ ।
यसका साथै, केही ठाउँहरूमा पर्यटनको अत्यधिक भारले पनि जैविक तन्त्रमा असर पार्न थालेको छ । आधुनिक विकासका नाममा हुने वन फँडानी, सडक निर्माण, जलविद्युत् आयोजनाजस्ता गतिविधिले वन्यजन्तुको बासस्थान प्रभावित बनाइरहेको छ । यस्ता गतिविधि रोक्न जरुरी छ । सडक बनाउँदा पनि जङ्गली जनावरलाई हिँड्न मिल्ने सुरुङ बाटो तयार गर्नुपर्छ ।
वनजङ्गल जोगाउनका लागि पहिरो गएको ठाउँमा वृक्षरोपण अनुसन्धनपूर्वक गर्नुपर्छ । जनावरहरूको आवश्यकताअनुसार उपयुक्त बासस्थान, पानी र खानाको व्यवस्था गर्नु आवश्यक छ ।
हरेक क्षेत्रमा चुनौतीहरू हुन्छन्, तर ती चुनौतीहरू समाधान गर्नका लागि समन्वित प्रयास आवश्यक छ । जनताले आफू सचेत हुनुपर्छ । सरकार, स्थानीय निकाय, वन विभाग, सेना, प्रहरी, तथा अन्तर्राष्ट्रिय संरक्षण संस्थाहरूबीच सहकार्य गरी आवश्यक कदम चाल्नुपर्छ ।
वन्यजन्तु अपराध रोक्न प्रविधिको प्रयोग बढाउनु पर्छ, सीसीटीभी जडान गर्नुपर्छ, सुरक्षा व्यवस्था अझ कडा बनाउनुपर्छ ।
अहिले भएका प्रयासहरू अपर्याप्त त होइनन् तर अझै सशक्त बनाइनुपर्छ । यसले गर्दा हाम्रो वनजङ्गल जोगिन्छ, प्रकृति जोगिन्छ र हामी स्वच्छ हावामा लामो सास फेर्न सक्नेछौँ । साथै, हाम्रो राष्ट्रिय निकुञ्जहरूलाई सफा, सुन्दर र घुम्नयोग्य बनाउन सकिन्छ । जसले गर्दा देशको शान अझै बढ्नेछ र आर्थिक अवस्थामा पनि सुधार आउँछ ।