काठमाडौं । हिमस्टार ऊर्जा कम्पनीले साधारण सेयरको बिक्री आह्वान गरेको छ । कम्पनीले यही असार २४ गतेबाट एक सय रूपैयाँ अंकित मूल्य कायम रहने गरी सात करोड ७३ लाख ९७ हजार पाँच सय रूपैयाँबराबरको सात लाख ७३ हजार नौ सय ७५ कित्ता साधारण सेयरको बिक्री आह्वान गरेको हो ।
कम्पनीले हाल कायम रहेको जारी पुँजी ३७ करोड ३० लाख रूपैयाँमध्येबाट ३० प्रतिशतका दरमा साधारण सेयरको बिक्री आह्वान गरेको थियो । जसमध्ये आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकाहरूको लागि सेयर बिक्री गरिसकेपछि बाँकी रहेको झण्डै आठ लाख कित्ता सेयर सर्वसाधारणको लागि बिक्री गर्न लागेको हो ।
बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको कम्पनीको साधारण सेयरको बिक्रीकार्य छिटोमा यही असार २७ गते र ढिलोमा साउन छ गते बन्द हुनेछ । सर्वसाधारणहरूले न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ ।