काठमाडौं । एभरेष्ट बैंकले आफ्नो शाखा विस्तारको क्रममा बिहीबार महोत्तरीको बर्दिबास नगरपालिका वडा नं १ मा आफ्नो एक सय ३३औँ शाखा विस्तार गरेको छ । यो शाखासँगै मधेश प्रदेशमा बैंकको शाखा संख्या १५ पुगेको छ । यस शाखाको उद्घाटनसँगै महोत्तरीबासीले अत्याधुनिक, सरल र सहज बैंकिङ सुविधा लिनसक्ने विश्वास बैंकले गरेको छ ।
बर्दिबास नगरपालिकाका मेयर प्रहलादकुमार क्षेत्री र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङबाट संयुक्तरूपमा उद्घाटन भएको सो समारोहमा बर्दिबास नगरपालिका वडा नं १ का वडा अध्यक्ष भोला खड्का, बर्दिबास उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु खड्का, बैंकका मधेश प्रदेशका प्रदेश प्रमुख पुष्पराज उप्रेती, बैंकका अन्य कर्मचारीलगायत स्थानीयको उपस्थिति थियो । बर्दिबासमा बैंकको शाखा कार्यालय स्थापनासँगै अब यस क्षेत्रको आर्थिक गतिविधि अझ बढ्न गई समग्र आर्थिक विकासमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
पंजाब नेसनल बैंक भारतसँग संयुक्त साझेदारमा स्थापित यो बैंकमा हालसम्म करिब १४ लाखभन्दा बढी ग्राहक छन् । बैंकको देशैभरि ३३ शाखा सञ्जाल, चारवटा एक्सटेन्सन काउन्टर, सातवटा प्रादेशिक कार्यालय, एक सय ६८ एटीएम छन् । विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट सेवा दिँदै आइरहेको छ । बैंकले भारतको नया दिल्लीलगायत अन्य मुलुकमा पनि आफ्नो प्रतिनिधि कार्यालय स्थापना गरी सेवा प्रदान गर्दै आइरहेको छ ।