काठमाडौं । सवारी साधन आयात, उत्पादन तथा जडानसम्बन्धी प्रस्तावित निर्देशिकाका बारेमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले यातायात व्यवस्था विभागका महानिर्देशकसँग छलफल गरेको छ ।
नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वको प्रतिनिधिमण्डलले मंगलबार यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलसँग भेटगरी विभागले सवारी साधन आयात, उत्पादन तथा जडानसम्बन्धी निर्देशिका २०८२ का सन्दर्भमा गरिरहेको तयारीका सम्बन्धमा जिज्ञासा राखेको हो । भेटमा अध्यक्ष चौधरीले प्रस्तावित निर्देशिकामा भएका बुँदाहरू बारेमा नाडा र विभागबीच विस्तृत छलफल गरी अघि बढ्नुपर्नेमा जोड दिएका थिए । यस्तै, नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले उक्त प्रस्तावित निर्देशिकामा उल्लेखित केही बुँदाहरूको विषयमा थप छलफल गरिनुपर्ने बताएका थिए । निर्देशिकामा उल्लेखित बुँदाहरूका सम्बन्धमा सिलसिलेवार छलफल गरी सो निर्देशिकालाई यथार्थ र व्यावहारिक बनाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।
नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले सरकारले गलत कार्य गर्नेहरूलाई दण्डित गर्नुपर्ने र सही कार्य गर्नेहरूलाई पुरस्कृत गर्नुपर्ने बताए । सो छलफलमा विभागका प्राविधिक निर्देशक श्रीकान्त यादवले प्रस्तावित निर्देशिका तयार पार्न सयुक्त राष्ट्र र युरोपेली युनियनले के–कस्तो व्यवस्था गरेको छ भन्ने बारेमा समेत अध्ययन गरिएको बताएका थिए । यस्तै, महानिर्देशक पोखरेलले नाडासँग थप छलफल गरेर नीतिगत स्पष्टता ल्याइने बताए । नेपालमा अहिलेसम्म सवारीसाधन आयातसम्बन्धी कुनै स्पष्ट नियम नभएकाले त्यसलाई व्यवस्थित बनाउन निर्देशिकाको तयारी भइरहेको उनको भनाइ थियो ।