काठमाडौं । नेपालमा हालै नतिजा प्रकाशित एसईई परीक्षामा सहभागी भएका कुल परीक्षार्थी चार लाख ३८ हजार आठ सय ९६ मध्ये दुई लाख ७१ हजार दुई सय ९९ जना अर्थात् ६१ दशमलव ८१ प्रतिशत पास भए, जसमा अघिल्लो वर्षभन्दा धेरै विद्यार्थी पास भएको भन्ने आँकडा देखियो । देश विकास गर्न शिक्षित अनि युवाको आवश्यकता पर्छ, जुन विगत धेरै वर्षअघिको डेटा हेर्ने हो भने यो पढ्नेको संख्या उल्लेख्यरूपमा बढेको देखिन्छ र पास प्रतिशत पनि बढेको हुँदा यो खुसीको विषय हो । जतिजति देशमा शिक्षित मानिसहरूको उदय भयो, त्यत्तिकै विकासको ढोका खोल्न शिक्षित जनशक्तिले उल्लेखनीय योगदान दिन थालेको पाइन्छ ।
यो वर्ष नन–ग्रेडेडको संख्या एक लाख ६७ हजार पाँच सय ९७ रहेको छ । ती विद्यार्थीलाई पनि ग्रेड नपाएको भन्न मिल्दैन । सायद तिनीहरू अब कति अर्को परीक्षामा पास हुनेछन् त कति त विविध बाध्यताले पढाइ नै छोडिदिने अवस्था आउँछ । नन–ग्रेड आउने र पछि पास हुन नसक्नेहरूलाई पनि केही प्रायोगिक विषयहरू पढाउन पाउने व्यवस्था गरिएको भए तिनीहरूले पनि केही गर्न सक्ने थिए । यसलाई पनि विचार गर्नु जरुरी छ ।
अब कुरा आउँछ जो विद्यार्थी पास भए तिनीहरूको आगामी कदम के हुनेछ ? त्यो विद्यार्थी भाइबहिनीहरूले आफ्नो आगामी कदम कसरी अगाडि बढाउँछन् भन्ने कुरा महत्वपूर्ण विषय बन्न आउँछ । यसको लागि राज्यस्तरबाट अध्ययन अनुसन्धान गर्नु, कुन विषय पढ्ने भनेर जानकारी दिन सक्नु, त्यो विषय पढाई गरी भोलि दक्ष जनशक्ति उत्पादन गरी देश विकासमा लगाउन सक्नु नै आजको चुनौती हो । साथै जो नन–ग्रेड आएको विद्यार्थी छन् ती भाइबहिनीहरूको पनि विस्तृत अध्ययन गरी किन नन–ग्रेड आयो, कुन–कुन विषयले उनीहरूलाई नन–ग्रेड आउन बाध्य गरायो, के उनीहरूले आफूले सक्ने विषय पढ्यो भने अझै अगाडि बढ्न सक्छन् कि वा उनीहरूलाई विशेष खालको व्यावसायिक पाठ्यक्रम तथा तालिम दिन सकिन्छ कि भन्ने अध्ययन गर्नु जरुरी छ । नेपालको शिक्षा हेर्ने हो भने यसको खाल्डो पनि उत्तिकै गहिरो देखिन्छ । अहिलेको नतिजा हेर्ने हो भने कतिपय सरकारी विद्यालयहरूले पनि अत्यन्तै उत्कृष्ट नतिजा ल्याएको देखिन्छ भने सहरका अत्यन्त महँगा विद्यालयहरूले पनि औसत अंक ल्याएको देखिन्छ । नेपालका ठूला विद्यालयहरूमा धनीको पहुँच छ र अत्यन्तै धेरै विद्यार्थी छन् । तथापि अत्यधिक महँगो शुल्क छ । भन्न त ठूला भनिएका विद्यालयहरूले पैसा लिएको अनुसार सुविधा दिएका छन् भनिए पनि औसत खालका अंग्रेजी विद्यालयहरूले जसले थोरै शुल्क लिएर अत्यन्तै राम्रो वा भनौँ औसत शुल्कमै उत्कृष्ट सुविधा दिइरहेका पनि नाफामै छन् त कतिपय विद्यालयले त्यहीअनुसारको सुविधा नदिई अत्यन्त महँगो शुल्क लिइरहेका छन् ।
न ती विद्यालयहरूले गरिब तथा जेहेन्दार, पछाडि परेका वर्ग, अपाङ्गतालाई सेवा वा भनौँ छात्रवृत्ति दिएका छन् न त स्थानीय विद्यार्थीलाई सेवा पु¥याएका छन् । कतिपय विद्यालय त नाफामुखी मात्र देखिन्छन् र पहुँचको आधारमा चलाइएका छन् । साथै सहरी र ग्रामीण विद्यालयबीच शिक्षाको गुणस्तरमा ठूलो अन्तर छ, सिकाइको अन्तर छ । कतिपय निजी तथा सरकारी र सामुदायिक विद्यालयहरूमा राम्रो शिक्षा दिइए पनि कतिपय सरकारी विद्यालयहरू अझै पनि आधारभूत सुविधाबाट वञ्चित नै छन् । वास्तवमा नेपालमा आफ्नो कम्युनिटीको विद्यालयमै विद्यार्थी भर्ना गर्नुपर्ने, सबै विद्यालयहरूको उस्तै नियम हुनुपर्ने, आधारभूत कुरा सबै विद्यालयमा हुनुपर्ने हो तर कुनै विद्यालय पाँचतारे होटलजस्ता त कुनै विद्यालय चुहिने छाना र हिलाम्मे मैदानमा बसी पढ्न बाध्य हुने खालका पनि छन् । त्यसैले हामीले सबै विद्यार्थीबाट उस्तै आशा राख्नु गलत साबित हुनेछ ।
पैसा र पहुँच हुने महँगा विद्यालयमा पढ्छन् त पैसा नहुने सुविधाविहीन विद्यालय, जहाँ मास्टर पनि गाह्रोले पाइन्छन्, त्यस्तो ठाउँमा पढ्न बाध्य छन् । त्यस्तै भनौँ पछाडि परेका वर्ग र भौगोलिक दृष्टिकोणले दुर्गम ठाउँका विद्यार्थीहरूलाई पढ्न जानु र आउनु गाह्रो, खोला तर्नु गाह्रो, घण्टौँ हिँडेर विद्यालय जानुपर्ने बाध्यता र काम गरी–गरी पढ्नुपर्ने बाध्यता छ । साथै, कतिले त बेसहारा हुँदा, कसैले पढाउन नसक्दा पढाइबाट वञ्चित समेत हुनुपर्ने अवस्था छ ।
त्यसैले अहिले पनि विपन्न वर्ग, दलित, जनजाति र दुर्गम क्षेत्रका बालबालिकाहरू शिक्षाबाट वञ्चित छन् र प्रारम्भिक शिक्षा सिकाइको माध्यमबाट नहुने र रट्टा मार्नुपर्ने बाध्यता, ठाउँको विकटता र ‘पढेर के हुन्छ ?’ भन्ने मानसिकताको विकास नहुँदाको अवस्था आज पनि नेपालमा सबै वर्गले, सबै जातिले र अपाङ्गता भएका व्यक्तिले पढाइबाट वञ्चित हुनुपरेको छ जुन कुरा आजको समाजमा अपरिहार्य छ तर वञ्चित छन् । साथै अपाङ्मैत्री विद्यालयको व्यवस्था नहुनु, यातायातको सुविधा नहुनु, भौगोलिक विकटताले गर्दा पनि समान शिक्षा र अवसर पाएका छैनन् । यी सबै कुराहरू त शिक्षा पाउने, नपाउने तथा कसरी सबैलाई शिक्षा भन्ने नारालाई दिनुपर्ने र समान शिक्षा कसरी हुनसक्छ भन्ने तर्कहरू हुन् । यद्यपि भौगोलिक विकटता, विपन्नता र अभावमै भए पनि पढेर अगाडि जान चाहनेहरूलाई कस्तो खालको शिक्षा दिन जरुरी छ भन्ने बहस चलाउनु आजको आवश्यकता हो ।
हामी पढ्छौँ, तर के यो पढाइ सबै व्यवहारमा उतार्न सक्ने खालको पढाइ हो त ? हामी जुन विषय पढ्छौँ त्यो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा मान्यता वा भनौँ यसको आवश्यकताअनुसार हो त ? वा हामीले पढेका कुराहरूले अबको ५ वा १० वर्षमा केही उपलब्धि दिन सक्छ त ? घरमा बुबाआमाले पनि त्यही पढ भन्छन् र छोरा–छोरी पनि बाध्य भएर चाहे वा नचाहेको कुरा तथा चाहिने नचाहिने विषय पढिरहेका पो छन् कि ? यसको विश्लेषण हुनु जरुरी छ । कलेजले पनि सामान्य विषय नपढाउने, राज्यले विश्लेषण नगर्ने र विद्यार्थीहरूले पनि सधैँ त्यही पुरानै ढर्रामा पढायो भने हाम्रो शिक्षा कता जाँदैछ भन्ने प्रश्न उठ्दछ ।
अहिले हामीले पढेका धेरै कुरा व्यवहारमा प्रयोग नहुने खालका पनि छन् र कति विषयहरू त चाहिनेभन्दा धेरै विद्यार्थीले पढेका छन् । यसको लेखाजोखा छैन भने कति हामीलाई चाहिने, आजको विश्वलाई चाहिने विषय पढाइ नहुनु र व्यावहारिक शिक्षा र व्यावसायिक शिक्षामा जोड नहुँदा बजारमा दक्ष जनशक्तिको खाँचो सधैँ भइरहेको छ ।
अब हामीलाई यस्तो शिक्षा चाहिएको छ, जसले हाम्रो दैनिक जीवनयापन गर्न सजिलो होस् । कति विषयहरू यस्तो अनिवार्य गरियोस्, जसले दुई छाक खाना र हातमा सीप दिन सकोस् । जसमा कृषि शिक्षा, स्वास्थ्य सचेतना शिक्षा, वित्तीय साक्षरता, सामाजिक सद्भाव, वातावरणीय चेतना, नागरिक उत्तरदायित्व, आजको दिनलाई चाहिने प्रविधि शिक्षा र रोजगारीमूलक शिक्षा ।
शिक्षाले नैतिकता सिकाओस्, शिक्षाले सीप सिकाओस्, शिक्षाले देशप्रेम सिकाओस्, शिक्षाले भ्रष्टाचार रोक्न सिकाओस्, शिक्षाले सदाचार, प्रेम सिकाओस्, शिक्षाले इमान्दारितासमेत सिकाओस् । शिक्षाले एकता सिकाओस्, शिक्षाले देशमा केही गर्छु भन्ने जोस जगाओस् र असल मान्छे बन्न सिकाओस् । साथै संसारभर नेपाली शिक्षा प्रतिस्पर्धा गर्न सक्ने होस् ।
शिक्षाले स्वस्थ बनाओस्, अन्ततः शिक्षाले शान्ति ल्याओस् । गुरु गुरुझैँ हुन् र विद्यार्थी चेलाझैँ । मानसम्मान गर्ने, प्रकृति जोगाउने र असल नेपाली बन्ने शिक्षा आजको आवश्यकता हो । साथै शिक्षा अनुसन्धात्मक होस्, खोज गर्न सिकाउने व्यावहारिक शिक्षा होस् । सिर्जनशीलता र अनुसन्धानविनाको शिक्षाले देशको विकास सम्भव छैन ।
अबको शिक्षा यस्तो हुनुपर्छ जसले विद्यार्थीलाई गहिरो सोच गर्ने खालको, अनुसन्धान र नवप्रवर्तन र क्रान्ति गर्ने खालको बनाओस् । नेपाल एउटा सानो देश भए पनि बहुजातीय, बहुभाषिक र विविध भौगोलिक बनावट भएको हिमाल, तराई र पहाड भएको देश हो । हरेक देशको समुन्नत विकासका लागि शिक्षा अपरिहार्य छ । तर अहिलेको हाम्रो शिक्षा र शिक्षा प्रणाली विद्यार्थी र नेपाली जनताको आवश्यकताअनुसार देशको समृद्धि र आधुनिक युगको मागअनुसारको छैन ।
आजको युग प्रविधिको युग हो । भौगोलिक विकटता भएकोले भूगोलअनुसारको विकास गर्न प्रविधिको शिक्षा पनि नेपालमा आवश्यक छ । नेपालमा राम्रो इन्जिनियरिङको विकास भएको भए भौगोलिक विकटतालाई चिर्दै देशको मुहार फेरिन्थ्यो होला । साथै शिक्षाअनुसारको रोजगारी पनि भएको भए होनहार विद्यार्थी, विदेश जानु सट्टा देशमै केही गरेर खान्थे होला । अनि पढ्न चाहनेलाई पनि शैक्षिक कर्जा सुपथ ब्याजदरमा पाइने भए निम्नवर्गले पनि चाहेको विषय पढ्थे होला ।
विभिन्न ठाउँमा महिला, अपाङ्गता भएका व्यक्ति र विपन्न वर्गलाई शिक्षामा समेट्न पहल भइरहेको छ । तर, अझै पनि वास्तविक व्यक्तिले यसको अवसर पाएको छ वा छैन, न पहुँचको आधारमा छ त्यसको लेखाजोखा छैन र अझै पनि सबै वर्गले समान अवसर पाएका छैनन् ।
पढ्न चाहनेलाई कर्जाको व्यवस्था पूर्णरूपमा आजसम्म पाइएको अवस्था छैन । देशमा स्वरोजगारको शिक्षा दिने र भविष्यको सुनिश्चित हुने हो, उद्योग–धन्दा खुलेर आउने सन्ततीलाई ग्यारेन्टी रूपमा नेपालमै केही गर्न सकिन्छ भन्ने बोध भएमा आजको दिनमा हजारौँ विद्यार्थीलाई देशमै रोजगारी दिने सक्षम जनशक्ति विदेश जानबाट जोगाई नेपालमै केही गर्न सकिन्थ्यो । र विदेशिएकाहरुलाई पनि नेपालमा रोजगारीको अवसर पाएमा आफ्नै देशमा सुन फलाउन सकिन्थ्यो र योग्य जनशक्ति कमी हुने खतरा जुनरूपमा बढेको छ त्यो शून्य गर्न सकिन्थ्यो । मेरो आफ्नै धारणाअनुसार विद्यार्थीलाई इतिहास थाहा हुनुपर्छ, भूगोल थाहा हुनुपर्छ र देशको महत्व बोध गराउने शिक्षा हुनुपर्छ । युवालाई पढ्ने वातावरण राम्रो हुनुपर्छ । नयाँ–नयाँ विषयहरू आजको आवश्यकताअनुसार विश्वविद्यालयले खोजी पढाउन थाल्नुपर्छ । प्राविधिक शिक्षामा जोड दिनुपर्छ जसले गर्दा सजिलै पैसा कमाउन सकियोस् । बाहिरी मानिसहरूको आगमनले देशको रोजगारी गुमेको अवस्थामा हामीले नै सक्षम जनशक्तिको उत्पादन बढाउनु पर्दछ । हाल मात्र नभई पहिलेदेखि सरकारले प्राविधिक शिक्षामा जोड त दिएकै थियो, तर पनि आजको दिनमा अझै जोड दिन थालेको छ । सीटीईभीटीअन्तर्गत धेरै प्राविधिक तालिम सञ्चालनमा छन् । तथापि विद्यालयस्तरबाटै जीवन जिउने कलाको अध्यापन गराउनु जरुरी छ । अझै पनि विद्यालयस्तरमै व्यावसायिक शिक्षा खासै पुगेको देखिँदैन । अब कक्षा ११ पढ्दा पनि यी विषयलाई जोड दिइयो वा नन–ग्रेड आउनेलाई पनि तालिम दिन सकियो भने दक्ष जनशक्तिको कमी नआई रोजगारी आफैँ सिर्जना गर्न सकिन्छ । साथै प्राविधिक शिक्षा सबैको पहुँचमा हुनुपर्छ । तर शिक्षा क्षेत्र व्यापारिक बनिरहेको छ, अत्यन्तै रूपमा नाफा हेरिरहेका छन् । निजी विद्यालय र विश्वविद्यालयहरूले धेरै शुल्क लिनेगरेका छन्, जसले आर्थिकरूपमा कमजोर वर्गलाई न्यूनतम शिक्षा पाउन पनि कठिन बनाइरहेको छ । हाम्रो भूगोलअनुसार त कोरोना महामारीपछि जस्तो अनलाइन शिक्षा पनि धेरै ठाउँमा दिनुपर्ने हो । त्यसलाई जोड दिँदा, इन्टरनेटको पहुँच गराई पढाइमा केन्द्रको शिक्षा ग्रामीण भेगमा पुग्ने थियो ।
खासमा शिक्षा कस्तो हुनुपर्छ भन्ने बहस चलाउनुको विशेष अर्थ के छ भने नेपालमा शिक्षित बेरोजगारको संख्या हरेक वर्ष बढ्दै गएको छ ।
शिक्षा यस्तो होस् जसले चाहिएको जनशक्ति उत्पादन गरोस् र रोजगारीमा टेवा पुगोस् । नेपाल कृषि प्रधान देश हो । साथै जलस्रोतको धनी राष्ट्र हो र प्राकृतिकरूपमा पनि अत्यन्तै सुन्दर राष्ट्र हो । त्यसैले रोजगारी दिनेखालको शिक्षा जस्तैः कृषि शिक्षा, पर्यटन शिक्षा, बिजुलीसम्बन्धी शिक्षा, सूचना प्रविधिसम्बन्धी शिक्षा, भौगोलिक शिक्षाको साथसाथै विज्ञानलगायत मेडिकल शिक्षाले गर्दा स्वरोजगार र उद्यमशीलता, प्रविधिमा समेत उच्च विकास गर्न मद्दत पुग्थ्यो ।
त्यसैले शिक्षा यस्तो होस्, जसको सीपले गर्दा रोजगारीको सिर्जना होस् । तर यसको आलवा, नेपालको शिक्षा कतिपय त रट्टा मार्ने र माक्र्स ल्याउन मात्र पढ्ने र डिग्री लिन मात्र पढ्नेजस्तो शिक्षाले नवप्रवर्तन पनि गर्दैन र सोच्ने शक्ति बढाउँदैन, साथै अनुसन्धानात्मक ज्ञान पनि दिँदैन । यसले विश्व समुदायमा हाम्रा शिक्षित व्यक्तित्वलाई पनि प्रतिस्पर्धामा उत्रन सक्दैन । त्यसैले पढाइ केवल याद गर्ने र कण्ठ गर्ने साथै माक्र्स मात्र ल्याउने खालको हुनु हुँदैन ।
अहिलेको युग डिजिटल युग हो । त्यसैले थ्योरीभन्दा पनि प्रायोगिक शिक्षा हुनु अनिवार्य छ । प्रत्येक विद्यालयमा इन्टरनेटको सुविधा बनाई नयाँ युगमा प्रवेश गर्नु जरुरी छ । सूचना प्रविधिलाई अगाडि बढाई हरेक क्षेत्र स्मार्ट बनाउनु जरुरी छ । चाहे मेडिकल शिक्षा होस् वा अन्य क्षेत्र, सबै शिक्षालाई स्मार्ट तरिकाले पढाइनु पर्छ ।
सिकाइलाई जोड दिनुपर्छ, खोज तथा अनुसन्धनात्मक शिक्षा हुनुपर्छ । अबको शिक्षा यस्तो होस्, जसले हरेक व्यक्तिलाई कर्म गर्न सिकाओस्, देशमै केही गर्न सक्ने र देशको लागि योगदान दिने खालको होस् । साथै विदेशी डिग्रीलाई पनि माथ गर्ने खालको होस् ।
नेपाल पुरातात्विक सम्पदाले पनि भरिपूर्ण देश हो तर यहाँको पुरानो शैली, पौराणिक कलाको ज्ञान दिने शिक्षा पनि खासै देखिँदैन । नेपालको पुरातात्विक कला हाम्रो संस्कृतिको एक अभिन्न गहना हो ।
यो कलारूपी गहनाले नेपालको कला र कौशल झल्काएको छ । नेपालको कलाकृति अतीतको स्मृति र हाम्रो गर्व गर्ने पाटोहरू हुन्, यसले हाम्रो कलाको उदाहरण दिइरहेको छ । तर यस्ता कलाको संरक्षण गर्ने खालको शिक्षा, इतिहासको ज्ञान गराई संरक्षण गर्नु हाम्रो सबैको जिम्मेवारी हो ।
यसको लागि हाम्रो कतिपय शिक्षा त धातुकला, काष्टकला, मूर्तिकला, चित्रकला, पगोडा शैलीका कलाहरू, धातुकला र माटोका कलाहरूको शिक्षाजस्ता शिक्षालाई पनि प्राथमिकतामा राख्न पाए नेपालीले आफ्नै पहिचान जोगाउँथे र भावी पुस्ताले पनि आफ्नो पहिचान बुझ्न पाउँथे र यसबाट गर्व अनुभव गर्न पनि पाउँथे ।
त्यसैले सीप, सोच, सदाचरिता, कर्तव्यनिष्ठता भएको शिक्षाले वैज्ञानिक ढंगको अनुसन्धनात्मक शिक्षा हुनुपर्छ, जसले गर्दा देशको पहिचान जोगिनुका साथै नवीनतम प्रविधिमा पनि जान सकिन्छ ।
त्यसैले भूगोल र नेपाल सुहाउँदो शिक्षा आजको आवश्यकता हो । कतिपय लह–लहैको शिक्षाले देशको पैसा पनि बाहिर जाने र त्यो शिक्षा डिग्री हासिल गर्ने खालको मात्र नहोस् । त्यसैले देशको आवश्यकता र विश्वको शिक्षाको प्रवृत्तिअनुसारको शिक्षा प्रणालीले मात्र नेपाललाई समुन्नत राष्ट्र बनाउनेमा मद्दत गर्छ । त्यसैले अबको शिक्षाको डिग्रीले मानिसको कामको गति र दिशा तय गरोस्, भावी योजना तय गरोस् ।