काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयरको बिक्री आह्वान गरेको छ । संस्थाले पहिलो चरणमा यही असार २७ गतेबाट वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि कुल २३ हजार एक सय कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो ।
संस्थाले कम्पनीले दुई करोड ३१ लाख रुपैयाँबराबरको प्रतिसेयर एक सय रुपैयाँ अंकित दरका दुई लाख ३१ हजार कित्ता साधारण सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये शून्य दशमलव ५० प्रतिशतले हुन आउने एक हजार एक सय ५५ कित्ता सेयर, कर्मचारीहरूलाई पाँच प्रतिशतले हुन आउने ११ हजार पाँच सय ५० कित्ता सेयर सामूहिक लगानी कोषको लागि तथा १० प्रतिशतले हुन आउने २३ हजार एक सय कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि जारी गर्नेछ । कम्पनीले कर्मचारी, सामूहिक लगानी कोष तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरूको लागि छुट्याएको सेयर बिक्री नभएमा सर्वसाधारणलाई निष्काशन गरिने सेयरमा थप गरी निष्काशन गरिने जनाएको छ ।
संस्थाका अनुसार न्यूनतम १० कित्ता र अधिकतममा पाँच हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको संस्थाको सेयर बिक्री कार्य साउन नौ गतेसम्म कायम रहनेछ ।